
काठमाडौं । नेपालमा पहिलोपटक यूसीआई पम्प ट्रयाक विश्व च्याम्पियनसिपको छनोट प्रतियोगिता आयोजना हुने भएको छ । हिमालयन सिंगल ट्रयाक र जिरो लेभल एमटीभी स्कुलले यही जेठ १७ गते ललितपुरस्थित पम्प ट्रयाक सेन्टरमा उक्त छनोटको आयोजना गर्न लागेको हो । प्रतियोगितालाई युनियन साइक्लिस्ट इन्टरनेसनल (यूसीआई) र नेपाल साइक्लिङ संघसँगको मान्यता दिएको छ ।
प्रतियोगितामा नेपाल, जापान, भारत, भुटान, अस्ट्रेलियाका गरी १२० खेलाडीको सहभागिता रहनेछ । खेलाडीहरूले एलिट, मास्टर्स, जुनियर्स, युथ र किड्स गरी चारवटा इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछन् । मुख्य विधाको रूपमा रहेको एलिटतर्फ पुरुष र महिला गरी दुई/दुई खेलाडी अर्को वर्ष स्विट्जरल्यान्डमा हुने विश्व च्याम्पियनसिपमा छनोट हुनेछ । त्यसमध्ये विजेता दुई खेलाडीको सम्पूर्ण खर्च आयोजकले ब्यहोर्ने आयोजक हिमालयन सिंगल ट्रयाकका सहमालिक जेनी कन्टले बुधबार आयोजित पत्रकार सम्मेलनमा बताइन् ।
प्रतियोगिता आयोजनालाई साथ दिएको हिमालयन राइडर्स क्लबका अध्यक्ष राज ज्ञवालीका अनुसार, नेपाली खेलाडीहरूको प्रदर्शन विश्वस्तरीय रहेको र उनीहरूको छनोट हुने सम्भावना बढी रहेको छ ।
छनोट प्रतियोगिता आयोजनाका लागि र ललितपुर महानगरपालिकाले सहकार्य गरेको छ । पम्प ट्रयाक रेसिङ साइक्लिङको निकै चर्चित विधा हो । यसमा खेलाडीहरूले विशेष रूपमा बनाइएको ट्रयाकमा प्याडल नगरी आफ्नो तौलको चाल प्रयोग गरेर पम्प गर्दै रेस अगाडि वढाउने गर्छ । सन् २०२२ मा विश्व च्याम्पियनसिपको प्रायोजक रहेको भेलोसोलुसनले ललितपुर–१ मा निर्माण गरेको थियो ।