दाङ । दाङका विभिन्न इँटा उद्योगहरुमा रहेका श्रमिकहरुले आफूहरु घर फर्कन चाहेको बताउँदै त्यसको वातावरण मिलाउन स्थानीय प्रशासनमार्फत सरकारलाई आग्रह गरेका छन् ।
घोराही उपमहानगरपालिका नारायणपुरस्थित मनकामना इँटा तथा गोल्ड इँटा उद्योगमा कार्यरत करिब ५ सय भारतीय श्रमिकहरुले सञ्चारकर्मीसामु स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका हुन् । नेपाल सरकारले लकडाउन आदेश जारी गरेपछि अन्य उद्योगसँगै जिल्लाका सबै इँटा उद्योग पनि बन्द भएका छन् । बन्द भएसँगै पारिश्रमिकविहीन भएका भारतीय मजदुरले आफूहरुलाई काम अथवा माम दिनुपर्ने अन्यथा घर फर्काउनुपर्ने माग गरेका हुन् । ती दुई उद्योगमा रहेका कम्तिमा ५ सय भारतीय श्रमिकसँगै जिल्लाभरका इँटा उद्योगमा झन्डै ७ हजार भारतीय मजदुर कार्यरत छन् । उनीहरु भारतीय सीमा जिल्लाका स्थानीय नागरिक हुन् ।
इँटा उद्योगमा काम गर्न अधिकांश मजदुर परिवारसहित यहाँ आएका छन् । जसका कारण उनीहरुसँग कम्तिमा एक हजार बालबालिकासमेत आश्रित छन् । अव्यवस्थित बसोबास गर्ने उनीहरु विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका हिसाबले पनि बढि जोखिममा छन् ।
‘‘हामी यो अवस्थामा जसरी पनि घरफर्कन चाहन्छौं, भोकभोकै यहाँ बसिरहनुले झनै समस्या निम्त्याउन सक्छ,’’वडहराको मनकामना इँटा उद्योगमा कार्यरत भारतीय श्रमिक विश्वनाथ चौहानले भने । उनले आफू जसरी पनि घरजान चाहेको भन्दै आवश्यक परे भारतीय क्वारेन्टाइनमा बस्न तयार रहेको बताए । कामविहीन भएर बस्नु पर्दा मजदुरहरु मात्र नभएर बालबालिकाहरु समेत समस्यामा पर्ने सम्भावना आएको उनीहरुले बताएका छन् ।
अर्की श्रमिक सुनीता चौहान भन्छिन्, ‘‘न दालचामल न त दवाईको व्यवस्था, यस्तो अवस्थामा हामी जसरी पनि घरपुग्न चाहन्छौं, सरकारले हाम्रा समस्या सुन्नुपर्यो ।’’ उनीहरुले एक महिनादेखि नियमित काम नहुँदा पारिश्रमिकसमेत पाएका छैनन् । साँझ-बिहान भने हातमुख जोर्ने मेसो अहिलेसम्म चलेको उनीहरु बताउँछन् ।
स्थानीय त्रसित
यस्तो परिस्थितिमा भारतीय श्रमिकहरुको बाहुल्यता भएका इँटा उद्योग आसपासका स्थानीय उनीहरुकै कारण विश्वव्यापी महामारीका रुपमा आइरहेको कोरोनाको संक्रमण फैलन सक्नेमा त्रसित छन् । ‘‘हामी उद्योग बन्द होस् भन्ने चाहेका होइनौं, तर लकडाउनको समयमा अव्यवस्थित भएर हिँडडुल र घुमफिर गर्ने भारतीय श्रमिकका कारण संक्रमण फैलन सक्नेमा त्रसित छौं,’’ स्थानीय तथा शिक्षक शरद गौतमले भने ।
बडहराकै देवराज लामिछानेको भनाइमा श्रमिकहरु व्यवस्थित भएर नबस्दा गाउँबस्तीमा समस्या आउन सक्नेछ । ‘‘हामीले नै जग्गा लिजमा दिएर उद्योग सञ्चालनको वातावरण बनायौं, तर अहिलेको विषम परिस्थितिमा सकेसम्म भारतीय श्रमिकलाई सहज रुपमा घरफर्कने वातावरण सरकारले गराउनुपर्छ,’’अर्का स्थानीय जयबहादुर बुढाले भने ।
कतिसम्म पाल्ने ? : व्यवसायी
यसै प्रसंगमा सम्बन्धित इँटा उद्योगीहरुले कामविहीन भएको अवस्थामा मजदुरहरुलाई पाल्न कठिनाइ हुने भन्दै उनीहरुलाई घरसम्म पुग्ने वातावरण मिलाइदिन तीनै तहका सरकारको समन्वयको अपेक्षा गरेका छन् । ‘‘काम रोकिएको करिब एक महिना भयो, जेनतेन दालचामलको व्यवस्थापन गरेका छौं, तर कतिसम्म गर्ने भन्नेमा हामीहरु समेत समस्यामा छौं,’’ मनकामना इँटा उद्योगका सञ्चालक तथा दाङ देउखुरी इँटा व्यवसायी संघका अध्यक्ष रोम वलीले भने ।
लकडाउनका कारण उद्योग बन्द भएसँगै ती श्रमिकलाई सम्बन्धित उद्योगहरुले नै दाल-चामलको व्यवस्थापन गर्दै आएका छन् । यस्ता श्रमिकलाई स्थानीय सरकारले भने राहत उपलब्ध गराएको छैन ।
‘‘यी मजदुरलाई बोर्डरसम्म पुर्याउने आर्थिक व्यावस्थापन गर्न व्यवसायीहरु तयार छौं, तर उनीहरुलाई घरसम्म पुग्ने वातावरण मिलाउन सरकारले कूटनीतिक पहल गरोस भन्ने चाहन्छौं,’’अर्का उद्योगी किरण पोख्रेलले भने । लकडाउन भनेर मजदुरलाई भोकभोकै पार्न नहुने तर्कगर्दै हालसम्म सम्बन्धित उद्योगीले दाल-चामलको व्यवस्थापन गरेको बताउँदै उनले लामो समयसम्म आफूहरुले यसरी राहत उपलब्ध गराइरहन नसक्ने पनि बताए ।
मौसमको प्रतिकूलतासँगै यो वर्ष इँटा व्यवसायीहरु आर्थिक रुपले धेरै समस्यामा परिरहेका बेला अहिलेको अनुकूल मौसममा पनि काम गर्न नपाएकामा थप समस्यामा परेको बताएका छन् ।
कूटनीतिक पहल हुनुपर्छ : प्रमुख जिल्ला अधिकारी
यसैबीच प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले इँटा उद्योगमा कार्यरत भारतीय श्रमिकहरुलाई घरफर्काउने सवालमा दुवै देशबीच कूटनीतिक पहल हुनुपर्ने बताएका छन् । यसका लागि स्थानीय प्रशासनले रिपोर्टिङ गरिरहेको पनि उनले बताए ।
‘‘जिल्लाका हरेक इँटा उद्योगबाट त्यहाँ कार्यरत भारतीय श्रमिकहरुको तथ्यांक संकलन गर्ने काम भइरहेको छ, तर घरफर्काउने सवालमा नेपाल-भारतबीच कूटनीतिक पहल हुनु आवश्यक छ,’’ प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘‘यसको रिपोर्टिङ गृह मन्त्रालयमा भइरहेको छ ।’’