काठमाडौं । कोरोना संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पाँच जनालाई भर्ना गरिएको छ ।
उक्त अस्पतालमा चारजनालाई आइतबार र एक जनालाई सोमबार गरी पाँच जनालाई भर्ना गरिएको हो । उनीहरुको कोरोनाको रिपोर्ट परीक्षण भइरहेको र भोलि आउने बताइएको छ ।
अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले उनिहरुको नमुना संकलनको रिपोर्ट आज आउने बताएका थिए । तर, आज चीनको वुहानबाट उद्धार गरेर ल्याएर क्वारेन्टाइनमा रहेका १७५ जनाको नमुना परीक्षणको रिपोर्ट सार्वजनिक गरेर घर पठाउनु पर्ने भएकाले ढिलो भएको प्रवक्ता बास्तोलाले बताए ।
उनले भने, "हिजो चीनबाट आएका एक र कोरियाबाट आएका तीन जना भर्ना गरिएकोमा आज थप १ जना कोरियाबाट आएका गरी पाँच जनालाई आइसोलेसनमा भर्ना गरिएको छ ।" राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले मंगलबार दिउँसो पाँचैजनाकै रिपोर्ट आउने समेत जनाएको छ ।"
(डब्लुएओ)ले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिममा परेको बताएपछि सरकारले उच्च सतर्कता अपनाएको छ । कोरोना संक्रमित मुलुकका लागि अन अराइभल भिसा रोक लगाउनुका साथै कुनै पनि नेपालीलाई अत्यावश्यक कामबाहेक विदेश नजान आग्रह गरेको छ ।
हालसम्म विश्वभरी कोरोना संक्रमणबाट तीन हजारको मृत्यु भइसकेको छ भने करिब ९० हजारलाई संक्रमण भएको छ । नेपालमा पनि यसअघि एकजनालाई कोरोना संक्रमण भएको थियो भने आशंका गरिएका दुईजना विदेशी नागरिक भने अस्पतालबाटै भागेका थिए ।