
काठमाडौं । पछिल्लो चार वर्षमा सुनको भाउ तोलामा करिब ४० प्रतिशतले बढेको छ । २०७३ फागुन ८ गते तोलाको ५५ हजार ७ सयमा कारोबार भएको सुन २०७६ फागुन ८ सम्म आइपुग्दा निरन्तर बढेको छ । चार वर्षको अवधिमा तोलामा २१ हजार ९ सयले बढेको छ ।
यसबीच चाँदीको भाउ बढे पनि उतारचढाव आएको देखिन्छ । २०७३ फागुन ८ गते तोलाको ८ सय २५ रुपैयाँमा कारोबार भएको चादी २०७६ फागुन ८ गते आइपुग्दा तोलाको ९ सय १५ पुगेको छ । २०७३ को तुलनामा २०७४ र २०७५ मा चाँदीको मूल्य घटेको थियो । २०७४ फागुन ८ गते तोलाको ७ सय ४० र गत वर्ष ७ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
सुनको भाउ बढ्नु विशेषतः अन्तर्राष्ट्रिय कारण नै हो । ठूला अर्थतन्त्र भएका देशबीच राजनीतिक वा आर्थिक द्वन्द्वको स्थिति देखापर्नेबित्तिकै त्यसको प्रत्यक्ष असर सुनमा पर्ने गरेको छ । चीन र अमेरिका, अमेरिका र इरानलगायत मुस्लिम देशहरूबीचको तनाबले सुनको भाउ ह्वात्तै बढाएको थियो । पछिल्लो समय चीनबाट फैलिएको कोरोना फाइरले विश्व अर्थतन्त्रलाई प्रभावित पारिरहेको र त्यसको असर पनि सुनमा परेको जानकार बताउँछन् । यस्तै सम्पत्ति शुद्धीकरणको विषयले पनि सुनमा लगानी बढ्दा भाउ बढिरहेको अर्थविद् बताउँछन् ।
अर्थशास्त्री केशव आचार्यका अनुसार चीन–अमेरिका व्यापार द्वन्द्व, अमेरिका–इरान राजनीतिक द्वन्द्वले सुनको भाउ बढाउन सहयोग गरेको बताउँछन् । “चीन र अमेरिकाको व्यापार द्वन्द्व अझै पनि मत्थर भइसकेको छैन । चीनको आर्थिक वृद्धि ६÷६.५ प्रतिशत र अमेरिकाको २÷साढे २ प्रतिशतमा आउने भनिएको छ,” उनले बाह्रखरीसँग भने, “यस्तै अमेरिका र इरानबीचको गलफत्ति अझै पनि सकिएको छैन् ।”
विश्वव्यापी अर्थतन्त्रमा संकुचन आउन सक्ने र सुरक्षित लगानीको क्षेत्र सुन हुँदा यसको मूल्य बढेको उनी बताउँछन् । विश्व बजारमै सुनमा गरिएको लगानीलाई सुरक्षित मान्ने गरिएको छ । अर्थशास्त्री आचार्य दुई वर्ष अघिदेखिको अमेरिका–चीन व्यायापर द्वन्द्व, अमेरिका–इरान द्वन्द्व र विश्वव्यापी रुपमा स्टक मार्केटले गति लिन नसकिरहेको अवस्थामा पछिल्लो समय कोरोना फाइरस पनि ठूलो कारकका रूपमा आएको बताउँछन् ।
सुन व्यवसायी पनि अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको कोरोना भाइरस र ठूला अर्थतन्त्र भएका देशबीचको द्वन्द्वले असर पारेको बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनार कोरोना भाइरस विश्वभर फैलिन सक्ने र त्यसले उद्योग व्यवसायमा असर पार्न सक्ने त्रासले सुनलाई लगानीको क्षेत्र रोजेको बताए ।
अर्थविद् आचार्य विश्व बजारमा समानान्तर अर्थतन्त्र अर्थात् ब्ल्याक मार्केटको पैसालाई सुनमा लगानी गरिँदा पनि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको बताउँछन् । “विश्वभर समानान्तर अर्थतन्त्र अर्थात् ब्ल्याक मार्केटको पैसालाई सुनमा पार्किङ गर्न खोजिदा पनि सुनको भाउ बढेको छ,” उनले भने, “लगानीको सुरक्षित क्षेत्र सुन देखिएकाले माग बढेको र भाउ बढेको देखिन्छ ।”
स्थानीय बजारमा सुनको भाउ बढ्नु विश्वव्यापी बजारै प्रमुख कारण भए पनि आन्तरिक कारण पनि सुनको भाउ थप बढेको व्यवसायी बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्य स्थानीय बजारमा सरकारले सुनमा लगाएको बढी करका कारण पनि मूल्य थप बढेको बताउँछन् । “प्रति १० ग्राम सुनको ६ हजार पाँच सय रुपैयाँ कर तिर्नुपर्छ,” उनले भने, “व्यवसायीले नाफा जोड्नै प¥यो ।” सुन आयातित वस्तु भएकाले पनि आन्तरिक बजारमा सुनको भाउ थप बढेको उनले बताए ।
‘भाउ बढ्दा कारोबार घट्यो’
सुनको भाउ उच्च हुँदा कारोबार खुम्चिएको व्यवसायीको गुनासो छ । विवाहको सिजनमा पनि कारोबार न्यून हुँदा धेरै समस्यामा परेको महासंघका अध्यक्ष सुनारले बताए । यता, मूल्य बढ्दा उधारो पनि बढेको व्यवसायी बताउँछन् । महासंघका पूर्वअध्यक्ष शाक्य गहनाको अर्डर लिन पनि गाह्रो भएको बताउँछन् । “अर्डर लिँदा एउटा मूल्य हुन्छ, बेच्दा अर्कै,” उनले भने, “अर्डर लिएको मूल्य बढ्दा ग्राहकले उधारो राख्ने गरेका छन् ।”