site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
 बिदामा आएकाहरुलाई मात्रै कोरिया पठाइने, चार्टर्ड विमानको शुल्क स्वयं व्यहोर्नुपर्ने

काठमाडौं । रोजगारीका लागि ईपीएसमार्फत दक्षिण कोरियाबाट घर बिदामा नेपाल आएका श्रमिक मात्रै कोरिया फर्कन पाउने भएका छन् । बिदामा नेपालमा फर्किएका नेपाली श्रमिकलाई कोरियासम्म पुर्‍याउन सरकारले समन्वय गरिदिने भएको छ ।

सोमबारको मन्त्रिपरिषद्को बैठकले रोजगारीका लागि कोरिया जान स्वीकृती दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, “ईपीएस प्रणालीअन्तर्गत मित्रराष्ट्र गणतन्त्र कोरियामा काम गर्ने अनुमति प्राप्त वैध प्रवेसाज्ञा भएका हाल बिदामा नेपालमा रहेका व्यक्तिहरु स्वेच्छाले आफ्नो काममा फर्की जान चाहेमा निजहरुको स्वास्थ्य परीक्षण गराई निजहरुकै खर्चमा चार्टर्ड उडानबाट जान स्वीकृति दिने।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो निर्णयसँगै सरकारले वैदेशिक रोजगार विभागलाई समन्वयका लागि निर्देशन दिएको छ । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कोरिया काममा फर्कन चाहेन श्रमिकको स्वास्थ्य परिक्षण गर्ने कामसम्मका लागि समन्वय गर्ने बताए । त्यसका लागि विभागले स्वास्थ्य परिक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्न लागेको उनले बताए । 

उनले बाह्रखरीसँग भने, “हामीले जो काममा फर्कन चाहन्छन् उनीहरुको स्वास्थ्य परिक्षणसम्मका लागि समन्वय गरिदिन्छौं, त्यसपछि कसरी जाने भन्ने विषयमा अन्य निकायले समन्वय गर्ला ।”

यता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुमन घिमिरेले स्वास्थ्य परिक्षण देखि विमान चार्टर्ड गर्नेसम्मको प्रक्रियाका लागि वैदेशिक रोजगार विभागले नै समन्वय गर्ने बताए । 

ईपीएस कार्यालयका अनुसार चार वर्ष अवधिका लागि कोरिया रोजगारीमा गएका १ सय ४९ नेपाली श्रमिक हाल बिदामा नेपालमै छन् । उनीहरुले आफूहरुको बिदाको अवधि सकिएकाले कोरिया पठाइदिन पहल गर्न गरिदिन सरकारलाई आग्रह गर्दै आएका थिए । सोही अनुसार सरकारले स्वास्थ्य परिक्षण गरेर र उनीहरुकै खर्चमा कोरिया पठाउने निर्णय गरेको हो । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  १६:२६
प्रतिक्रिया दिनुहोस्