फाइल तस्बिर
काठमाडौं । चीनबाट आएका तीन जनालाई कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा भर्ना गरिएको छ । चीनबाट आएका दुई जना नेपाली र एक जना चिनियाँ नागरिकलाई बुधबार आइसोलेसनमा भर्ना गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले चीनबाट नेपाल आएका तीन कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा भर्ना गरिएको बताए । उनले भने “स्वास्थ्य परीक्षण गरिएको थप कोरोना भए नभएको परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको छ । ”
करिब तीन साता अघि पोखरा घुम्न आएका २ चिनियाँ नागरिकलाई कोरोना भएको आशंकामा, मणिपाल अस्पताल लगिएकोमा बाटोबाट नै भागेका थिए । हालसम्म पनि उनीहरु कुनै पनि अस्पतालको सम्पर्कमा आएका नआएको प्रवक्ता श्रेष्ठले बताए ।
कोरोनाको आशंका गरिएको बिरामी अस्पतालबाट भागे
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल कोरोना भाइरस संक्रमणको आशंकामा पुगेका एक बिरामी भागेका छन् । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले चीनको बाटो हुँदै नेपाल आएका साउदी अरबका एक नागरिक भागेको बताए ।
“रुघाखोकी र ज्वरो आएपछि करिब एक साताअघि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्न पुगेका थिए तर जाचँ गर्दा थप कोरोनाको परीक्षण गर्न बाँकी थियो, उनलाई अस्पताल भर्ना गर्ने तयारीमा नै उनी भागका हुन् । हाल उनको खोजी भइरहेको छ तर उनी सम्पर्कमा नै आएका छैनन्,”उनले भने ।
कोरोना भाइरसको आशंकामा अस्पताल आएका बिरामी भर्ना नै नभइ बेखबर हुनुमा अस्पतालको कमजोरी भएको प्रवक्ता श्रेष्ठ बताउँछन् । चिकित्सक र ति साउदी अरबका नागरिकबीच भाषामा समस्या समेत भएको उनले स्वीकारे । उनले भने “ती नागरिक फारेसी भाषा बोल्ने नेपाली र अंग्रेजी नबुझने तर हाम्रा चिकित्सकहरु सो भाषा नबुझने हुँदा समस्या भयो ।”
कोरोनका कारण मंगलबारसम्म ११ सयभन्दा बढीको मृत्यु भएको छ । कोरोनाका कारण ४५ हजारभन्दा बढी संक्रमित छन् ।