
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा सहमतिबाट पदाधिकारी चयन गर्न पूर्वअध्यक्षहरूले पहल थालेका छन् । त्यसको नेतृत्व पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले गरेका छन् । उनकै आग्रहमा बिहीबार साँझ र शुक्रबार बिहान पूर्वअध्यक्षहरूको बैठक बस्यो ।
महासंघका पूर्वअध्यक्षहरू महेशलाल प्रधान, पद्म ज्योति, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदवहादुर श्रेष्ठ, कुशकुमार जोशी र सुुरज वैद्यबीच छलफल भएको हो । छलफलमा सबै पूर्व अध्यक्षहरू सहमतिका आधारमा वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्ष चयन गर्ने पक्षमा एक भएका छन् । त्यसका लागि थप छलफल गर्न र सहमतिको वातावरण बनाउन पूर्वअध्यक्षद्वय प्रधान र श्रेष्ठलाई जिम्मेवारी पनि दिएका छन् ।
देशको राजनीतिक एवं आर्थिक परिस्थितिले पनि महासंघलाई एकताका साथ अगाडि बढाउनुपर्ने आवश्यकता रहेको पूर्वअध्यक्षहरूको मत छ । निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएपनि चुनावले उद्योगी÷व्यवसायीलाई विभाजन गर्न सक्ने र राजनीति हावी हुने चिन्ता उनीहरूमा छ ।
महासंघलाई एक बनाएर अगाडि बढाउन सहमतिको आवश्यकता रहेको पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले बताए । “अहिलेको अवस्थामा महासंघलाई एक जुट बनाएर अगाडि लैजानुपर्ने छ” उनले भने, “वरिष्ठ मात्रै होइन सबै पदाधिकारीमा सहमति गर्नुपर्छ ।”
पूर्व अध्यक्ष श्रेष्ठ सुरुवाती समयदेखि नै महासंघमा सर्वसम्मतीबाट पदाधिकारी छानिनुपर्ने बताउँदै आएका छन् । महासंघमा यसअघि पनि सर्वसम्मतिबाट अध्यक्ष चानिएको उदाहरण छन् । पूर्व अध्यक्ष रविभक्त श्रेष्ठले तत्कालिन समयमा प्रदीपकुमार श्रेष्ठलाई अध्यक्ष छाडेका थिए । प्रदीप कुमार श्रेष्ठ पछि उनी अध्यक्ष भएका थिए । यस्तै चण्डीराज ढकाल पनि सर्वसम्मत महासंघको अध्यक्ष भएका थिए ।
महासंघको विधानअनुसार यसपटकको निर्वाचन अध्यक्ष नभई वरिष्ठ उपाध्यक्षका लागि हुन लागेको हो । जो यसपटक वरिष्ठ उपाध्यक्षमा निर्वाचित वा सहमतिका आधारमा चयन हुनेछन्, उनी नै शेखर गोल्छा पछि महासंघको अध्यक्ष बन्नेछन् । यस्तै तीन उपाध्यक्षको पनि निर्वाचन हुन लागेको हो ।
वरिष्ठ उपाध्यक्ष पदका लागि हालका उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन् । उनीहरूले प्यानलसहित नै निर्वाचन लड्न लागेका हुन् । प्यानलसहित निर्वाचनमा जाँदा महासंघ एक ढिक्का हुन नसक्ने र सरकारसँग निजी क्षेत्र बलियो रुपमा प्रस्तुत हुन नसक्ने भन्नेमा पूर्व अध्यक्षहरू एक मत देखिन्छन् ।
महासंघमा वरिष्ठ उपाध्यक्ष बनाउन केही पूर्व अध्यक्षहरू खुलेर लबिइङमा लागेका छन् भने केही पूर्वअध्यक्षहरू सहमतिको वातावरण बनाउन लागेका हुन् । महासंघलाई शसक्त बनाउन सहमतिबाट पदाधिकारी छान्नुको विकल्प नभएको पनि पूर्वअध्यक्ष श्रेष्ठले बताए ।
विधान संशोधनको विपक्षमा पनि थिए पूर्व अध्यक्षहरू
केही समयअघि महासंघको विधान संशोधन गरी सिधै अध्यक्ष निर्वाचित गर्ने व्यवस्था गर्न लागिएको थियो । तर, त्यसमा पनि पूर्वअध्यक्षहरू विपक्षमा उभिएका थिए । महासंघको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष निर्वाचित भई अध्यक्ष भएकी थिइन्, वर्तमान अध्यक्ष भवानी राणा । तर, राणाको कार्यकालमै विधान संशोधन गरी पुनः अध्यक्ष नै निर्वाचित गर्नुपर्ने व्यवस्था गर्न रस्साकस्सी नै चलेको थियो । एकजना व्यक्तिका लागि पटक–पटक विधान संशोधन गर्न नहुने र त्यसले महासंघको गरिमा घटाउने भन्दै व्यापक विरोध भएको थियो । त्यसमा पूर्वअध्यक्षहरू एकजुट भएर विधान संशोधनको विपक्षमा उभिएपछि विधान संशोधन हुन पाएको थिएन ।
कसका लागि सहमति ?
पूर्वअध्यक्षहरू सहमतिको प्रयासमा लागि रहेका बेला महासंघको आगामी उपाध्यक्षमा उमेद्वारको तयारी गरिरहेका दुईजनाले भने सहमति हुन नसक्ने दाबी गरे । उनले प्रश्न गरे, “कसका लागि सहमति गर्ने ?” उनले केही व्यक्तिलाई अगाडि ल्याउन सहमति हुन नसक्ने बताए । “आफू आए मात्रै सहमति भन्ने देखिन्छ” उनले भने, “उमेद्वार बन्न लागेको कुनै एक व्यक्तिले किन अर्कालाई छोड्ने ?”
यद्यपि उनले सबैको एउटै स्वर भए परिस्थिति फेरिन सक्ने पनि बताए । महासंघको वार्षिक साधारणसभा आगामी चैत २८ र २९ गते काठमाडौंमा हुँदै छ ।