दिनहुँ ठिमी (भक्तपुर) बाट काठमाडौंसम्म सार्वजनिक सवारीमा यात्रा गर्दा जनसाधारणका उस्तै उस्तै भनाइ र गुनासा सधैँ सुन्ने गर्छु ।
यात्रुका केही भनाइ यस्ता छन् :
१. यो गर्दिन्छु, त्यो गर्दिन्छु भन्ने नेताका भाषणको समाचार सुन्दैमा जीवन जाने भयो । राष्ट्रिय मुद्दामा बहस छैन । खाने कुरामा सहमति ।
२. नेताहरु आफू, आफ्नो परिवार, राजनीतिक दल र गुटको लाभ हानि हेरेर प्रजातन्त्रको व्याख्या गर्छन् । उनीहरुका निर्णयले देश र जनताको हित भएको छ कि नेता र उनका आसेपासेको ?
३. वाइडबडी, एनसेल, यती प्रकरणमा मिलेर खाए भन्ने समाचार त आएकै छन् ।
यस्ता विषयमा न सत्ता पक्ष बोल्छ न प्रतिपक्ष । भ्रष्टाचारको छानबिन गर्ने निकाय अख्तियार पनि कुनै भ्रष्टाचार गरेको अभियोगमा कुनै पार्टीका नेतालाई मुद्दा चलाउँछ अर्को उस्तैलाई उन्मुक्ति दिन्छ भन्दैछन् । अदालतमा दलकै मानिस भर्ती गरिएका समाचार आएकै छन् । संवैधानिक निकाय र सार्वजनिक संस्थाहरु कमजोर बनाएर
हाम्रा नेताले कस्तो लोकतन्त्रको अभ्यास गर्न खोजेका हुन् ?
नेतृत्वमाथि यी र यस्तै प्रश्नको वर्षा भइरहँदा प्रजातन्त्र त्यसै आएको होइन भन्ने सन्दर्भमा २००७ को क्रान्ति, नेताहरुको त्याग, समर्पण र राजनीतिक संस्कारमा यो आलेख केन्द्रित रहनेछ ।
सन् १९४७ मा अंग्रेजको उपनिवेशबाट भारत स्वतन्त्र भयो । यता नेपालमा पनि राणा विरोधी भावना बढ्दै थियो । सय वर्षभन्दा बढी वर्ष शासन गरिसकेका राणाहरु आफ्नो सत्ता जाने हो कि भनेर त्रसित थिए । सामान्य जनतालाई न थाहा थियो प्रजातन्त्रको अर्थ न त राणा शासन गएपछि पाइने अधिकारको जानकारी नै । खुलेर बोल्न नसके पनि लाटासिधा जनताबीच भुसको आगो झैँ भित्रभित्रै राणा विरोधी मतको आगो सल्किँदै थियो ।
राणा परिवारभित्रै पनि अन्यायमा परेकाहरु प्रजातन्त्रको पक्ष खुलेर लागिसकेका थिए । कतिमा बदलाको भाव थियो ।
सत्तासीनमध्ये कति सम्पत्ति जोगाउने दाउमा थिए । मुखैमा आएको सत्ता तरवारको वलमा लम्याउनुपर्छ भन्ने पक्षमा जोडबल गर्ने प्रमुख पात्र चाहिँ तीन माइला थिए – बबरशमशेर, बहादुरशमशेर र माइला गुरु ।
यस सन्दर्भमा राणा परिवारका सदस्यसमेत रहेका नेपाल राष्ट्र बैंकका प्रथम गर्भनर हिमालयशमशेर राणाले लेखकलाई सुनाए – भारतीय स्वतन्त्रतापछि मेरो बुबाले भन्नुभयो हाम्रो शासन डगमगायो । अब कति दिन टिक्ने हो ? त्यो बेला हाम्रो बाजे पुस्ता दमन गर्नुपर्छ भन्नेमा थियो, बुबाहरु सम्बोधन गर्नुपर्छ भन्नुहुन्थ्यो । हामी आफैँ क्रान्तिमा लागि हाल्यौँ ।
तिहार आउनै लाग्दा राजा त्रिभुवनले भारतीय दूतावासमा शरण लिन लागेको सुइँको राणाहरुले पाएका थिएनन् । तर, कांग्रेस नेता सुवर्णशमशेरसँगको पारिवारिक निकटताका कारण हिमालय शमशेरको परिवारले कुनै महत्त्वपूर्ण घटना हुँदैछ भन्ने सूचना पाएको थियो । त्यसको केही दिनमै राजाले भारतीय दूतावासमा शरण लिइहाले । राणाहरूमा हंगामा मच्चियो ।
त्यसको भोलिपल्ट प्रधानमन्त्री मोहन शमशेरले सिंहदरवारको भित्री चोकमा भाइभारदार, सन्तमहन्तको बैठक बोलाएर भने – ठकुरीले (राजा त्रिभुवन) भारतीय दूतावास शरण लिए । हामीले कति सम्झाउँदा पनि फिर्ता हुन मानेनन् । अब के गर्ने ?
नेपाल राज्यको बेइज्जती गरेकाले उनलाई पदच्युत गर्नुपर्छ ? तिमीहरु के भन्छौ ? उपस्थित भारदारहरुले राजालाई गद्दी च्युत गर्न सल्लाह दिए । श्री ३ महाराज सहमत नहुने कुरै थिएन । उनकै आशय बुझेर भारदारहरुले राजा हटाउने प्रस्ताव जो गरेका थिए । अनि त्रिभुवनका नाबालक नाति ज्ञानेन्द्रलाई राजा बनाउने बेहोराको कागजमा भारदारी सभाका सदस्यलाई हस्ताक्षर गराइयो । बसन्त शमशेर, हिमालय शमशेरलगायतले सही नगरेर विरोध जनाए ।
महाराजको अघि उनीहरुको विरोधको के अर्थ ? राजपरिवार दूतावास जाने समयमा मामाघर (बागदरवार) मै छुटेका त्रिभुवनका नाति ज्ञानेन्द्रलाई सेरवानी लगाएर धाईसहित सिंहदरबार ल्याइयो । देशको बेइज्जत गरी भारतीय दूतावासमा शरण लिएको आरोपमा त्रिभुवनलाई गद्दी च्युत गरी उनकै माइला नातीलाई महाराज घोषणा गरियो ।
अर्कोतिर राजाले शरण लिएकै दिन नेपाली कांग्रेसले काठमाडौंलगायत देशका प्रमुख सहरमा जहाजबाट राणा विरोधी पर्चा खसायो । त्यो बेला जहाजमै रहेका कांग्रेस नेता रामहरी जोशीले लेखकलाई सुनाएका छन् । पर्चा खसाल्नेले बमसमेत फाल्न सक्छ भनेर जेलरले कैदी छोडिदिए । राष्ट्रिय सेनाका कमान्डरहरु नै हतियार फालेर आफ्ना सिपाहीहरुलाई जमिनमा सुत्न आदेश दिन थाले । सम्भावित बम आक्रमणको त्रासले प्रधानमन्त्री मोहन शमशेरसमेत सिंहदरबार स्थित आफ्नो सयन कक्षमा सुत्न सकेनन् । सिंहदरबारकै दक्षिणतर्फको बरफबागको बंकरमा (हालको राष्ट्रिय अनुसन्धान विभागको मुख्यालय) मा सुत्न थाले ।
जन्मकैदको सजाय भोगिरहेका बेला राणाको जेल तोडेर भागेका गणेशमान आफ्ना १३ सहयोगीका साथ बम हानेर राणाको एकै चिहान बनाउने मिसनका लागि काठमाडौंमा सक्रिय थिए । सुवर्ण शमशेरका बहिनी ज्वाइ कर्णेल प्रतापविक्रम शाहको ज्ञानेश्वरस्थित घरको कम्पाउन्डमा खाडल खनी हतियार थन्काएर सैन्य विद्रोह गराउने र इन्द्रजात्राका बेला बम हानेर सबै राणालाई सिध्याउने योजना सफल बनाउन उनको टोली लागिपरेको थियो ।
कांग्रेससँग मिलेका कालीबहादुर पल्टनका कर्णेल तोरण शमशेर आफ्नो पल्टनमा विद्रोह गराउन राजी भइसकेका थिए । कर्णेल प्रतापविक्रम शाहले त झन् ‘कांग्रेसले क्रान्ति सुुरु गरेलगत्तै आफ्नो नेतृत्वको पल्टनमा विद्रोह गराउने वचन सुवर्ण शमशेरलाई दिएका थिए । कांग्रेस नेता श्यामलाल श्रेष्ठले लेखेका छन् – ‘एकदिन हिँड्दै गर्दा सुन्दरराज चालिसेले मेरो हात समाउँदै भन्नुभयो, यही गल्लीमा हो हामीले मोहन शमशेरलाई गोली हानेर सिध्याउने योजना बनाएको ।’ इन्द्रजात्राको दिन प्रधानमन्त्री हात्तीमा चढेर कुमारीको पछि पछि घुम्नुपर्थ्यो ।
सबै राणाहरू प्रधानमन्त्रीको पछि लागेको मौकामा बम विस्फोट गराउने र गोली हानेर मार्ने योजना बनाएको चालिसेले आफूलाई सुनाएको श्रेष्ठले लेखेका छन् । कांग्रेसले बम हान्दैछ भन्ने हल्लाले रोलवाला राणाहरुको सातो पुत्लो उडेको थियो ।
त्यतिबेला कांग्रेसको काठमाडौं कमान्डर रहेका शंकरबहादुर केसीले लेखकलाई सुनाए – कर्णेल प्रतापविक्रमका चालकले रक्सी खाएर गणेशमानको टोलीले लुकाएका हतियार र विस्फोटक पदार्थको पोल खोलिदिए । बस सबै हतियार राणाको कब्जामा गयो । गणेशमान, सुन्दरराज चालिसेसहित बागी सेनाका उच्च अधिकारी पक्राउ परे । गणेशमानले भनेका छन् – ‘क्रान्तिका बेला हल्ला र अफवाह कहिले कहीँ हतियारको तुलनामा कैयौं गुणा बलशाली हुन्छन् । जति हतियार बरामद भएको थियो त्यसभन्दा सयौं गुणा बढी छ हल्ला चल्यो । हल्ला सुन्दा राणाहरुलाई लाग्न थाल्यो मानौ काठमाडौंमा रोलवाला राणाबाहेक सबै कांग्रेस भइसके ।’
योजनाको पोल खुलेपछि गणेशमान सेनाविनाको सेनापतिजस्तै निरीह भए । पक्राउ परेका ‘कर्णेल तोरणशमशेरलाई दात भाँच्चिने गरी पिटियो र सिंहदरबार गारतमा कैद गरियो । राणा भएकाले उनलाई चाँदीका भाँडामा खानदिइन्थ्यो । श्री ३ मोहनले कैदीलाई पनि चाँदीको भाँडामा खान दिने भनेपछि टपरीमा दिन थालियो ।
गणेशमान भूमिगत नै थिए । राणाहरुमा भयानक त्रासदी फैलिएको थियो ‘प्रधानमन्त्री मोहन शमशेरले स्वयंले चारै कमान्डिङ जनरलसहितका राणाहरुलाई सिंहदरबारमै बोलाएर गणेशमानको टोलीका सदस्यलाई पक्राउ गर्न आदेश दिए । काठमाडौंमा वेश बदल्दै लुक्ने प्रयासमा लाग्दाको क्षण बारे गणेशमानले भनेका छन् – ‘अन्धकार रातको एकान्तमा भेटिएको भूतलाई देखेर जसरी मानिसको होस हराउँछ र ऊ जे पायो त्यही बर्बराउन थाल्छ । म पुगेको घरका गृहिणीको पनि त्यही अवस्था हुन्थ्यो । लोग्नेस्वास्नी दुवै क्वाँक्वाँ डाँको छोडेर रुन थाल्थे ।’
अर्कोतर्फ राणा सरकारले उनलाई वास दिनेमाथि कठोर कारबाही गर्ने हल्ला फैलायो । त्यसैले कैयौं दिनसम्म बिहान उज्यालो हुनासाथ पशुपति गुह्येश्वरीको जंगलपस्ने र राति परिचितहरुकहा“ वास खोजेर भौतारिँदै बित्थ्यो । जन्मकैद भएकै अवस्थामा भागेका उनलाई पक्राउ परे मारिनेभन्दा पनि क्रान्ति असफल हुने पीडा बढी थियो । अन्त्यमा केही नलागेपछि ठोरी हुँदै भारत तर्फ लाग्ने निष्कर्षमा पुगे उनी । गणेशमान पत्नी मंगलादेवी लेख्छिन् ‘राँगा खरिद बिक्री गर्ने धनी ज्यापुको घरबुना बाक्लो भोटो, सुरुवाल, इष्टकोट र भादगाउँले टोपी लगायत छद्म वेशमा बाटो काट्ने योजना बन्यो । इस्टकोटमा चाँदीका टाँकहरु लगाइएका थिए । भोटो र सुरुवाल मैले नै सिलाएकी थिएँ ।’
राणाका जासुस छल्दै अनकण्टार जंगल, पहाड, पाखापखेराको बाटो हुँदै गणेशमान ठोरी पुगे । थाकेर लखतरान भएका उनी नेपाल भारत सीमाको दशगजा क्षेत्रको एएटा भट्टीमा थकान मेटाउन खानासँगै जाँड खाँदै थिए । नशा चढ्दै गर्दा कतैबाट आवाज आयो — ‘ओ हो, गणेशमानजी ! तपाइँ कताबाट ? आश्चर्य मान्दै उनले भने — ‘होइन तपाईले कसलाई बोलाउनुभयो ?’ उसले भन्यो ‘तपाइँलाइ नि गणेशमानजी !’ राणाका जासुसबाट बच्ने उपाय खोज्दै गणेशमानले सक्दो अभिनय गरे — ‘को गणेशमान ?’
गणेमानको खोजीमा रहेको त्यो जासुस पनि के कम ? जति टार्दा पनि छोडेन । पक्राउबाट जोगिन गणेशमान भने आफू बन्दीपुरे साहुको भरिया भएको नाटक गर्दै थिए । जति गर्दा पनि उम्किन सकेनन् । उनलाई वीरगञ्ज चलान गरियो । त्यसपछि कडा सुरक्षाका साथ काठमाडौं ल्याएर सिंहदरबारमै थुनियो । जहाँ १३ वर्षअघि पनि उनी बन्दी थिए । गणेशमान सिंह पक्राउ परेपछि गोर्खापत्रमा समाचार छापियो ‘मसहुर फरार फेला पर्यो ।’
सिंहदरबारको ‘बिजुली गारत’मा थुनेपछि तीन पुस्ताको नाम बकाउन गणेशमान सिंहलाई कैयौं दिन कोर्रा लगाइयो । ‘हरेक पटक बाबु, बाजेको नाम सोध्दा उनी ‘जय नेपाल’मात्र भन्थे । न्यायाधीशको समेत जिम्मेवारीमा रहेका जर्नेल हरिशमशेरको उपस्थितिमा महेन्द्रबहादुर महतले उनको बयान लिए ।
महेन्द्रबहादुर महत : नानीको नाम ।
गणेशमान : गणेशमान सिंह ।
महत : अनि घर ।
गणेशमान : नाम तपाइँलाई आउँछ । घर आउँदैन ? १९९७ सालमा म थुनामा हुँदा तपाईँले नै घर सोध्नु भएको होइन ? त्यो बेला जे लेख्नु भएको थियो, त्यही लेख्दा भएन ।
महत : त्यो बेला नानीहरु बडाकाजी रत्नमानसँगै थियौ । त्यसपछि तिम्रा बज्यैहरुलाई किलागलमा राख्या छ । त्यसो भएकाले कहाँ लेखाऊँ?
गणेशमान : आ, सारा नेपाल मेरो । तपाईलाई जहाँको लेख्न मन लाग्छ लेख्नोस् ।
गणेशमानको जबाफ सुनेपछि न्यायाधशि जर्नेल हरिशमशेरले रिस रोक्नै सकेनन् । आवेगमा उनी कराए — ‘कैदी भएर तथानाम जबाफ दिन्छस् । जुन प्रश्न सोधिन्छ त्यसको सही सही जबाफ दे ।’ गणेशमान पनि राणालाई कसरी रिस उठाउन सकिन्छ भनेर निहुँ खोजी रहने स्वभावका थिए । उनले महतसँग भने — ‘हैन यो मान्छे को हो ? किन बीचमा कराई रहेछ हँ ?’ राणालाई तँ भनेपछि हरिशमशेर बौलाई हाले । अनि आदेश दिए — ‘हान । यसलाई ।’ अठपहरियाहरु पहिल्यै पानीमा भिजाई राखेको कोर्रा गणेशमानमाथि बर्साउन लागे । बेगिन्ती कोर्रा खाए । ‘तीन चार आठपहरियाबाट पालैपालोसँग कोर्रा खाँदा खाँदा गणेशमानका खुट्टाका पट्पटी फुटेका थिए ।’
एकै पटकमा लगातार ६०३ कोर्रासम्म लगाइयो । कैयौपटक उनी बेहोस भए । कोर्रा हान्ने क्रम जारी नै थियो । सरदार उपेन्द्रपुरुष ढकाल र महेन्द्रबहादुर महतले जर्नेल हरिशमशेरसँग रोक्नुपर्यो भनेर अनुनय विनय गरे । अनिमात्र पिट्न छोडियो । होसमा आएपछि गणेशमान पानी पानी भनेर कराई रहेका थिए ‘जर्नेल कराए, ए कसैलाई पिसाब लागेको छैन ? मुखमा पिसाब फेरिदे ।’ मरेको कुुकुरलाई जस्तै घिसार्दै केही पर लगेपछि सिपाहीहरुलाई पनि दया लागेछ । ‘हात खुट्टा समाएर झुन्ड्याउँदै थुनामा राखिएको कोठासम्म लगे ।’
राजकाज मुद्दा लगाइएका गणेशमानलाई बिजुली गारतबाट हिँडाएर पुतली बगैचास्थित (काठघर) अदालतसम्म पुर्याउन झन्डै एक घन्टा लाग्थ्यो । उनी पाइला सार्न सक्ने अवस्थामै थिएनन् । राणाकालका प्रशासक भीमवहादुर पाँडे लेख्छन् — ‘कति निठुर भित्रियाहरु, त्यसरी सख्त पिटिएका गणेशमानजीलाई थप कोर्रा फर्माउथे ।
प्रधानमन्त्रीको स्वागिलो हुन र आफू कांग्रेस विरोधी छु भनी श्री ३ महाराजलाई देखाउन । हिकिएको मानिसलाई झन् पिट्ने र पिटाउने, नेपाली कांग्रेस विरोधी र राणा व्यवस्था मुनि ठहरिने हुँदा, त्यो मौका छोप्न धेरै भित्रियाहरु चुक्दैनथे ।’ गणेशमानसहित दिलमान सिंह, तोरणशमशेर, राजदास वादे श्रेष्ठ, प्रतापविक्रम शाह, सुन्दराज चालिसे, आदिको राजकाज मुद्दा जर्नेल हरिशमशेरको इजलासमा सुनुवाइ भयो ।
अनि बम हानेर प्रधानमन्त्री र रोलवाला राणालाई मार्न खोजेको अभियोगमा फाँसीको सजाय सुनाइयो । कर्णेल प्रतापविक्रम शाहलाई उनकै घरको बगैचामा झुन्ड्याउने तयारीका साथ राणाहरुले रुखमा टाँचा समेत लगाई सकेका थिए । ‘त्यही ताका केही मानिसहरु मोहनशमशेर कहाँ गएर भनेछन् — ‘सरकार दसैंअघि मानिस झुन्डाउनु राम्रो होला र ? अलि राम्रो हुँदैन की ?’ मोहनशमशेरले भने छन् — ‘ल ठीक छ, त्यसो भए दसैंपछि मात्र किन, तिहार पनि हाम्रो ठूलो पर्व हो । तिहारको भोलिपल्ट झुन्ड्याउने ।’ रातरहे अग्राख पलाउँछ भने झैँ तिहार अगावै राजा दिल्लीमा शरण लिन गएकाले मृत्युदण्ड कार्यान्वयन हुन पाएन । क्रान्ति सुरु नभएको भए गणेशमानसहित सबै मारिने !
बिसं १९९३ सालदेखि ज्यानको बाजी लगाएर प्रजातन्त्रको पक्षमा लडेका गणेशमान २०४६ सालमा ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्यका लागि भएको जनआन्दोलनका सर्वोच्च कमान्डर बने । कांग्रेस र वाम मोर्चाले चलाएको त्यो आन्दोलन सफल पनि भयो । आन्दोलनका कमान्डरका हैसियतमा राजा वीरेन्द्रले उनलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरे । तर, गणेशमानले मुखमै आएको प्रधानमन्त्री पद स्वीकार गरेनन् । बरु कृष्णप्रसाद भट्टराईको नाम सिफारिस गरे । भिमसेन थापादेखि केपी ओलीसम्म आईपुग्दा दुई सय वर्षको इतिहासमा ३८ जना प्रधानमन्त्री भए । तर, ती सबै राजनेता हुन सकेनन् । पटकपटक प्रधानमन्त्री भएर सत्तामा पुग्ने नेतालाई नसम्झेर मुखैमा आएको प्रधानमन्त्री बन्न अस्वीकार गर्ने गणेशमानलाई जनताले सम्झिइरहनुको कारण के हुनसक्छ ?