site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
लाहुरे अर्थतन्त्र

कोरोना महामारीका कारण विश्व अर्थतन्त्र एकैपटक संकटमा परेको छ । आर्थिक महाशक्ति राष्ट्रहरुमा समेत भयावह अवस्था छ । श्रम मन्त्रालयको तथ्याङकमा ४० लाख युवाले खाडीलगायतका विदेशी मुलुकमा श्रम पसिना बगाएर पठाउने रेमिट्यान्समा अडिएको नेपाली अर्थतन्त्रमा कोरोनाको असर कस्तो होला ? गत वर्ष आठ खर्ब रेमिट्यान्स भयो, यो वर्ष ९ खर्ब आउछ भन्नेबाहेक सरकारले कुनै गृहकार्य गरेको छैन । रेमिट्यान्स घट्दा अर्थतन्त्र कसरी चलायमान बनाउने र रोजागरी गुमाएर स्वदेश फर्किने ठूलो युवा जनशक्तिको परिचालन कसरी गर्ने भन्ने कुनै तयारी भएको देखिँदैन । नेपालमा ‘लाहुरे’ अर्थतन्त्रको कसरी विकास भयो र त्यसले कस्तो समाजमा कस्तो प्रभाव छोड्यो भन्ने विषयमा यो आलेख केन्द्रित छ । 

प्रथम विश्वयुद्धको प्रभाव

‘त्यस बखतको नेपाल’ मा सरदार भीमबहादुर पाँडेले दिएको विवरणअनुसार सन् १९१४ मा सुरु भएर १९१८ मा सकिएको प्रथम विश्वयुद्धमा दुई लाख नेपाली युवा ब्रिटिस गोर्खा फौजका रूपमा युद्धमा संलग्न भए । युद्धमा २० हजारको नेपालीको ज्यान गयो । नेपालकै सेनाले पनि बेलायतका पक्षबाट युद्धमा भाग लिएको थियो ।

युद्धमा घाइते र अंगभंग हुनेको संख्या हजारौं थियो । दोस्रो विश्वयुद्धमा झन्डै एक लाख १२ हजार गोर्खा सैनिकले भाग लिए । दुवै युद्धमा मारिनेको गोर्खालीको संख्या त्रिचालीस हजार थियो । रोजगारीका लागि ठूलो संख्यामा नेपाली युवा पहिलो पटक विदेश गएको र सर्वाधिक रेमिट्यान्स भित्र्याएको प्रथम विश्वयुद्धपछि नै हो । 

सत्ताका लागि भर्ती

राणाहरुले लामो समयसम्म नेपालमा बाहिरी दुनियाँको हावा छिर्न दिएनन् । अंग्रेजलाई खुसी बनाएर शासन सत्ता लम्याउन भने कुनै कसर बाँकी राखेनन् । दुई सय वर्षअघि व्यक्तिगत तवरमा सुरु भएको भारतीय सेनामा गोर्खालीको भर्ती लखनउ विद्रोह दबाउन जंगबहादुरले (स्न १८५७ ) अंग्रेजलाई सघाएपछि तीव्र बनाइयो ।

‘कम्पनी सरकारले भर्ती खोलेपछि देशका दूरदराजबाट धेरै युवा तत्कालीन ब्रिटिस भारतीय सेनामा जागिरे भए । त्यसैले नेपालका धेरै गाउँलेहरुको आर्थिक सम्बन्ध काठमाडौंभन्दा भारतसँग बढ्दै गयो । कम्पनी सरकारको लाहोर स्थित फस्ट गोर्खामा भर्ना हुन थालेपछि भारतको जुनसुकै ठाउँमा जस्तो सुकै जागिर खान जाने मानिसलाई नेपालमा लाहुरे भन्न थालियो । 

देशभित्र नेपालीका लागि रोगजारीको अवसर थिएन । सैनिक र निजामती प्रशासनका माथिल्ला पदमा राणाहरुमात्र हुन्थे । उनीहरुका चाकडीवाज र हुक्के, ढुक्केबाहेकले साधारणले सिपाहीको नोकरीसमेत पाउँदैनथे । 

केही अपवादलाई छोड्ने हो भने ९९ प्रतिशत गाउँले जनता आफ्नो काम गरेर खान्थे । उनीहरुमध्ये धेरै जीवनकालमा सरकारी कर्मचारीको मुखै नदेखी परमधाम पुग्थे । देशभित्र मुद्राको चलन खासै थिएन । कपडा, नुन र मट्टीतेलबाहेक किन्नुपर्ने सामान खासै हुँदैनथ्यो । स्वदेशमा खेती र पशुपालनबाहेक अर्को इलम नभएपछि लाहुरको जागिरले धेरैलाई नेपाली युवालाई आकर्षित गरेको हुनुपर्छ ।

मुख्य कारण रोजगारी 

राणाकालमा जागिरको खोजीका लागि सुदूर पश्चिमको अछामबाट काठमाडौं आएका पूर्व गृहमन्त्री नैनवहादुर स्वाँरले आफ्नो अनुभव सुनाउँदै लेखकसँग भनेका थिए – ‘‘अछामबाट हिँडेर बर्दियाको राजापुरसम्म आयौँ । त्यहा“बाट भारतीय रेलमा रक्सौल, रक्सौलबाट नेपाली रेलमा अमलेखगञ्ज, त्यहाँबाट ट्रकमा भिमफेदी पुग्यो ।

अनि चन्द्रागिरीको बाटो हुँदै पैदल थानकोट पुग्यौँ । त्यहाँबाट फेरि लरीमा कालीमाटी । कालीमाटीबाट पोकापन्तुरा काँधमा हालेर नक्साल आयौंँ । आफन्त कहाँ बस्यौँ । दिनहुँ राणाजीको दरवार बाहिर गयो, कुर्‍यो । फर्कियो । एवं रीतले कैयौं पटक ढोकामा कुरेपछि राणाजीलाई नोकरीका लागि बिन्ती चढाउन पाइयो । उनैको आदेशले जागिर पाइयो ।’’

उति बेला राणाका दरवारमा जागिर माग्न जानेहरुको घुइँचो नै लाग्थ्यो । राणा प्रधानमन्त्री बग्गी चढेर कतै जाँदै छन् भने मानिसहरु सरकारको जय होस्, सरकारको जय होस भन्दै पछि पछि एक सुरले दौडिन्थे । त्यसरी दौडिने मानिसले श्री ३ को मन पगाल्न सके जागिर र बिर्ता पाउँथे । अन्याय भयो भन्न जानेहरुले न्याय पाउँथे । कानुन नै राणा प्रधानमन्त्रीको हुकुम थियो । 

नेपालमा शिक्षण संस्था थिएनन् । राणा र उच्च घरानियाँबाहेक सामान्य जनतले पढ्न पाउँदैनथे । भारतका विभिन्न सहरमा पढेर आउने राणाले समेत प्रधानमन्त्रीलाई दाम राखेर दर्शन गरेपछि उनको निगाहमा नोकरी पाउँथे । योग्यताको आधारमा होइन । त्यस्तो अवस्थामा रैतीको अवस्था कस्तो थियो होला अनुमान गर्न सकिन्छ । 

मानव बेचबिखन : राज्यकै संलग्नता

प्रथम विश्वयुद्धको विजयले बेलायतलाई संसारको एकछत्र महाशक्ति बनाई दियो । उसको सीमा ‘कहिल्यै घाम नअस्ताउने’ गरी फैलियो । त्यो दिग्विजयमा २ लाख गोर्खाली सैनिकको महत्त्वपूर्ण योगदान थियो जसले एसिया र युरोपका युद्ध मैदानमा भाग लिए । तीमध्ये २० हजारले ज्याउन गुमाए । रण मैदानमा खुकुरी र ‘आयो गोर्खा’ को आवाजले संसारमै हल्लायो । गोर्खाली बहादुर कहलाइए । नेपालीले (गोर्खा सेना) कस्तो बहादुरी प्रदर्शन गरे भने तिनको वीर गाथाले संसारै चकित बनायो ।

‘गोर्खालीको त्यही गुन तिर्न बेलायतले नेपाललाई (विसं १९७७) एक मुष्ठ २१ लाख भारु दियो भने हरेक वर्ष १० लाख कम्पनी रुपैया अनुदान दिन थाल्यो । त्यो रकम गोर्खालीले युद्ध मैदानमा बगाएको रगतको मूल्य थियो । त्यतिमात्र होइन नेपालका महाराज (चन्द्रशमशेर) लाई ‘हिज हाइनेस’ को मानसमेत दियो । यसरी नेपाली युवालाई बेलायती सेनामा पठाउने र त्यसबापत वार्षिक दश लाख बुझेर शासकहरुले विलासी जीवन बिताउने क्रम सुरु भयो । 

एक युगमा एक पटक

युद्ध मैदानमा खटिएका दुई लाख गोर्खा सैनिकले सेवाबाट फर्किने बेला उपदान र तलब सुविधाबाट बचाएको रकम नेपाल भित्र्याए । पूर्वप्रशासक सरदार भीमवहादुर पाण्डे ‘त्यस बखतको नेपाल’ पुस्तकमा लेख्छन् – ‘‘युरोपबाट हरेक सैनिकले सरदर पाँच सय पेन्सन लिएर आए । यसरी दुई लाख जनाले झन्डै तेह्र करोड विदेशी मुद्रा भित्र्याए । वार्षिक एक आध करोड राजस्व उठ्ने मुलुकका लागि त्यो एकदमै ठूलो रकम थियो ।’’

सरकारले योजनाबद्वरुपमा त्यो रकम विकासका लागि प्रयोग गर्न सकेको भए नेपाल त्यति बेलै संसारको सम्पन देशमा रुपान्तरण हुनसक्ने थियो । तर, राणाहरुको अदूरदर्शिताले नेपालले माल पाएर पनि चाल पाउन सकेन । लाहुरेहरु विदेशबाट कमाएर ल्याएको पैसामा बिलासी जीवन बिताउन थाले । उद्यम र उत्पादनमा त्यो रकम खर्च हुन पाएन । जसरी आएको थियो, बिलासी र उपभोग्य सामान किन्न उतै फर्कियो । 

बढ्दै गयो, व्यापार घाटा 

नेपालमा श्री ३ वीरशमशेरको पालादेखि केही विलासका सामान समुन्द्र पारबाट ल्याउन थालिएको हो । तर, त्यसरी पैठारी हुने सामानका उपभोक्ता उच्च घरानियाँ राणाहरुमात्र थिए । 

विसं १९७७ मा तराईका नाका नाकामा सीमावर्ती क्षेत्रलाई गुल्जार गर्ने र बढी विदेशी सामान पैठारी गरी भन्सारबाट राजस्व उठाउने हेतुले श्री ३ चन्द्रले ठाउँठाउँमा ठेक्कामा धेरै बजार अड्डा थपे । धेरै भारतीयहरुलाई बन्द व्यापार गर्न तराई भित्र पस्न दिए । यस नयाँ कदमले प्रशस्त रंगीचंगी भारतीय सामान नेपाल आउन थाल्यो । श्री ३ चन्द्रका पालमा नेपालभित्र ल्याइएका विदेशी उपभोग्य सामानले नेपाली घरेलु उद्योगको जगलाई नै खल्बल्याए । भन्सारबाट राजस्व बढे पनि त्यो रकम देशको विकासमा लगाइन्नथ्यो । वर्षको अन्त्यमा जोगिएको रकम ‘बाहुली दाखिला’ भन्दै श्री ३ को ढुकुटीमा पुग्थ्यो । 

महायुद्धबाट फर्किएका लाहुरेले विदेशमा कमाएको ठूलो रकम गाउँगाउँ पुगेपछि नेपाली समाजमा विलासिताको बीउ रोपियो । विसं १९७७ अघिसम्म आयातभन्दा कैयौं गुणा बढी निर्यात गर्दै आएको मुलुकको अर्थतन्त्रले उल्टो गति लिन थाल्यो । व्यापार घाटा र असन्तुलन बढ्दै गयो । विदेशी समानको आयात ह्वात्तै बढेपछि आवश्यक खाद्यान्न, लत्ताकपडा र अरु दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने घरेलु उद्योग धराशायी हुने क्रम शुरु भयो । मुलुक क्रमशः गरिब हुँदै गयो ।

विकृति नै विकृति 

नेपालमा त्यो बेलासम्म चिया पसल र रक्सी भट्टीको चलन थिएन । युद्धबाट गोर्खाली फर्किएसँगै गाउँघरमा जुवा, जाँडरक्सी र भट्टीको चलन बढेर आयो । त्यतिमात्र होइन लाहुरेसँग गाउँका युवती आकर्षित हुन थाले । आफ्ना लोग्ने छोडेर लाहुरेसँग निकै तरुनीहरु सल्किए । सामाजिकरुपमा त्यसले ठूलो विकृति भित्र्यायो । त्यतिमात्र होइन, विदेशमा कमाएको सम्पत्ति मोजमस्तीमा सकिएपछि टाट पल्टिएर कैयौं लाहुरे उतै फर्किए । वर्षौसम्म स्वदेश आएनन् । पतिको प्रतीक्षा गर्दा गर्दै आशा मारेर कतिपय त्यस्ता लाहुरेका पत्नीहरु पनि अर्कैसँग जान थाले । 

यस्ता घटनाले समाजमा विकृति फैलियो । हिन्दु धार्मिक मान्यतामा चलेको नेपाली समाजमा रहेको अरुलाई ठग्नु हुन्न, लुट्नु हुन्न पाप लाग्छ भन्ने जनविश्वास बिस्तारै टुट्दै जान थाल्यो । चोरी चकारी नभएका गाउँमा यसपछि विकृति बढ्दै गयो । हाडनाता करणी, चोरीडकैती, झगडाका मुद्दा अड्डाखानामा त्यही बेलाबाट बढेको हो ।
त्यसपछि लाहुरे अर्थतन्त्रबाट नेपाल कहिल्यै उम्कन सकेन । 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro