अलिकति
यदि बाँच्यो भने
त्यही बाँच्नेछ
हामी सबैमा अलिकति– मानिस
जो धम्कीसामु डराउँदैन
आफ्ना नानीहरुको नम्बर बढाउन
मास्टरको घर जाँदैन,
जो सडकमा घाइतेलाई सारा काम छाडेर
सबैभन्दा पहिला अस्पताल पु¥याउने काम गर्छ,
जो आफ्नो अघिल्तिर भएका
झगडाबारे बोल्न डराउँदैन–
त्यही अलिककति– मानिस–
जो धोकामा पर्छ तर प्रेम गर्न छाड्दैन,
जो आफ्नी छोरीको नयाँ फ्रकका लागि
अर्को बच्चालाई थोत्रो लगाउन बाध्य पार्दैन,
जो दूधमा पानी मिसाउन हिच्किचाउँछ,
जो आफू रुख्खासुख्खा खाएर अरुको सुखबारे सोच्छ,
त्यही अलिकति– मानिस–
जो बूढोसँग बस्नुपर्दा दिक्क मान्दैन
जो आफ्नो घरलाई गोदाम हुन दिँदैन,
जो दुःखलाई सुखमा बदल्ने बाध्यतामा दुःखी हुन्छ
र, दुनियाँलाई नरक बनाउन अरुलाई उक्साउँदैन
त्यही अलिकति– मानिस–
जसलाई थाहा छ कि
वृक्ष आफ्नो पातबाट गाउँछ एउटा हरियो गीत
आकाश लेख्छ नक्षत्रहरुको झिलिमिलिमा
एक दीप्त वाक्य,
पक्षी आँगनमा छर्छ एक अज्ञात व्याकरण
त्यही अलिकति– मानिस–
यदि बाँच्यो भने
त्यही बाँच्नेछ ।
० ० ०
छाता
छाताभन्दा बाहिर निकै गर्मी थियो
छाताभित्र घाम आउन रोकिएको थियो
तीव्र हावालाई छाता
आफूसम्म आउन दिँदैनथ्यो
वर्षात्मा यत्ति धेरै छाता थियो
यस्तो लाग्थ्यो– मानिसहरु घरमै बसिरहेका छन्
र, छातामात्रै सडकमा हिँडिरहेछ
यदि गर्मी, तीव्र हावा र वर्षात् थिएन भने
कसैलाई याद नै हुँदैनथ्यो
कि छाता कहाँनिर छ !