काठमाडौं । सरकारले हालसम्म देशका ६३ जिल्लामा र्यापिड टेस्ट किटबाट परीक्षण सुरु गरिसकेको छ । प्रत्येक प्रदेशमा कोरोना भाइरसको परीक्षणका लागि ५ हजारका दरले टेस्ट किटसमेत पठाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर र्यापिड टेस्टको पूर्णरूपमा भर नपर्न जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।
सोमबार कैलालीको लम्कीमा एक महिलामा र्यापिड टेस्टमा कोरोना परीक्षण गर्दा नेगेटिभ देखियो तर सोही महिलाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पीसीआरमा परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो ।
त्यसैगरी, गत शनिबार बागलुङकी एक महिलामा र्यापिड टेस्टमा परीक्षण गर्दा कोरोना संक्रमण देखियो । तर, ती महिलाको पोखराको पीसीआरमा पुनः परीक्षण गर्दा कोरोना संक्रमण देखिएन । यसरी पोजेटिभलाई नेगेटिभ, नेगेटिभलाई पोजेटिभ नतिजाले ठूलो दुर्घटना हुने जनस्वास्थ्य विज्ञहरू बताउँछन् । स्वास्थ्य सेवा विभागका पूर्व निर्देशक एवम् जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीले सरकारले अहिले जुन प्रकारको कोरोना भाइरसको परीक्षणका लागि र्यापिड टेस्ट गरिरहेको छ, त्यसले नतिजा सही नदिने बताउँछन् ।
र्यापिड टेस्टले शतप्रतिशत नतिजा नदिने भएकाले पीसीआरबाट नै परीक्षण गनुपर्ने उनले बताए ।
“र्यापिडमा कोरोना पोजेटिभ देखियो त्यो व्यक्तिलाई नियन्त्रणमा राखियो तर दोस्रो परीक्षण पीसीआर गर्दा नेगेटिभ रिर्पोट आयो जसले गर्दा त्यस व्यक्तिको परिवारमा समेत नकारात्मक समस्या पार्छ,” उनले भने, “सुरुको चरणमा रहेको छ, भने र्यापिड टेस्टमा कोरोना नदेखिन सक्छ जसले धेरैमा सर्ने खतरा बढी हुन्छ ।”
र्यापिड टेस्ट किटमा कोरोना देखिन भनेर ढुक्क हुने अवस्था नरहेको उनको भनाइ छ ।
त्यसैगरी जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षित र्यापिड टेस्ट किटबाट तुरुन्तै कोरोना भाइरस भएको पत्ता नलाग्ने बताउँछन् । र्यापिड टेस्ट किटले शरीरको एन्टिबडी परीक्षण मात्र गर्ने हो । अहिले कति जनामा कोरोना संक्रमण देखिएको छ भन्ने यो किटबाट पत्ता लगाउन सहयोगी हुने उनको दाबी छ ।
“यो किटबाट शतप्रतिशत नतिजा आउँदैन,” उनले भने, “भखरै संक्रमण देखिएको मानिसमा यो किटले संक्रमण नदेखाउन सक्छ, भने अर्को कुनै समयमा संक्रमण देखिएको थियो भने यो किटबाट परीक्षण गर्दा पोजेटिभ देखाउँन सक्छ ।”
यो र्यापिड टेस्ट किट स्क्रिनिङभन्दा पनि सर्वेक्षणका लागि प्रयोग गरिने उनले जानकारी दिए ।
मानौँ कुनै समुदायमा सय जना मानिसहरू बस्छन् त्यो समुदायमा कति जनालाई कोरोना संक्रमण कुनै समय देखिएको थियो भन्ने सर्वेक्षणका लागि प्रयोग गर्न सकिन्छ । तर, भाइरस परीक्षण गर्न र्यापिडले सक्दैन । पीसीआर नै आवश्यक हुन्छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले तर र्यापिड टेस्ट पूर्णरूपमा भर पर्दो नहुने बताउँछन् । उनले भने, “यो टेस्टको काम भनेको कुनै पनि रोगका विरुद्धमा शरीरले पैदा गरेको एन्टिबडी पत्ता लगाउने मात्र हो ।” उनले नेपालले पनि आशंका गरिएका स्थानहरूमा टेस्ट गरिरहेको छ, र्यापिड टेस्ट गर्दा कारोना पोजेटिभ देखिएमा पीसीआर टेस्टमार्फत् निक्र्यौल गर्नुपर्ने बताए ।
“र्यापिड किटले सही नतिजा देखाउन सक्दैन,” उनले भने, “यो शरीरको एन्टिबडी टेस्ट गर्ने किट हो, यसबाट पोजेटिभ देखिएको पीसीआरमा पोजेटिभ नदेखिन सक्छ । कुनै समयमा संक्रमण भएर निको भएको मानिसमा एन्टिबडी परीक्षण गर्दा पोजेटिभ देखिन्छ ।”
सबैभन्दा विश्वासिलो भरपर्दो टेस्ट गर्ने क्षमता भनेको पीसीआरको नै हो भने पीसीआरले भाइरसको जिन नै पत्ता लगाएर देखाउँने उनले जानकारी दिए । उनले एक उदारण दिँदै भने, “मानौं ए नाम गरेको व्यक्तिमा र्यापिड गर्दा पोजेटिभ देखियो । त्यो व्यक्तिलाई अब नछुने, नजिक नजाने अवस्था आउँछ । पहिला एचआईभीको समयमा मानिसहरूमा यस्तै समस्या देखिएको थियो । र्यापिड गर्दा पोजेटिभ देखियो भने पीसीआरबाट नतिजा नआँदासम्म त्यो व्यक्ति सबै कुरा गोप्य राख्नुपर्छ । तर, अहिले यहाँ सुरुमा र्यापिड टेस्ट गर्ने हल्ला गर्ने गरेको देखिन्छ । अहिले र्यापिड पोजेटिभपछि पीसीआरमा नेगेटिभ आए पनि त्यो व्यक्तिलाई हेर्ने दृष्टिकोण पनि फरक हुन सक्छ ।”
यदि र्यापिड टेस्ट र पीसीआर टेस्ट संँगसँगै गरेर भन्नु पर्यो वा र्यापिड पोजेटिभ देखिएको मानिसको गोपनीयतामा ध्यान दिनुपर्ने देखिएको उनले बताए ।
त्यस्तै, भर्खरै व्यक्तिको शरीरमा कोरोना भाइरस प्रवेश गरेको अवस्थामा र्यापिड टेस्ट किटबाट जाँच गर्दा संक्रमण देखाउँदैन तर पीसीआरबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखाउने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा बताउँछिन् ।
कोरोना संक्रमण भएको एक सातापछि पीसीआर मेसिनबाट परीक्षणमा कोरोना पोजेटिभ आउँछ भने र्यापिडमा पनि पोजेटिभ देखिने हुन्छ भने दुवै परीक्षणमा कोरोना संक्रमण देखिन्छ । उनले भनिन्, “तीन चार सातापछि कोरोना भाइरस शरीरबाट हराइसकेको अवस्थामा पीसीआरमा टेस्ट गर्दा भाइसको रिर्पोट नेगेटिभ देखिन सक्छ भने र्यापिड टेस्टमा भाइरस पोजेटिभ देखिन सक्छ ।”
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा हालसम्म २१ जिल्लाबाहेक सबैमा र्यापिडबाट परीक्षण सुरु भइसकेको बताउँछन् । उनले भने, “र्यापिड टेस्टमा पोजेटिभ देखिएकाहरूको पुनः पीसीआरमा परीक्षण गरिन्छ ।”