काठमाडौं । सरकारले कोरोना संक्रमित देशमा रहेका नेपालीहरुलाई उद्धार गरेर क्वारेन्टाइनमा राख्न नसक्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनका अनुसार नै होम क्वारेन्टाइन बस्न भनिएको छ ।
विदेशी नागरिकहरु जो संक्रमित देशहरुबाट आउदैछन्,उनीहरुलाई कोरोना नदेखिएको प्रमाणपत्र ल्याउन माग गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
“विदेशबाट आएका नागरिकले होम क्वारेन्टाइनमा बस्छु भनेर नेपाल सरकारले दिएको फर्म भरेर अर्निवाय १४ दिन बस्नुपर्छ,” उनले भने, “यदि होम क्वारेन्टाइनमा बसेको छैन भने समय-समयमा अनुगमन गर्ने गरिन्छ ।”
प्रत्येक स्थानीय तहमा समन्वय समिति गठन गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । स्थानीय तह र वडास्तरमा समन्वय समिति गठन गर्न मन्त्रालयले उक्त निर्णय संघीय मामिला तथा सामान्य प्रशासनमा पत्र पठाएको बताइएको छ । नेपालमा नोभेकल कोरोना भाइरसको संक्रमणबाट चीनबाट आएका एक नागरिकबाहेक कसैमा नदेखिएको मन्त्रालयको दाबी छ ।
"हाल चार सय ५० जनाको परीक्षण गरेकोमा एक जनामा पोजेटिभ देखियो भने अन्यमा कोरोना देखिएको छैन," मन्त्रालयका प्रवक्ता डा.देवकोटालले दाबी गरे ।
त्यसैगरी विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड १९) को महामारीको घोषणा गरिसकेको छ भने संगठनले एक सय १४ भन्दा बढी देशहरुमा कोरोना भाइरस फैलिएको पुष्टि गरेको छ ।
कुन-कुन देशका नागरिकलाई क्वारेन्टाइन ?
कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई नेपालमा फैलिन नदिन सरकारले आठ मुलुकहरु चीन, इरान, इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेनबाट नेपाल भ्रमणमा आउने विदेशी नागरिक 'अनअराइभल भिसा' स्थगन गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उच्च जोखिम रहेका मुलुकहरुबाट आउने विदेशी पर्यटकहरुले रोग नभएको प्रमाणपत्र लिएर आउनुपर्ने प्रावधान छ ।
४३ नाकामा 'हेल्थ डेस्क'
सरकारले चीन र भारतसँग जोडिएका ४३ नाकाहरुमा 'हेल्थ डेस्क' स्थापना गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन नाकाहरुमा स्थानीय तहले नै स्वास्थ्यकर्मीसहितको 'हेल्थ डेस्क' सञ्चालन गरिएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ती नाकाहरुमा स्वास्थ्यकर्मीहरुले नेपाल प्रवेश गर्ने व्यक्तिहरुको स्क्रिनिङ र स्वास्थ्य परीक्षण कार्य निरन्तर गरिरहेको बताए ।
उनले नेपाल-भारत सीमामा सचेतना तथा सतर्कता अपनाउन र आवश्यक समन्वय गर्नका लागि 'क्रस बोर्डर' मिटिङ गरिरहेको जानकारी दिए ।
एक सय ५५ वटा आइसोलेसन तयारी अवस्था
सरकारले कोरोना भाइरसको संक्रमण भएमा राख्न एक सय ५५ वटा आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो सूचीहरुमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल एपीएफ अस्पताल तोकेको छ भने अन्य प्रादेशिक ३६ वटा अस्पतालहरुको सूचीकरण गरेको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन पूर्वतयारी
सबै अस्पताल शंकास्पद र बिरामीलाई जाँच गर्न छुट्टै कक्षको व्यवस्था ।
प्रादेशिक अस्पतालहरुबाट आईसोलेन वार्ड तयारी ।
आवश्यकता अनुसार प्रयोग गर्न खरिपाटी र नगरकोटको क्वारेन्टाइन स्थल यथावत
भारत र चीनसँग जोडिएका सीमावर्ती प्रवेश नाकाहरुमा आपत्कालीन अवस्थामा क्वारेन्टाइन गर्न आवशयक पर्ने स्थान र संरचनाहरुको योजना ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा दैनिक सूचनासहितको स्वास्थ्य बुलेटिन सार्वजनिक
कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलिएको अवस्थामा के गर्ने ?
कोरोना भाइरस (कोभिड १८) बाट प्रभावित देशहरुमा नेपालबाट हुने हवाई उडान महामारी अवधिभरका लागि स्थगन गर्ने
स्थलगत आवागमनका अन्तराष्ट्रिय नाकारहरु बन्द गर्ने
देशभरका सबै अस्पताल तथा स्वास्थ्यसंस्थामा संक्रमितको प्रभावकारी उपचारका लागि जनशक्ति आवश्यक उपकरण तथा प्रविधिको अधिकतम परिचालन गर्ने ।
'पकेट एरिया लकडाउन' गर्ने, जस्तै गाउँ, वडा, टोल, पालिका, जिल्ला, प्रदेश आदि छन् ।