
काठमाडौं । छिमेकी चीनबाट फैलिएको कोरोना भाइरसको प्रकोपबाट ८४ भन्दा बढी मुलुक प्रभावित भइसकेका छन् । यसको त्रासले विश्वका बाँकी मुलुकलाई पनि सशंकित बनाएको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई कुनै पनि मुलुकले सामान्य रुपमा नलिन चेतावनी दिएको छ भने यसको असर विश्वभर फैलिएपछि विश्व बैंकले ती प्रभावित मुलुकलाई १४ खर्ब बराबरको सहयोग गर्ने घोषणा पनि गरिसकेको छ ।
कोरोना भाइरसले नेपाली जनमानसमा पनि डर उत्पन्न गराएको छ । त्यसैले सरकारले कोरोना अति प्रभावित मुलुकहरु चीन, जापान, दक्षिण कोरिया, इटली र इरानी नागरिकलाई भिसामा कडाइ गरेको छ भने ६० भन्दा बढी प्रभावित मुलुकमा अध्ययन गर्न जान चाहेका नेपाली विद्यार्थीलाई एओसी दिन बन्दै गरिसकेको छ ।
विश्वका आर्थिक रुपमा शक्ति सम्पन्न मुलुकहरु प्रभावित हुँदा हाम्रो जस्तो सानो र आयातमुखी अर्थतन्त्र प्रभावित नबन्ने कुरै भएन ।
सरकारले कोरोना भाइरस भित्रन नदिन प्रयास गरे पनि यसले सामाजिक, आर्थिक क्षेत्रमा भने असर पारिसकेको छ ।
कोरोनाले नेपाली अर्थतन्त्रमा पनि बहुआयामिक असर पारिसकेको व्यवसायी बताउँछन् ।
यसले पर्यटन, विकास आयोजना, वैदेशिक रोजगार, व्यापारसहित स्वास्थ्य, शिक्षा क्षेत्रमा असर पारिसकेको छ । यसले संकुचित अर्थतन्त्रमा थप संकुचन ल्याउने अर्थविद्हरु बताउँछन् ।
चीनबाट हुने आयात निर्यात १ महिनाभन्दा बढी दिनदेखि ठप्पै छ । पर्यटन, निर्माण परियोजना प्रभावित भइसकेका छन् । कुन क्षेत्रमा कस्तो असर परिसक्यो ।
पर्यटन क्षेत्र अस्तव्यस्त
देशको आर्थिक समृद्धि, रोजगारी सिर्जना गर्ने प्रमुख आधार हो, पर्यटन क्षेत्र । हालसम्मको स्थितिमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको क्षेत्र पनि पर्यटन नै हो ।
यसैका कारण सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगन गरिसक्यो भने विदेशी नागरिकलाई नेपाल प्रवेश गर्न पनि कडाइ गरिसकेको छ ।
कोरोना छिमकी मुलुक चीनबाट फैलिएका कारणले प्रभावित नभए पनि त्यसको असर नेपालको पर्यटन क्षेत्रमा परेको हो ।
जसका कारण नेपाल आउने तयारीमा रहेका पर्यटकहरुले धमाधम बुकिङ रद्ध गरिसकेका छन् ।
होटल एसोसिएसन अफ नेपाल (हान) का अनुसार होटलको अकुपेन्सी ह्वात्तै झरेको छ । पाँचतारे होटलमा बसेका पर्यटक फर्कँदै गर्दा आउने पर्यटक भने नभएको व्यवसायी बताउँछन् ।
सरकारले चीन, जापान, दक्षिण कोरिया, इरान र इटालीबाट आउने पर्यटकलाई ‘अनअराइभल भिसा’ नदिने निर्णय लिएसँगै अन्य देशका नागरिक पनि नेपाल भ्रमणमा आउन सक्ने देखिँदैन ।
नेपाल हवाई उडान गर्दै आएका विमान कम्पनीहरुले धमाधम उडान बन्द गरिसकेकाले पनि अबको केही दिनमा पर्यटक ठप्प प्रायः हुने व्यवसायी बताउँछन् ।
कोरोनाले विदेशी पर्यटक नआउने भए पनि पर्यटन व्यवसायलाई चलायमान बनाउन आन्तरिक पर्यटकलाई प्याकेज दिने तयारीमा पर्यटन व्यवसायीहरु लागेका छन् ।
विकास आयोजना रोकिए
देशका धेरै विकास आयोजना पनि प्रभावित भइसकेका छन् ।
विशेषगरी चिनियाँ ठेकेदारले जिम्मा लिएका विकास आयोजना प्रभावित भएका हुन् । यसबाट सबैभन्दा बढी प्रभाव जलविद्युत र प्रसारणलाइन निर्माणमा परेको छ ।
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ चिनियाँ ठेकेदारले जिम्मा पाएका आयोजना प्रभावित भएको बताए ।
उनले प्राधिकरणको आयोजना मात्र नभई निजी क्षेत्रका आयोजना समेत प्रभावित भएको जानकारी दिए ।
विशेषगरी प्रसारणलाइनमा असर परेको उनले बताए ।
चिनियाँ नयाँ वर्ष मनाउन गएका चिनियाँ कामदार त्यसपछि काममा फर्किएका छैनन् ।
राजमार्गको विस्तार, जलविद्युत आयोजना, प्रसारणलाइनलगायतका धेरै आयोजनामा चिनियाँहरु संलग्न छन् ।
यसले आयोजना समयमै नबन्ने हुँदा पुँजीगत खर्च पनि प्रभावित हुनेछ ।
रेमिट्यान्स प्रभावित हुँदै
घट्दो दरमा रहेको रेमिट्यान्सलाई कोरोनाले थप प्रभावित पार्ने देखिएको छ ।
मध्यपूर्वी देशमा कोरोनाको संक्रमण फैलिदै जाँदा वैदेशिक रोजगार पनि जोखिममा परेको छ ।
कोरोनाबाट विश्व त्रसित हुँदा कतिपय नेपालीले रोजगारी पाइरहेका मुलुकले विदेशी कामदार लगेका छैनन् भने कतिपय देशले विदेशी कामदार समेत फिर्ता पठाउन थालेका छन् ।
रोजगारीको सिलसिलामा धेरै नेपाली भएका मुलुकहरु कतार, यूएई, मलेसिया, ओमान, कुवेत, बहराइन, इजरायलदेखि दक्षिण कोरिया र जापान पनि कोरोनाबाट संक्रमित छ ।
ती सबै मुलुकहरुमा करिब ४५ लाख नेपाली रहेको अनुमान छ । सरकारले दक्षिण कोरियामा श्रमिक पठाउँन रोकिसकेको छ । सरकारले श्रम स्वीकृती नरोकिसकेको भए पनि संक्रमण बढ्दै गए त्यो पनि रोक्न सक्नेछ ।
केन्द्रिय बैंकको तथ्यांकअनुसार रेमिट्यान्सको दर घट्दो क्रममा छ ।
वैदेशिक रोजगार नै प्रभावित हुँदा रेमिट्यान्सले धानिएको नेपाली अर्थतन्त्रमा ठूलो धक्का पुग्ने वरिष्ठ अर्थशास्त्री प्राध्यापक डाक्टर विश्वम्भर प्याकुर्याल बताउँछन् ।
महंगी र अभाव
कोरोनाका कारण चीनसँगको व्यापार ठप्प छ । लामो समयदेखि चीनसँगका सबै नाका ठप्प हुँदा कपडा, विद्युतीय उपकरणजस्ता चिनियाँ सामाग्री आउन सकेका छैनन् ।
सामान नआउँदा त्यस्ता बस्तुहरुको मूल्य बढ्न थालिसकेको छ ।
विद्युतीय उपकरण, सजावटका समान, खेलकुद तथा स्टेसनरी, दूरसञ्चार उपकरणसहित विभिन्न उद्योगका लागि मेसिनरी सामाग्रीसहित अन्य वस्तु तथा खाद्यान्न चीनबाटै आउने गरेका छन् ।
बुधबार मात्रै भारतले विभिन्न २६ प्रकारका औषधि निर्यातमा रोक लगाउँदा नेपालमा औषधि अभाव र मूल्य बढ्न सक्ने व्यवसायी बताउँछन् ।
कोरोनाकै कारण डलरको भाऊ बढ्दै जाँदा आयातित वस्तुको भाउ बढ्ने नै भयो भने सुनको भाउ बढेर तोलाको ८० हजार नाघिसकेको छ ।
चीन, भारतसहित अन्य मुलुकमा पनि कोरोना फैलिदाँ जाँदा बाह्य व्यापार समेत प्रभावित हुने अवस्था देखिएको छ ।
जसले अभाव हुँदा महंगी स्वतः बढ्ने छ भने न्यून आय भएका उपभोक्ता बढी प्रभावित हुनेछन् ।
आर्थिक बृद्धि पाँच प्रतिशत पुगे भाग्य
आन्तरिक विभिन्न कारणले लक्ष्य अनुसारको आर्थिक बृद्धि नहुने देखिएका बेला कोरोनाले आर्थिक बृद्धिलाई निकै खुम्च्याउने अर्थविद् बताउँछन् ।
अर्थविद् प्याकुर्याले पाँच प्रतिशत आर्थिक बृद्धि भए भाग्यमानी मान्नुपर्ने बताउँछन् ।
अर्का अर्थविद् डा. गोविन्द थापा आर्थिक बृद्धि लक्ष्य अनुसार हासिल हुन नसक्ने स्पष्ट भएको भन्दै सरकारले कोरोनालाई दोष दिएर उम्कन पाउने अवस्था आएको बताउँछन् ।
उनले भने, “सरकारको नीतिका कारण नै आर्थिक बृद्धि लक्ष्यअनुसार पुग्ने अवस्था थिएन । अहिले कोरोनाले त्यसलाई थप बल दिएको छ ।’’
नेपाल राष्ट्र बैंकले पनि चालु आर्थिक वर्षमा कोरोनाकै कारण लक्ष्य अनुसार आर्थिक बृद्धि हासिल हुन नसक्ने जनाएको छ ।
विश्व अर्थतन्त्रमा आएको सुस्ततासँगै कोरोनाका कारण अन्तर्राष्ट्रिय बजार प्रभावित हुँदा विप्रेषण आप्रवाह पनि प्रभावित देखिएको केन्द्रिय बैंकले जनाएको छ ।
अर्थविद् प्याकुर्यालले धान, गहुँ र मकैको उत्पादन कम हुँदा आर्थिक बृद्धिमा कृषि क्षेत्रको योगदान पनि घट्ने बताए ।
विश्वका ठुला अर्थतन्त्र भएका मुलुक समेत कोरोनाबाट प्रभावित हुँदा ती मुलुकहरुको अर्थतन्त्र समेत प्रभावित बनिसकेका छन् ।
जसको असर विश्व अर्थतन्त्रमा परिसकेको छ । सोही कारण विश्व बैंकले आफ्ना सदस्य प्रभावित मुलुकहरुलाई सहयोग घोषणा गरेको छ ।
वरिष्ठ अर्थशास्त्री प्याकुर्याल कोरोना मुलुकको अर्थतन्त्रलाई तत्कालिन मात्र नभई दीर्घकालिन रुपमा समेत असर पार्नेतर्फ उन्मुख भईसकेको बताउँछन् ।
कोरोनाले पार्ने असरको तत्काल अध्ययन गरी बजेटको व्यवस्था गर्नुपर्ने उनले बताए ।
आन्तरिक उत्पादनले धान्न नसक्ने अवस्थामा व्यापार प्रभावित हुँदा त्यसले न्यून आय भएका सर्वसाधारणलाई थप समस्यामा पार्ने उनको भनाई छ ।
उनले कोरोनाकै कारण सन् २०२२ सम्म विकासशिल मुलुकमा स्तरोन्नती हुने नेपालको चाहनालाई असर पारिसकेको बताए ।
यसको असर बढ्दै गए महंगी, अभाव पनि बढ्दै जान सक्ने भएकाले साना तथा मझौला उद्योगलाई उत्पादन बढाउन सरकारले प्रोत्साहित गर्नुपर्नेमा उनले जोड दिए ।
यस्तै अर्का अर्थविद् डा. थापा कोरोनाले अर्थतन्त्रलाई सुकाउनेतर्फ गएको बताउँछन् । “सरकारले ल्याएका कतिपय नीतिले अर्थतन्त्रलाई सुकाउँदै लगेको अवस्थामा कोरोनाले अर्थतन्त्रमा झन ठुलो मार पर्ने भयो । आयात रोकिएको छ, त्यसले राजस्व नउठ्ने भयो, व्यापार नभएपछि करदाताले कसरी राजस्व तिर्ने, सरकारले राजस्व नपाएपछि कसरी खर्च गर्ने’’ उनले भने, “यसले अर्थतन्त्रलाई नाजुक पार्ने भयो ।’’
अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भइसकेको भन्दै उनले रिफाइनान्स गर्ने लगायतका काम गर्नुपर्ने बताए ।