काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोरोना विशेष अस्थायी अस्पताल बन्ने भएका छन् । नोभेल कोरोना भाइरसको उच्च जोखिम रहेको सुदूरपश्चिममा सरकारले दुईवटा कोरोना विशेष अस्थायी अस्पताल बनाउन लागिएको जनाएको छ ।
सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण पुष्टि गरिएका पाँच जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । सेती अस्पतालबाट दुई दर्जभन्दा बढी सेवासमेत उपलब्ध गराइने भएकाले कोरोना संक्रमणको 'हटस्पट' बन्ने जोखिम बढेको भन्दै चौतर्फी आलोचना भएपछि कोरोना विशेष अस्थायी अस्पताल बनाउन लागिएको हो ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बाह्रखरीसँग कुरा गर्दै भने, "हामीले कोरोनाका बिरामीको उपचार गर्नका लागि दुईवटा अस्थायी अस्पताल बनाउने काम अघि बढाइसकेका छौं । एउटा सेती प्रादेशिक अस्पतालको मातहतमा रहने गरी र अर्को महामारी प्रादेशिक अस्पतालको मातहतमा रहने गरी बन्ने अस्पतालका लागि बजेटसमेत विनियोजन भइसकेको छ । आगामी १५ दिनमै दुईवटै अस्पताल बनिसक्छन् ।"
नयाँ बन्ने दुईवटा कोरोना विशेष अस्थायी अस्पताल ५०-५० वटा आइसोलेसन बेड रहने र त्यहाँ चार-चारवटा भेन्टिलेटरसहितको सुविधा हुने मन्त्री सुवेदीले दाबी गरेका छन् ।
नयाँ बन्ने अस्थायी अस्पतालमा चिकित्सक सेती र महाकाली प्रादेशिक अस्पतालबाट खटाइने भएको छ । नियमित उपचारमा आइरहने बिरामीका लागि चिकित्सक अभाव नहोस् भनेर ६० जना चिकित्सकको आवेदन खुलाइएको र उनीहरुको अनलाइन प्रणालीमार्फत् परीक्षा लिएर नियुक्ति प्रक्रिया अघि बढाउनेसमेत मन्त्री सुवेदीले जानकारी दिए ।
अहिले सेती प्रादेशिक अस्पतालमा रहेका कोरोना संक्रमितको उपचारका लागि खटिएका चिकित्सकहरुलाई अलग्गै राख्ने व्यवस्था गरिएको र उनीहरुलाई अन्य रोगका बिरामीको उपचारमासमेत नखटाइएको मन्त्री सुवेदीले जानकारी दिए ।
उनले भने, "हामीले कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकहरुलाई घरमा जान नपर्ने गरी गेष्ट हाउसमा कोठा लिएर राखेका छौं । उनीहरुबाट कोरोना संक्रमण फैलिने जोखिम छैन ।"
केन्द्र सरकारले पनि सुदूरपश्चिम प्रदेशका लागि ३३ जना चिकित्सक पठाउने र उनीहरुको पनि सम्पूर्ण सुविधाको व्यवस्था प्रदेश सरकारले गर्ने मन्त्री सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार केन्द्रबाट खटिने चिकित्सकको टोलीलाई सुदूरपश्चिमका नौ वटै जिल्लामा पठाउने तयारी भइरहेको छ ।
सुदूरपश्चिममा हाल २९४ क्वारेन्टाइन सेन्टरहरुमा एक हजार २७ जना रहेका छन् । उनीहरुको र्यापिड डाइग्नोस्टिक जाँच गर्ने कार्य भइरहेको मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।
प्रवक्ता कार्कीका अनुसार क्वारेन्टाइनमा रहेका, पहिले कोरोना संक्रमित मुलुकबाट आएका र घरमै बसेका र कोरोना संक्रमणको जोखिम भएका क्षेत्रहरुमा अहिले आरडीटी जाँच भइरहेको छ । हालसम्म तीन हजार ५०९ जनाको आरडीटी जाँच गरिएको छ भने एक हजार ४७७ को आरडीटी-पीसीआर दुवै जाँच गर्दा पाँच जना संक्रमित भेटिएका हुन् ।
क्वारेन्टाइनबाट गएकाहरुलाई पनि सात दिन अनिवार्य होम-क्वारेन्टाइनमा रहनुपर्ने प्रावधान राखिएको प्रवक्ता कार्कीले जानकारी दिए ।
नेपालमा हालसम्म ६ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न ६३ जिल्लामा आरडीटीमार्फ कोरोना परीक्षण सुरु गरिएको छ ।