site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोना संक्रमण रोकथाममा कसरी सहयोग गर्दै छ निजी क्षेत्र
Tiktok banner adTiktok banner ad

सरकारलाई ५९ लाख रुपैयाँ नगदसहित १० हजार थान मास्क र २ सय ५० सेट व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सरकारलाई हस्तान्तरण गर्दै  नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणालगायत । तस्बिर : बाह्रखरी


 

काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले सामाजिक, आर्थिक संकट ल्याएको छ । कोरोनासँग लड्न विश्व समुदाय एक हुने वाचा गरेका छन् । कोरोना भाइरसले विकसित, विकासशील एवं अल्पविकसित मुलुक भनेको छैन, जुन मुलुकलाई पनि यससँग लड्न गम्भीर बन्न बाध्य पारेको छ । सोही कारण कोरोना भाइरससँग लड्न विश्व एक हुनुपर्ने सन्देश विकसित मुलुकले नै दिइरहेका छन् । 

करिब १ सय ८० मुलुकमा फैलिसकेको कोभिड १९ विरुद्ध लड्न ती सबै मुलुकले आफूलाई सुरक्षित राख्न र क्षति हुन नदिन सक्दो प्रयास गरी नै रहेका छन् । नेपालले पनि आफ्नो क्षमताले भ्याएसम्मको प्रयास गरिनै रहेको छ । नेपालमा पनि संक्रमणको जोखिम बढेसँगै सरकारले मुलुकभर लकडाउनको घोषणा गर्यो । लकडाउनको आज छैटौं दिन भएको छ । सरकारले गरेको प्रयासलाई नागरिक समाज, राजनीतिक दल, निजी क्षेत्र, विभिन्न संघ संस्था एवं सर्वसाधारण पनि सहयोग गरिरहेका छन् । सरकारको आग्रहमा सामाजिक दूरी कायम गर्ने क्रम जारी छ । 

कोरोना संक्रमणविरुद्ध सरकारले चालेको कदमलाई स्वागत गर्दै निजी क्षेत्र, विभिन्न सामाजिक संघ–संस्थाले आफ्नो क्षमताले भएसम्म आर्थिक एवं प्राविधिक सहयोगलाई निरन्तरता दिँदै आएका छन् । नेपालको निजी क्षेत्रको अगुवाइ गरिरहेका नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स एवं नेपाल उद्योग परिसंघले चिकित्सक एवं स्वास्थ्यकर्मीका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), मास्क, स्यानिटाइजरलगायत सामग्री सहयोग गर्दै आएका छन् भने विभिन्न कर्पोरेट क्षेत्रले नगद एवं अत्यावश्यक सामाग्री सहयोग गर्दै आएका छन् । 

कोरोना भाइरस संक्रमण फैलिन नदिन पीपीई, मास्क, स्यानिटाजर, दैनिक अत्यावश्यक खाद्यान्नको उपलब्धता एवं विदेशबाट औषधिलगायत सामग्री आयातका लागि सरकारसँग नजिक बसेर काम गरिरहेको निजी क्षेत्रका अगुवा बताउँछन् । 

नेपाल उद्योग वाणिज्य महासंघ
नेपाल उद्योग वाणिज्य महासंघले ५९ लाख रुपैयाँ नगदसहित १० हजार थान मास्क र २ सय ५० सेट व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सरकारलाई हस्तान्तरण गरेको छ । ९१ लाख रुपैयाँ बराबरको औषधि एवं खाद्यान्न पनि छिटै प्रदान गर्ने महासंघले जनाएको छ । 
 
महासंघ अध्यक्ष भवानी राणाले कोरोना संक्रमणबाट जोगिन र देशलाई जोगाउन सरकारसँग नजिक रहेर महासंघले काम गरिरहेको बताइन् । महासंघका जिल्ला शाखाहरूबाट पनि मास्क, पीपीईलगायत स्वास्थ्यसँग सम्बन्धित सामग्री वितरण भइरहेको पनि उनले बताइन् । 

उनले भनिन्, “महासंघले आपूर्ति व्यवस्थालाई सहज बनाउन एवं अत्यावश्यक उद्योग सञ्चालन के कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि सरकारसँग छलफल गरिरहेका छौं । मेडिकल सामग्री वितरण गर्ने विषयमा पनि छलफल भइरहेको छ,”  उनले भने, “महासंघका केही सदस्यहरूले मास्क पनि उत्पादन गरिरहनुभएको छ ।” उनले जिल्ला–जिल्लामा जनचेतना जगाउने काम पनि गरिरहेको बताइन् ।

नेपाल उद्योग परिसंघ
यस्तै नेपाल उद्योग परिसंघले पनि सरकारलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक सामग्री प्रदान गर्दै आइरहेको जनाएको छ । परिसंघले निजी सुरक्षा उपकरण (पीपीई) सय थान तथा ७५ हजार थान मास्क सरकारलाई प्रदान गरेको छ । 

परिसंघका अध्यक्ष सतिशकुमार मोरले हालको संकटबाट पार पाउन सरकारसँग नजिक रहेर काम गरिरहेको बताए । उनले परिसंघले स्वदेशमै निर्मित गरिएका सामग्री एवं कतिपय विदेशबाट आयात गरिएका सामग्री सरकारलाई सहयोग गरेको बताए । उनले विदेशबाट थप सामान आयात गरी थप आवश्यक सामग्री सरकारलाई उपलब्ध गराउने बताए । उनले भने, “हामी निरन्तर मन्त्रीज्यूसँग छलफलमै छौं, सरकारलाई आवश्यक सामग्री सहयोग गर्न अन्य आपूर्ति व्यवस्थालाई कसरी सहज बनाउने भन्ने विषयमा छलफल गरिरहेका छौं ।” 

नेपाल चेम्बर अफ कमर्स 
नेपाल चेम्बर अफ कमर्सले सुरुदेखि नै कोरोना संक्रमण रोकथाममा प्रयोग हुने उपकरण प्रदान गर्दै आएको छ । चेम्बरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगन्तुकको तापक्रम जाँच गर्ने गन, मास्क, पीपीई र स्प्रे र टेकु अस्पताललाई पनि पीपीई, मास्कलगायत सामग्री प्रदान गरेको अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । चेम्बरको अग्रसरतामा देशमा मास्क अभाव भए पनि मास्क उत्पादन गरिएको र हालसम्म करिब २ लाख मास्क वितरण गरिसकेको उनले बताए ।

चेम्बरको अगुवाइमा चेम्बर उपाध्यक्ष दीपक मल्होत्राले मास्क उत्पादन गरिरहेका छन् । चेम्बर अध्यक्ष श्रेष्ठले भने, “मास्क उत्पादन गरिरहेका छौं भने आपूर्ति सहजीकरणका सरकारसँग सहकार्य गरेर अगाडि बढिरहेका छौं ।” उनले चीनबाट कार्गो गरेर आवश्यक औषधि एवं खाद्यान्न ल्याउने काममा पनि लागिरहेको बताए । “चेम्बरका विभिन्न जिल्लामा रहेका शाखाबाट पनि मास्कलगायत सामग्री वितरण गरिरहेका छौं, यो क्रम जारी छ ।” 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  ११:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro