काठमाडौं । स्वास्थ्य विज्ञहरूले कोरोना संक्रमण फैलिएको उदयपुरको भुल्केलाई नै क्वारेन्टाइनमा परिणत गर्न सुझाएका छन् । संक्रमण देखिएको भुल्केका पूरै बासिन्दालाई सेल्फ क्वारेन्टाइनमा राख्न सरकारले प्रबन्ध गर्नुपर्ने उनीहरूको सुझाव छ ।
उदयपुर ३, भुल्केमा मंगलबार थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै भुल्केमा मात्र २४ जनामा संक्रमण पुष्टि भएको हो । जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितले २४ जनामा कोरोना संक्रमण देखिएको भुल्केलाई पूरै (सेल्फ) क्वारेन्टाइनमा राख्नुपर्ने बताए । “त्यो स्थानलाई चीनको वुहानबाट उद्धार गरेर ल्याएका विद्यार्थीलाई जसरी काठमाडौंमा राखिएको थियो त्यसरी नै राख्नुपर्छ,” उनले भने, “खानेकुराको व्यवस्था सरकारले गर्नुपर्छ । मानिसलाई घरबाहिर निस्कनै दिनुभएन ।”
उनका अनुसार अबको समयमा आरडीटीमा विश्वास गरी बस्नुपर्ने अवस्था छैन । समाजमा सबैको पीसीआर परीक्षण गर्ने र संक्रमण देखिए त्यस्ता संक्रमितलाई तुरुन्त आइसोलेसनमा राख्ने प्रबन्ध हुनुपर्छ । उनले भने, “ज–जसलाई संक्रमण देखिँदैन सेल्फ क्वारेन्टाइनमा राख्नुपर्छ । दुई सातापछि आरडीटी गर्ने नेगेटिभ देखिए थप ५ देखि ७ दिनपछि परीक्षण गर्नुपर्छ ।” त्यसमा पनि नेगेटिभ देखिए मात्र उनीहरूलाई बाहिर निस्कन दिने दीक्षितले सुझाए । यस्तै उनीहरू गएका स्थानमा उच्च सतर्कता अपनाउनुपर्ने उनले बताए ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. वासुदेव पाण्डेले उदयपुरको भुल्के क्षेत्रमा ट्रेसिङ र टेस्टिङ दुवै कडा निगरानीसाथ गरिएको जानकारी दिए । “लुकेर बसेकाहरूको अहिले खोजी गर्ने काम भइरहेको छ,” उनले भने, “सबै क्षेत्रमा सुरक्षाकर्मीको उच्च निगरानीमा पूर्ण लकडाउन गरिएको छ ।” उनले अबको ध्यान संक्रमण थप फैलन नदिनेमा केन्द्रित भएको सुनाए ।
भारतबाट आएका जमाती (मुस्लिम धर्म गुरु) हरूबाट उनीहरूलाई सहयोग गर्नेहरूमा सरेको हुँदा दोस्रो चरणमै रहेको उनको तर्क छ । मस्जिदमा रहेका गुरुहरूका लागि त्यहीं बसेर खाना पकाउने, सँगै बसेर नमाज पढ्ने भएकाले एउटै परिवारजस्तो भएको उनले बताए ।
उनीहरूको परिवार वा अन्य छिमेकीमा पनि देखियो भने मात्र तेस्रो चरण भन्ने हो तर थप अध्ययन गरेर मात्र भन्न सकिने उनले बताए । थप अध्ययनका लागि काठमाडौंबाट (आज) बुधबार चार विज्ञसहितको टिम उदयपुर जाने तयारी रहेको पनि उनले जानकारी दिए । वीरगन्ज र गाईघाटमा क्षेत्रीय स्वास्थ्य निर्देशकहरूको टिमले काम गरिरहेको उनले जनाए ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी पछिल्लो समय एकैपटक ११ जनामा एउटै समुदायमा कोरोना संक्रमण (कोभिड १९) देखिनु नेपालमा तेस्रो चरणमा कोरोना प्रवेश गरेको बताए । उनले भने, “ती मानिस गएको ठाउँ पत्ता लगाएर सबैको पीसीआर विधिबाटै परीक्षण गर्नुपर्ने देखिन्छ । ती क्षेत्रमा रहेका मानिसलाई उच्च निगरानीमा राखेर घर–घरमै खानेकुराको व्यवस्था गर्नुपर्छ ।” मस्जिदबाहिरका मानिसमा कोरोना संक्रमण देखिनु नै समुदायमा फैलिएको अवस्था मान्न सकिने उनले बताए ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) लाई चार चरणमा विभाजन गरेको छ । जसलाई पहिलो चरणमा अन्य देशबाट आएका संक्रमित, दोस्रो विदेशबाट आएका व्यक्तिबाट (आफन्त र नजिकका नातेदार) सर्ने, तेस्रो समुदायमा फैलिएको (विदेश पनि नगएको र विदेशबाट आएका व्यक्तिसँग सीधै सम्पर्क नभएको) अवस्था र चौथो महामारी देशभर फैलिएको अवस्थालाई भनेको छ ।