site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ठमेल न सुत्न सकेको छ न उठ्न
Tiktok banner adTiktok banner ad

काठमाडौं । कुनै बेला चौबीसै घण्टा जाग्राम बस्ने पर्यटकीय क्षेत्र ठमेल अहिले न सुत्न सकेको छ न उठ्न । चीनबाट फैलिएको नोबल कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रमा गम्भीर असर पारेको यो उदाहरण हो । 

यही भाइरसका कारण नेपाल भ्रमण वर्ष २०२० नै असफल हुन सक्ने देखिएको भन्दै व्यवसायी चिन्तित बनेका छन् । भ्रमण वर्ष सफल वा असफलभन्दा पनि महत्त्वपूर्ण पक्ष पर्यटन क्षेत्रमा गरिएको लगानी रहेको छ । राष्ट्रिय अभियानमा एक वर्षमा २० लाख अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । चिनियाँ, भारतीय, बौद्ध धर्मालम्बीहरू ल्याएर भए पनि यो राष्ट्रिय अभियान सफल बनाएरै छाड्ने प्रतिज्ञा सरकारको थियो । 

यो अभियानको सुरुमै धक्का लागेकाले सावधानी अपनाउनु पर्नेतर्फ प्रधानमन्त्री केपी शर्मा ओलीले सर्तक गराइसकेका छन् । केही दिनअघि प्रधानमन्त्री ओलीले संसद् बैठकमा भनेका थिए, “भर्खर नयाँ वर्ष २०२० मा प्रवेश गरेका छौं ।

यो नयाँ वर्ष २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा अगाडि सारेका छौं । यसमा सुरुमै हामीलाई केही धक्काका संकेतहरू प्राकृतिक हिसाबले देखापरेका छन् । जसलाई हामीले सावधानीपूर्वक सामना गर्नुपर्नेछ । सरकार त्यसको तयारीमा लागेको छ ।” 

प्रधानमन्त्रीले माघ १४ गतेको संसद्बाट ‘सरकार सावधानीपूर्वक त्यसको तयारीमा लागेको’ भने पनि के तयारी गरिरहेको छ भन्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले औपचारिक रूपमा केही भनेको छैन । मन्त्रालय आन्तरिक रूपमा लागेको भए अर्कै कुरा ।

कारोना भाइरसले चिनियाँ पर्यटक त आएनन् नै छिमेकी मुलुक भएकाले त्यसको नकारात्मक सूचना अन्य मुलुकमा गएका कारण अन्य मुलुकका पर्यटकको संख्यामा पनि निकै कमी आएको छ । त्यसको उदाहरणका लागि काठमाडौंको ठमेललाई लिन सकिन्छ । 

बिहीबार स्थलगत अवलोकन गर्न ठमेल बजार पुग्दा यो पर्यटकीय क्षेत्र न सुत्न सकेको थियो न उठ्न । अर्थात् ठमेल पर्यटकविहीन त थिएन तर अपेक्षित पर्यटक भने देखिएनन् ।

व्यवसायीहरू पनि विगतको तुलनामा निकै कम पर्यटक आएको बताउँछन् । ठमेल पर्यटन परिषद्का पूर्व अध्यक्ष तेजेन्द्र श्रेष्ठ ठमेल प्रायः सुनसानको अवस्थामा पुगेको बताउँछन् । उनले ८० प्रतिशत पर्यटकले बुकिङ्ग रद्द गरेको जानकारी दिए । उनले बाह्रखरीसँग भने, “छिमेकी देशमा कोरोनाको प्रभाव बढी हुँदा त्यसको प्रत्यक्ष असर नेपालको पर्यटन क्षेत्रमा परेको हो ।” उनले नेपालमा कोरोनाको असर नभएको सन्देश अन्य मुलुकमा दिन आवश्यक रहेकोमा जोड दिए । 

यो चिनियाँ पर्यटक आउने समय हो । तर यसको असर मार्चबाट सुरु हुने सिजनलाई समेत पार्ने बताउँछन्, परिषद्का अर्का पूर्व अध्यक्ष सीताराम थपलिया । “कोरोना भाइरस संक्रमण घटाउन हाम्रो हातमा छैन,” उनले भने, “तर, कोरोनाको असर नेपालमा नरहेको सन्देश दिन अति आवश्यक छ ।”

उनले मन्त्रीले कोरोनाको असर छैन भनेर बोलेर मात्रै हुँदैन, सरकारले विभिन्न मुलुकका लागि बनाएका गुडविल एम्बेस्डरहरूले सकारात्मक सन्देश दिन आवश्यक छ । व्यवसायीले नेपाल कोरोनाबाट प्रभावित नभएको जानकारी नेपालस्थित विदेशी नियोगलाई समेत भन्न लगाउनुपर्ने बताएका छन् ।

तस्बिरहरु : हरिशजंग क्षेत्री/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro