site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 नेपाली फुटबलको त्यो कालो दिन
SkywellSkywell

काठमाडौं । नेपाली समर्थकमा ऊर्जामय फुटबलप्रतिको मोह । ४० को दशकमा अहिलेको तुलनामा केही धेरै । अन्य समयमा जे–जस्तो भए पनि राम्रो खेल हुँदा रंगशालामा दर्शकको कमी कहिल्यै भएन । 

२०४४ सालमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको त्रिभुवन च्यालेन्ज सिल्ड कप फुटबल प्रतियोगिताको सुरुवाती खेलदेखि नै दर्शकको उत्साहजनक सहभागिता थियो । सुरुवाती खेलमा उत्साहजनक उपस्थित हुने रंगशालमा फाइनल खेलको दिन दर्शक भरिभराउ थिए । प्यारापिटमा रहेका दर्शकहरूमा फुटबलप्रतिको माया र खेलप्रतिको मोहबाहेक अन्य कुरामा ध्यान थिएन । 

भलै भोक–तिर्खा लागोस् दर्शकहरू आधा खेल छाडेर बाहिर निस्कने अवस्थामा थिएनन् । किनकि फाइनल खेलमा दुई बलिया टोली जनकपुर चुरोट कारखाना र बंगलादेश मुक्तिजोधा प्रतिस्पर्धा गरिरहेका थिए । 

KFC Island Ad
NIC Asia

निकै प्रतिस्पर्धात्मक खेलमा बंगलादेश मुक्तिजोधाले जनकपुर चुरोट कारखानाविरुद्ध १–० गोलको अग्रता बनाएको थियो । दिउसो २ः३० बजे सुरु भएको खेलको १७औँ मिनेटमै बंगलादेशी टोलीले गोलको अग्रता बनाइसकेको थियो । दोस्रो हाफमा भने खेलले अर्कै रूप लियो । 

खेलाडीहरू मैदानमै रहँदा दिउँसो ३ बजे अचानक आँधी–हुरीसँगै पानी पर्न थाल्यो । खेलमा खेलाडीको ध्यान र खेलाडीप्रति दर्शकको आकर्षणले विपरीत रूप लियो । सबैलाई आफू बच्ने र समर्थकहरूले दर्शकदीर्घा छाड्ने प्रतिस्पर्धा हुन थाल्यो । 

Royal Enfield Island Ad

प्यारापिटमा भएका दर्शक बाहिर निस्कन लागे । रंगशालाका सबै ढोकाका ग्रिलगेटमा चाबी ठोकिएको थियो । जसकारण ढोकाबाट बाहिर निस्कन चाहने दर्शकले ज्यान गुमाउनुपर्यो । तर बारबाट बाहिर निस्कने दर्शक भने सकुशल थिए । 

उक्त खेल हेर्नलाई त्यहाँ पुगेका थिए गोरखापत्रका खेल पत्रकार केशव पौडेल ।

त्यो घटना सम्झँदै केशव भन्छन्, “जनकपुरले बल बंगलादेशको डी–एरियामा पुर्‍याएको थियो । अचानक हावाहुरी आयो । भागदौड मच्चियो । केशव ग्यालरीबाट भित्र छिरेर तल झरेर भित्रै बसे ।”

फाइनल खेल दोस्रो हाफमै रोकेर दुवै टोलीलाई विजेता घोषणा गरियो । खेलाडीहरूलाई आफ्नो उपाधिभन्दा प्यारो दर्शकको माया थियो । दर्शकहरू खचाखच भरिएको रंगशालामा बाहिर पनि दर्शकहरू पनि टिकट हातमा लिएर बसिरहेका थिए । रंगशालाको सुरक्षार्थ खटिएका व्यक्तिहरूले धेरै मान्छे भएको भन्दै आधा समर्थकलाई बाहिर राखेका थिए । 

“हावाहुरी कम भएपछि म बाहिर निस्किँदा रंगशालाको गेटनजिकै शव यत्रतत्र छरिएका थिए । त्यो दृश्य देखर मनै खिन्न भयो । केही समयअघि खेलमा रमणीय बनेको रंगशाला छिनभरमै मसानघाटमा परिणत भयो,” केशवले कालो दिनलाई सम्झिए । 

रंगशालाको त्यो दृश्यले उनलाई त्यहाँ बस्ने माहोल बनाएन उनी अफिस फर्किए । उनी अफिस पुग्नेबित्तिकै केशवलाई सम्पादकले वीर अस्पताल जान भने । त्यहाँ झनै कारुणिक दृश्य । घाइतेहरूको दर्दानक दृश्य र आफन्तको विलापले अस्पताल मसानघाटजस्तो भएको थियो । अस्पतालका शव र घाइतेलाई लाइन लगाएर राखिएको थियो । घाइतेहरूलाई ओसार्न एम्बुलेन्स व्यस्त थियो ।  

सरकारले घटना हुनुको कारण पत्ता लगाउन न्यायाधीशको अध्यक्षतामा छानबिनका लागि ‘लम्साल आयोग’ गठन गरेको थियो । उक्त छानबिन अयोेगमा प्रत्यक्षदर्शीको नाताले केशवले पनि बयान दिए । 

“रंगशालाको आपतकालीन द्वार बन्द थियो र खोल्न खोज्दा नखुलेपछि भागदौडमा च्यापिएर मृत्यु भएको मैले बयान दिएको थिएँ,” केशव सुनाउँछन् । रंगशालामा भएको उक्त भागदौडमा ७१ जनाले ज्यान गुमाए । जनामा दुईजना नेपाल पुलिसका सुरक्षाकर्मी पनि थिए । घटना विश्व फुटबलका शीर्ष पाँच दुर्घटनामध्ये पर्छ । 

त्यही घटनाका कारण तत्कालीन शिक्षामन्त्री केशरबहादुर विष्टले नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएका थिए । केही दिनअगाडि केशरबहादुरलाई उनको निवासमै भेट्दा त्यो बेलाको घटना सम्झँदा अहिले पनि मन कुड्याउँदै घटनाको विस्तृत रूपमा सुनाउँदै थिए । रंगशालामा उक्त घटना हुँदा मन्त्री विष्ट लामाटारको श्रृंगेरीमा विद्यालयमा श्रमदानका लागि गएका थिए । 

“त्यस दिन म लामाटरको श्रृंगेरी विद्यालयमा थिएँ । दिउँसोको समयमा अकस्मात मौसममा परिवर्तन आएर हावाहुरी चल्न लाग्यो र मानिसहरूको भागाभाग भयो,” मन्त्री विष्टले भने ।

हावाहुरीको कारण लामाटार आसपासका धेरैवटा घरका छाना ढले अनि ठूलाठूला रुखले बाटो छेक्यो । म लामाटरमै रोकिन पुगें । उनी अड्किए कुरा कताबाट ललितपुरका सीडीओको कानसम्म पुग्यो र उनले तत्काल एक फौज मानिस लामाटारतर्फ पठाए । 

एक फौज मानिसले बाटोमा ढलेका रुखहरू बन्चरो र हँसियाको भरमै हटाउँदै विष्टलाई इमाडोलसम्म ल्याइपुर्‍याए । उनी भन्छन्, “फर्किंदा पो थाहा पाएँ लामाटरदेखि इमाडोलसम्मको बाटोमा १५ वटाभन्दा बढी अजङ्गका रुखहरूले बाटो छेकेका रहेछन् ।”

“इमाडोलनेर आइपुगेपछि मात्र प्रहरीहरूले दशरथ रंगशालामा हावाहुरीको कारण सयौँ मानिस हताहत भएको कुरा सुनाए,” त्यसपछाडि सीधै वीर अस्पताल पुगेको सुनाउँदै केशर भन्छन्, “म वीरमा पुग्दा त ६१ जनाको मृत्यु भइसकेको रहेछ त्यो संख्या बढेर ७१ पुग्यो ।”

केशरबहादुरलाई त्यस दिनको घटना सम्झँदा त्यसको कारण त्यहाँको संरचना नै भएको बताउँदै भन्छन् “टिकट नभएको मानिसभित्र पस्ने भएको कारण एकजना मात्र भित्र छिर्ने ढोका बनाइएको रहेछ । माथि र तल साङ्लोले बाँधेर ढोका खोल्न नमील्ने बनाइएको रहेछ ।” त्यसरी ढोका बन्द पहिलेको खेलमा पनि गरिएको थियो । सानो प्वाल भएको ढोका पनि सफा नगरेका कारण सानो ठाँउबाट धेरै जना मानिस बाहिर निस्कन नसक्दा दुर्घटनामा बढी क्षति भएको उनको बुझाइ छ । 

खेलअघि आपतकालीन अवस्थामा अपनाउनुपर्ने सावधानी पनि नअपनाइएको भन्दै विष्ट भन्छन्, “दशौ हजार मानिस भएको खेलमा आपतकालीन अवस्थामा के गर्ने भनेर नसोचेको कारण दुर्घटना भएको हो ।” उसो त कसैले त्यस्तो दुर्घटनाबारे सोचेका समेत थिएनन् । “मैले यहाँ मन्त्री पदबाट राजीनामा दिए तर उता केही भएन भनेर धेरैले हाँसोको पात्र बनाए,” मन्त्री विष्टले राजीनामा दिएको क्षणलाई सम्झिए । 

“म राजा वीरेन्द्रलाई राजीनामा दिन पत्र लिएर गएँ । तर राजाले उनलाई राजीनामा नदिन सुझाए । तिमीले हुरी बतास ल्याएका होइनौ राजीनामा नदेऊ भनेका थिए,” विष्टले सुनाए । 

उक्त घटना एन्फाका तत्कालीन अध्यक्ष कमल थापाले पनि नैतिकताका आधारमा राजीनामा दिएका थिए । प्रतियोगितामा एन्फाका पूर्वअध्यक्ष गणेश थापा पनि थिए । उनको टोली पहिले नै प्रतियोगिताबाट बाहिरिएको थियो । 

उक्त घटना भएको केही वर्षपछि गणेश थापा अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष नै बने । “उक्त घटना हुदा म स्टेडियममै थिए । एक्कासि हावाहुरी र पानी पर्न लागे पनि म सुरक्षित हुन लागें तर स्टेडियमबाट बाहिर निस्कन खोज्ने मानिस भने धेरै किचिएर ज्यान गुमाएछन् । त्यो कुरा मैलै बाहिर एम्बुलेन्स आएपछि मात्र थाहा पाएँ । पछि उनीहरूसँगै अस्पताल पनि पुगें । अस्पताल पुग्दा धेरैले नै ज्यान गुमाएको र घाइते भएका रहेछन्,” थापाले सम्झिए ।

थापा प्यारापिटको भर्‍याङमा प्वाल हुँदा पनि समस्या भएको बताउँछन् । ‘त्यो प्वालमा खुट्टा अड्किएर पनि धेरैजना लडेका थिए । लामो समय एन्फाको नेतृत्व गरेका थापा भन्छन्, “उक्त दर्दनाक घटनाको आफैंले भोगेको कारण एन्फाको नेतृत्व आफूले गर्दा त्यस्तो घटना नदोहोरियोस् भनेर पूर्वाधारमा धेरै सुधार ल्याएँ ।”
दशरथ रंगशालामा भएको उक्त घटनाकै कारण फागुन २९ गतेलाई फुटबल क्षेत्रमा  कालो दिनका रूपमा स्मरणसमेत गरिन्छ ।

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६  ०९:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro