
काठमाडौं । छिमेकी चीनबाट फैलिएको कोरोना भाइरसका कारण सबैभन्दा बढी पर्यटन क्षेत्र र चीनसँग जोडिएका नाका प्रभावित भएका छन् । चीनतर्फको नाका बन्द हुँदा लामो समयदेखि आयात–निर्यात ठप्प छ । अर्कोतर्फ अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले यात्रुको संख्यामा कमी आउँदा उडान संख्या घटाउँदा त्यसको प्रत्यक्ष मारमा नेपालको पर्यटन क्षेत्र परेको छ ।
नेपालका प्रायः पर्यटकीय स्थान पर्यटक शून्य प्रायः अवस्थामा छन् । काठमाडौंको ठमेल, पोखरा, सौराहा, लुम्बिनीलगायत पर्यटकीय स्थान सुनसानको अवस्थामा पुगेका छन् । सरकारले पछिल्लो सगरमाथासहित हिमाल आरोहणमा समेत प्रतिबन्ध लगाएपछि पर्यटन क्षेत्रमा निकै ठूलो असर पारेको छ । पाँचतारे होटलदेखि सामान्य होटलको अकुपेन्सी ज्यादै न्यून छ ।
अन्तर्राष्ट्रिय उडानसँगै आन्तरिकतर्फको उडान पनि यात्रुको अभावमा प्रभावित भएका छन् । विदेशी विमान कम्पनीहरूले उडान संख्या घटाए पनि मूल्य घटाएका छैनन् । तर, आन्तरिक हवाई सेवा प्रदायकहरूले भाडादर पनि घटाउन थालेका छन् ।
कोरोनाले आन्तरिकतर्फ सेवा र बाह्यतर्फ वैदेशिक रोजगारीको क्षेत्रमा निकै असर पुर्याइसकेको छ । सरकारले हालै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिन बन्दै गरेपछि त्यसको प्रत्यक्ष असर रेमिट्यान्स पर्ने छ भने कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान पनि घट्ने छ । वार्षिक ८ खर्ब बढी विप्रेषण भित्रने गरेकोमा अब यो घट्ने देखिन्छ । वैदेशिक रोजगारीका लागि कहिलेसम्म जान नपाउने अहिल्यै भन्न सकिने अवस्था छैन भने वैदेशिक रोजगारीमा नेपाली रहेका मुलुक पनि कोरोनाबाट प्रभावित भएपछि उनीहरू विदेशमै भए पनि प्रभावित भएका छन् । कतिपय मुलुकले त केही दिनका लागि बिदासमेत दिइसकेका छन् ।
हालसम्मको अवस्थामा पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । यसैका कारण सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगन गरिसक्यो भने विदेशी नागरिकलाई नेपाल प्रवेशमा पनि कडाइ गरिएको छ । सरकारले ८ मुलुकका नागरिकलाई अनअराइभल भिसामा रोक नै लगाइसकेको छ भने अन्य मुलुकका नागरिकलाई पनि नेपाल प्रवेश गर्न सात दिनअघि स्वास्थ्य परीक्षण गरेको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था गरिएको नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षेत्रीले बताए । नेपाल आउनुपूर्व सात दिनअघि स्वास्थ्य परिक्षण गरेको प्रमाणपत्र देखाउन नसके नेपाल प्रवेश गर्न नदिइने उनले बताए ।
नेपाल आउने तयारीमा रहेका पर्यटकहरूले धमाधम बुकिङ पनि रद्द गरिसकेका छन् । होटल एसोसिएसन अफ नेपाल (हान) का अनुसार होटलको अकुपेन्सी ह्वात्तै झरेको छ । पाँचतारे होटलमा बसेका पर्यटक फर्कदै गर्दा आउने पर्यटक भने नभएको व्यवसायी बताउँछन् । नेपाल हवाई उडान गर्दै आएका विमान कम्पनीहरूले धमाधम उडान बन्द गरिसकेका छन् । पछिल्लो समयमा चिनियाँ पर्यटक आउने सिजनको समयमा नै उनीहरू आउन नसक्ने भएपछि चीनबाट नेपालमा उडान सेवा गरेको विमान कम्पनीहरूले करिब ५० प्रतिशत उडान रद्द नै गरिसकेका छन् । यात्रुको संख्यामा कमी आएपछि भाडादर पनि घटाइएको छ ।
कहाँको हवाई भाडा कति
हवाई यात्रुको संख्यामा ह्वात्तै कमी आएपछि स्वदेशी विमान सञ्चालकहरूले आन्तरिकतर्फको भाडादर घटाएका छन् । यद्यपि यो घटेको भाडा दर धेरै न्यून भने नभएको एक ट्राभल्स सञ्चालकले बताए । विमान कम्पनीहरूले काठमाडौं–पोखराको भाडादर २ हजार ५५ रुपैयाँसम्म घटाएका छन् भने पोखरा काठमाडौंको २८ सय ७५ कायम गरेका छन् । यस्तै काठमाडौं–विराटनगर २६ सय ७० र विराटनगर-काठमाडौं ३ हजार ८० न्यूनतम भाडादर कायम गरेका छन् ।
यसैगरी काठमाडौं-भैरहवा २३ सय ५०, काठमाडौं-नेपालगन्ज ३४ सय, काठमाडौं-भद्रपुर २९ सय, काठमाडौं-धनगढी ४२ सय, काठमाडौं-सुर्खेत दुईतर्फी ७ हजार ८ सय कायम गरेका छन् ।
कोरोनाका कारण विदेशी पर्यटक नआउने भएपछि यो क्षेत्रलाई चयानमान बनाउन आन्तरिक पर्यटनलाई प्रोत्साहन दिनुपर्ने माग व्यवसायीहरूको छ । हानका उपाध्यक्ष विनायक शाह पर्यटन व्यवसायलाई चलायमान बनाउन आन्तरिक पर्यटकलाई प्याकेज दिनुपर्ने बताउँछन् । व्यवसायीहरूले पनि आ–आफ्नो तरिकाले प्याकेज ल्याउने तयारी गरिरहेको बताएका छन् ।
सरकारले अनअराइभल भिसामा रोक लगाएपछि यसको असर न्यूनतम आगामी एक महिनासम्म पर्ने व्यवसायी बताउँछन् । त्यस बेलामासम्म पर्यटन क्षेत्र थप संकटमा पर्ने उनीहरूको आशंका छ ।
जीडीपी प्रभावित हुने
पर्यटनसँगै अन्य सेवा क्षेत्र पनि प्रभावित हुँदा त्यसको प्रत्यक्ष असर कुल गार्हस्थ उत्पादनमा समेत पर्ने अर्थविद् बताउँछन् । केन्द्रीय तथ्यांक विभागका अनुसार कुल गार्हस्थ उत्पादनमा प्राथमिक क्षेत्रको २८ प्रतिशत, द्धितीय क्षेत्रको १४ र सेवा क्षेत्रको ५८ प्रतिशत योगदान छ । कोरोनाले कृषि क्षेत्रमा असर नपारे पनि उत्पादनमूलक क्षेत्र र सेवा क्षेत्र धेरै प्रभावित हुँदा त्यसले जीडीपीमा असर पार्ने देखिन्छ ।
सरकारले चालु आर्थिक वर्षमा साढे ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । तर, यो लक्ष्य पूरा नहुने निश्चित प्रायः देखिन्छ । यसै पनि एसियाली विकास बैंकले यसअघि नै ६ प्रतिशतको हाराहारीमै आर्थिक वृद्धि सीमित हुने जनाएको थियो । तर, कोरोनाले अर्थतन्त्रमा असर पार्दा आर्थिक वृद्धि पनि स्वतः प्रभावित हुनेछ ।
विकास निर्माणका काम प्रभावित भइसकेका छन् । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनासहित जलविद्युत् आयोजनामा कामदार र निर्माण सामग्रीको अभाव देखिएको बताइएको छ । तर, यो आयोजना समयमै सम्पन्न हुने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ बताउँछन् । उनले कोरोनाका कारण कामदार र निर्माण सामग्रीको अभाव भएको बताएका छन् ।
विकासका आयोजना प्रभावित हुँदा पुँजीगत खर्च पनि प्रभावित भएको छ भने पुँजीगत खर्च बढ्न नसकेपछि त्यसको असर आर्थिक वृद्धिमा स्वतः पर्नेछ । एसियाली विकास बैंकले कोरोनाका कारण नेपालको अर्थतन्त्रमा न्यूनतम ४ अर्ब रुपैयाँ क्षति पुग्ने बताएको छ भने कोरोनाको असर यसभन्दा बढी नभए पनि आर्थिक वृद्धि ५ प्रतिशत बढ्न नसक्ने अर्थविद् बताउँछन् ।