site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मनकारी मन्डे !

काठमाडौं । अठार पुराणका रचयिता वेदव्यास महाभारतको अन्त्यमा भन्छन्– ‘‘मानव सेवाभन्दा ठूलो अर्को कुनै धर्म छैन ।’’ सत्ताको स्वादले मदान्ध भएकाहरूलाई राजनीतिक जोडघटाउ गर्नमै फुर्सद छैन, जनताका समस्यामा कसरी नजर पुर्‍याउन् र ? फेरि पनि अरूका दुःखलाई आफ्नै ठान्ने पात्रहरू समाजमा जन्मन्छन्, जन्मिएका छन् ।

उनीहरूले आफू नखाएरै भए पनि अरूको सेवा गरिरहेका छन् । ‘स्टे होम, स्टे सेफ’ (घरमै बस्नुस्, सुरक्षित रहनुस्) को नाराले व्यापकता पाइरहेका यो बेला केही त्यस्ता खेलाडी मैदानमा उत्रिएका छन् ।  यतिबेला उनीहरूलाई कुनै प्रतियोगिता जित्नु छैन । अरूलाई पछि पार्दै स्वर्ण पदक भिर्नु पनि छैन । उनीहरू त केबल आफूसँगै अरूलाई जिताउन र मुहारमा हराएको खुसी बाँड्न मैदानमा फर्किएका हुन् ।

त्यस मध्येका एक हुन् १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदकधारी कराँते खेलाडी मन्डेकाजी श्रेष्ठ । मन्डेकाजी यतिबेला आँसु पुछ्न घरबाहिर निस्केका छन् । उनी अरूको फुटेको खुट्टामा मलमपट्टी गर्न घर बाहिर निस्केका हुन् । 

घर बाहिरको कथा

सरकारले लकडाउन घोषणा गरेको दश–पन्ध्र दिन मन्डेमाजी श्रेष्ठ घर भित्रै बसेका थिए । उनले लकडाउनको पूर्ण पालना गरे । तर, उनलाई घर बाहिरको कथाले धेरै पिरोल्यो । त्यस समय सञ्चार माध्यममा आएका विभिन्न घर बाहिरका कथाले कता–कता उनलाई घोच्न थाल्यो रे । “हामी त घर भित्रै बसेका थियौं । खान लगाउन कुनै समस्या थिएन,” मन्डेकाजीले भने, “तर, घर बाहिरका धेरै कथाले मलाई सोच्न बाध्य बनायो । मैले आफ्नै घर अगाडि पनि त्यस्ता धेरै घटनाहरू देखें । जसले मलाई घरभित्रै राख्न सकेन ।”

उनले अरू समस्यमा परेका बेला आफू यसरी घर भित्रमात्र बस्नुभन्दा पनि उनीहरूलाई सहयोग गर्नुपर्छ भन्दै घरबाट निस्किए । आफू मात्र खाऊँ र आफूमात्र लगाऊँ नभनी आफूसँग जे–जति छ त्यो सबै बाँडेर खानु पर्छ उनीमाथि भावना पलायो । अनि उनले आफ्नो टोलछिमेकका साथीभाइका नम्बर दवाए । पन्ध्र जनासाथीसहित मन्डेकाजी समस्यामा परेकाहरूलाई सहयोग गर्न सडकमा उत्रिए । 

“यस समय समस्यामा परेकाहरूलाई सहयोग गर्नुपर्छ भन्दै टोलछिमेकका साथीभाइहरूसँग छलफल गरें । त्यसका लागि सबै जना उत्साहित भए । अनि हामी सडकमा उत्रियौं,” उनले भने, “बाटोमा दिन रात हजारौं मान्छे हिडिरहेका छन्, कसैका साथमा ससाना नानी छन्, कोही दोजिया देखिन्छन् । उनीहरूको अवस्था कस्तो होला एक पटक सोच्नुस् त ?”

उनले बाटोमा हिडिरहेका कैयौं ठूलै मान्छेहरूको खुट्टामा चप्पल समेत नभएको बताए । “बुढापाकाको अवस्था मात्र होइन बाटोमा हिड्ने राम्रो मान्छेको खुट्टामा समेत जुत्ता चप्पल छैन । हिजोको मात्रै घटना हो । एक वृद्ध आमाको खुट्टामा चप्पल थिएन । उनको खुट्टाबाट रगत बग्दै थियो । तर, उनी त्यो रगतको पर्वाहै नगरी आफ्नो गन्तव्यका लागि हिडिरहेकी थिइन् । त्यस्तो अवस्थामा हामीले जुत्ता चप्पल दिएका छौं,” मन्डेकाजीले भने, “हामीले प्रदान गरेको जुत्ता चप्पलले उनीहरूको लामो यात्राको थकान त नमेट्ला तर, खुट्टामा घाउ, चोटपटक लाग्नबाट भने केही हदसम्म सुरक्षा गर्नेछ ।”

सुरुवाती समयका आफ्नै खर्चमा अघि सरेको उनीहरूको अभियानलाई हाल जनता क्लब काठमाडौं र रोटरी क्लब काठमाडौंले सहयोग गर्दै आएको छ । क्लबले समस्यामा परेकाहरूका लागि खाद्यान्नदेखि विभिन्न सामग्रीहरू उपलब्ध गराउँदै आएको छ । उनीहरूले लामो दूरीको यात्रामा हिडेकाहरूका लागि बाटो खाजाको जोहो समेत गरिदिएका छन् । उनले आफ्नो यस अभियानमा सहयोग गर्न यती कार्पेट पनि इच्छुक भएको बताए ।

“विभिन्न संघ संस्थाहरू अझै पनि हामीसँग जोडिन आइरहेका छन् । कतिपय स्थानीयहरू आफ्नो भान्साबाटै भए पनि समस्यामा परेका र खान नपाएकाहरूलाई दिन हाम्रो अभियानसँग जोडिए,” उनले भने, “होटेल व्यवसाय बन्द भएका छन् । कैयौं बिहान–बेलुका मजदुरी गरेर सानो होटेलमा मासिक रूपमा खानेहरू पनि छन् । त्यस्ता भोकै भएकाहरूलाई खानाको व्यवस्था समेत गरिदिएका छौं ।” उनले थुप्रै वृद्धाश्रमहरूलाई समेत खाद्यान्नको व्यवस्था गर्दै आएको बताए ।

व्यक्तिगत ८० हजार खर्च 

नेपालमा अन्यत्रभन्दा तराई क्षेत्रमा कोरोना संक्रमितको संख्या अलिक बढी देखिएको छ । उनीहरूले तराईमासमेत आफ्नै गाडी पठाएर राहत वितरण गरिरहेका छन् । समस्यामा परेकाहरूका लागि व्यक्तिगत खर्च गर्न उनी हिच्किचाएनन् । उनले आफ्नै खर्चमा उपत्यका बाहिर मास्क, सेनिटाइजरलगायतका थुप्रै सामग्रीहरू पठाइसकेका छन् ।

“संघ संस्थाहरूको सहयोगका कारण मेरो त्यस्तो खासै ठूलो खर्च त भएको छैन । सुरुवाती समयका भने ८० हजार जति खर्च भएको छ,” उनले भने, “नेपाल सरकाले घोषणा गरेको पुरस्कार दिएको छ नि त्यो पैसा मसँग छ । अझै पनि कसैलाई केही समस्या परेको छ भने मलाई व्यक्तिगत रूपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ । मेरो तर्फबाट गर्न सक्ने जेजस्तो हुन्छ तयार छु ।” उनले आफ्नो घरमा भएको चामल पसललाई आवश्यक परेको खण्डमा समस्यमा परेकाहरूको सहयोगका लागि प्रयोगमा ल्याउन सकिने समेत बताए । 

कोरोना संक्रमणको संख्या बढ्ने क्रममा रहेका बेला लकडाउन कति लम्बिन्छ भन्ने कुनै ठेगानै छैन । त्यसैले यतिबेला राजधानीभित्र भएकाहरू धेरै जसोहरू आफ्नो घर फर्किने चाहना व्यक्त गरिहेका छन् । बेलुका आफ्नो घर फर्किनेहरूको लावालस्कर सडकमा देखिने गरेको छ । कामबिना काठमाडौं बस्नसक्ने अवस्था नभएका धेरै छन् । त्यस्तो अवस्थामा रहेकाहरूलाई उनको टिमले यातायातको समेत व्यवस्था गर्दै आएको छ । 

“विभिन्न व्यवसायका व्यक्तित्वहरूसँग हामीले छलफल गर्दै आएका छौं । हामीले यातायातसँग सम्बन्धित व्यक्तिहरूसँग छलफल गर्दै उनीहरूका लागि यातायातको समेत व्यवस्था गरिदिएका छौं,” मन्डेले भने, “हामीले कोठा भाडामा बसेकाहरूलाई समेत सोधपुछ गर्दै आफ्नै गाडीको प्रयोग गरेर भए पनि त्यो स्थानसम्म पु¥याउने प्रयास गरेका छौं । हामी अझै निरन्तर छौं ।” भक्तपुरको नयाँ ठिमी चोक, गठ्ठाघरलगायतका विभिन्न ठाउँहरूबाट उनीहरूले दोलखा, सिन्धुपाल्चोक, बाह्रबीसेका हजारौं व्यक्तिलाई ३०–४० वटासम्म गाडीहरूको प्रयोग गर्दै पठाइसकेका छन् । 

अरूको खुसीले डर हराएको छ

यो अवस्था भीडभाडसँग डराउने हो । यसका लागि सामाजिक दूरी कायम गर्नु अतिआवश्यक हुन्छ । भीडभाडमा एक जना संक्रमित भयो भने धेरैलाई यो महामारी सार्न सक्छ । यति थाहा हुँदा हुँदै पनि मन्डेकाजी र उनको टिम पछि हटेको छैन । उनले यो अवस्थामा अरू कुनै उपाय नभएको बताए । 

“मान्छेसँग डराऊ भनेर अरूले भनिरहँदा हामीलाई पनि डर नहुने भने होइन । डरको अगाडि भोक र पीडा देखिए । त्यससँग लड्नु हाम्रो पनि त कर्तव्य हो,” उनले भने, “हामीले विभिन्न सुरक्षा (मास्क, गल्ब्स, सेनिटाइजर आदि) अपनाएर काम गरिरहेका छौं । त्यो भन्दा अरू कुनै उपाए छैन ।”

बाटोमा हिडेकाहरूलाई देख्दा एक महिना उनीहरू कसरी बसे होलान् भन्ने सोच्न बाध्य बनाएको मन्डेले सुनाए । उनले भने, “हामीले कसैलाई सहयोग गर्दा उनीहरू खुसी हुँदै हामीलाई आशीर्वाद दिन्छन् । त्यतिबेला मन धेरै खुसी हुन्छ । उनीहरूको आँखामा आसु पुछ्न पाउँदा हामी सही बाटो हिडेका रहेछौं भन्ने लाग्छ ।”

अब स्थानीयको खोजी 

आफ्नो प्रशिक्षणलाई ध्यानमा राखेका मन्डेकाजीले अब समस्यामा परेका स्थानीयहरूको खोजी गर्ने बताएका छन् । बिहान दुई घण्टा सेल्फ प्रशिक्षणपछि सडकमा स्वयंसेवकका रूपमा खटिने मन्डेले स्थानीयमा पनि धेरै समस्यामा परेको हुन सक्ने बताएका छन् । 

“स्थानीयमा पनि धेरै जसको अवस्था नाजुक नै छ । उनीहरू भोकै होलान् । त्यसैले अब हामी त्यस्ता स्थानीयहरूको पनि खोजी गर्दै सहयोग गर्ने वातावरण तयार पार्छौं । उनीहरूलाई घर–घरमै गएर भए पनि सहयोग गर्न तयार छौं,” उनले भने । 

उनले समाज सेवासँगै आफ्नो प्रशिक्षणलाई पनि निरन्तरता दिएको बताए । “बिहान दुई घण्टा नियमित घरमै बसेर प्रशिक्षण गरिरहेको छु । प्रशिक्षण छोड्ने कुरा पनि भएन,” मन्डेले भने, “खेलाडीको दैनिकीमा व्यायामको अति ठूलो महत्त्व हुन्छ । किनभने, प्रशिक्षण नगर्दा तौल बढ्ला भन्ने डरसँगै हाड जोर्नीमा पनि समस्या आउन सक्छ ।” उनले व्यायाम नगरे कोरोनासँग लड्डा लडदै अर्कौ रोगले च्याप्ला भन्ने अर्को चिन्ता भएको समेत बताए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro