काठमाडौ । नोभेल कोरोना भाइरस संक्रमण (कोभिड-१९) निको भएर घर गएका तीन जनामा पुन: पोजेटिभ देखिएको छ । अहिले कोरोना दोहोरिने दर कुल कोरोना संक्रमितको दुई दशमलव ९७ प्रतिशत रहेको छ ।
नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारपछि वैशाख १४ गते पीसीआर विधिबाट गरिएको दुई वटा परीक्षण रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालले डिस्चार्ज गरिएको थियो ।
फलोअपमा गत शनिबार आएका रौतहटका १९ वर्षका पुरुष र भारतबाट आएका वीरगन्जमै बस्ने एक पुरुषमा पुन: परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको नारायणी अस्पतालका मेसू डा. मदन उपाध्यायले बताउँछन् । उनीहरु दुबै जनालाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।
पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्ने गत वैशाख ११ गते डिस्चार्ज भएका भएका ५८ वर्षका पुरुषमा पनि फेरि कोरोना संक्रमण दोहोरिएको पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले बताए । ती पुरुषलाई अस्पतालको आइसोलेसनमा राखिएको उनले बताए ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीले कोरोनाको राम्रोसँग परिक्षण नगरेर पुन: संक्रमण दोहोरिएको बताउँछन् । घाँटीभन्दा तल ब्रमक्रसबाट स्वाब लिएर परीक्षण गर्नुपर्नेमा घाटीबाट स्वाब लिँदा नेगेटिभ रिर्पोट देखिएर डिस्चार्ज गरेको उनको तर्क छ ।
“संक्रमितलाई खोक्न लगाएर घाँटी तलबाट खकार निकाल्न भनेर लगाउँनु पर्थ्यो वा एउटा नली घुसाएर स्वाब संकलन गर्नुपथ्यो । यस्तो नगर्दा रिर्पोट नेगेटिभ देखिएको हो,” उनले भने,“पहिला देखि नै टन्सिलको आसपासबाट मात्र खकारको नमुना लिँदा पुन: कोरोना संक्रमण देखियो ।”
पुन: कोरोना अन्य व्यक्तिबाट सरेको होइन कि ती व्यक्तिहरुमा निको नभई घर पठाइएको रहेछ भन्ने उनले तर्क गरे । उनले मानिसको नजिक रहेर खोकेमा सर्ने दर बढी उनको भनाई छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका एवम् भाइरोलोजिष्ट समेत डा. शेरबहादुर पुनका अनुसार विभिन्न अध्ययन हेर्दा कोरोना निको भएकामा पुन: कोरोना संक्रमण देखिएका व्यक्ति त्यो भाइरसले अन्यमा संक्रमण नसर्ने प्रमाणित भएको छ ।
उनले भने, “विभिन्न अध्यायन हेर्दा कोरोना संक्रमण देखिँदा पनि फल्स नेगेटिभ भएको हुन सक्ने उल्लेख भएको छ ।”
स्वाब संकलन गर्दा गल्ती भएमा पनि कोरोना नेगेटिभ देखिन सक्ने उनले बताए । पीसीआर टेस्टको परीक्षणबाट पनि शतप्रतिशत संक्रमण पत्ता लगाउने नस्किने स्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् । चीनको वुहानमा कोरोना संक्रमण निको भएर घर गएकाहरुमा करिब ५ देखि १० प्रतिशतमा कोरोना देखिएको थियो ।
जापानमा पनि एक पुरुष निको भएर घर गएकामा पुन: दोहोरिए अस्पताल भर्ना भएका थिए । कोरियामा गत अप्रिलमा निको भएर गएकाहरुमा पुन कोरोना दोहोरिएर ९१ जना अस्पताल भर्ना भएका थिए ।
विश्व स्वास्थ्य संगठनले समेत निको भएर गएकाहरुमा किन कोरोना देखिन्छ भनेर अध्ययन गरिरहेको छ ।