काठमाडौं । सरकारले कोरोनाभाइरस (कोभिड १९) को परीक्षणका लागि अहिले प्रयोग गरिरहेको र्यापिड डाइग्नोस्टिक किटलाई परिवर्तन गर्ने भएको छ । यो किट परिर्वतन गरेर आईजीएम र आईजीजी दुवै पत्ता लगाउने किट ल्याउने सम्झौता गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
विभागले गत बुधबार नयाँ प्रकारको र्यापिड टेस्टिङ किट खरिदका लागि चीनको विद म्यानेजमेन्ट कम्पनीसँग सम्झौता गरेको विभाग स्रोत बताउँछ । नयाँ किट दुई लाख ल्याउने तयारी भएको विभागले बतायो ।
विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले नयाँ ल्याउन लागिएकोे किटले आईजीएम र आईजीजी दुवै पत्ता लगाउने बताउँछन् ।
“पहिला ल्याएको र्यापिड डाइग्नोस्टिक किटभन्दा अहिले ल्याउन लागेको नयाँ किट वैज्ञानिक र राम्रो रहेको छ,” उनले भने, “अहिले सञ्चालनमा आएको ¥यापिड डाइग्नोस्टिक किटले कुनै पनि भए एउटा धर्का देखिने गथ्र्यो तर अब ल्याउन लागेको नयाँ किटले आईजीएम र आईजीजी बेग्ला बेग्लै धर्का देखाउँछ ।”
श्रेष्ठका अनुसार पहिलो चरणमा एक लाख किट ल्याउने तयारी भएको छ । उक्त किट मंगलबारसम्म नेपाल आइपुग्ने उनले बताए ।
सरकारले गत चैत १५ मा चीनबाट ओम्नी कम्पनीसँग ७५ हजार र्यापिड टेस्टिङ किट सात करोड २० लाख रुपैयाँमा खरिद गरेर ल्याएको थियो । उक्त किट हालसम्म ४९ हजार ६८८ वटा प्रयोग भइरहेका छन् ।
मन्त्रालयका एक कर्मचारी नाम नखुलाउने सर्तमा भने, “भारतले परीक्षण बन्द गरेको कीटबाट अहिले हामी परीक्षण गरिरहेका छौं ।”
चीनबाट खरिद गरेर ल्याउनेबित्तिकै र्यापिड डाइग्नोस्टिक किटको गुणस्तर जाँच गर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य अनुन्धान परिषद र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई र्यापिड डाइग्नोस्टिक किटको गुणस्तर मापन गर्न निर्देशन दिएको थियो । सोहीअनुसार स्वास्थ्य अनुन्धान परिषद् र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टिमले कैलाली र कञ्चनपुरबाट १ सय ९८ वटा नमुनाको संकलन गरेर पाइलट टेस्ट गरेको थियो ।
तर, हालसम्म पनि त्यसको नतिजा सार्वजनिक गरिएको छैन । जसले गर्दा यसको गुणस्तरमा प्रश्न उठिरहेको छ ।
वैशाख ५ गते उदयपुरको भुल्केमा र्यापिड डाइग्नोस्टिक किट (आरडिटी) बाट गरिएको परीक्षणमा १६ जनाको नेगेटिभ रिर्पोट आएको थियो । तर, पुनः पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।
यसअघि कैलालीकी एक ६५ वर्षीय महिलाको र्यापिड डाइग्नोस्टिक टेस्टमा नेगेटिभ रिर्पोट आएको थियो । थप पीसीआर परीक्षण गर्दा पोजेटिभ रिर्पोट आएको थियो । जसले गर्दा यस किटको नतिजाले मानिसमा अन्योल पारेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक कर्मचारीले आईजीएम र आईजीजी नै छुट्याउने किट भयो भने संक्रमण पत्ता लगाउन सहज हुने बताए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले कोरोना भाइरस (कोभिड–१९) मानिसको शरीरमा प्रवेश गर्दा शरीरमा दुई वटा एन्टिबडी बन्ने बताउँछिन् ।
झाका अनुसार सुरुमा बन्ने एन्टिबडी भनेको आईजीएम (इम्युनोग्लोबिन एम) र दोस्रोमा आईजीजी (इम्युनोग्लोबिन जी) हो । आईजीएम रोग लागिसकेपछि तीनदेखि ५ दिनमा वा समान्यतया एक सातामा देखिन थाल्छ । व्यक्तिअनुसार फरक हुन्छ ।
आईजीएम झन्डै दुई तीन साता शरीरमा रहन सक्छ । एक महिनासम्ममा आईजीएम नेगेटिभ हुन्छ भने आईजीजी लामो समयसम्म पनि शरीरमा रहिरहन्छ । भर्खरै मानिसको शरीरमा यो भाइरस प्रवेश भए र्यापिड टेस्ट गर्दा संक्रमण देखाउँदैन । तर पीसीआरबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिन्छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीले कोरोना परीक्षण गर्ने किटहरू भपर्दो नहुने बताउँछन् ।
“किटबाट कोरोना परीक्षण गर्दा पनि पछि पीसीआरमै परीक्षण गरिनुपर्ने हुन्छ”, उनले भने, “किट खरिद गर्नुभन्दा तिब्र रूपमा पीसीआर परीक्षणको दायरा बढाउनु पर्छ ।”