विशाल भण्डारी विश्वमा कतै नभएको के–के नै गरें भन्ने घमण्ड गर्दैनन् । विश्वका धेरै देशमा भइरहेका कार्यक्रम जस्तै हो, तर ‘कमेडी च्याम्यिन’ भूगोल र विषयका हिसाबले भने नयाँ भएको भन्न पनि हिच्किचाउँदैनन् । विशाल आफैं कमेडीका फ्यान, देशी–विदेशी स्ट्यान्ड–अप कमेडी हेरिरहन्थे । चलचित्रका त निर्देशक नै भए, नहेर्ने कुरै भएन । तर विशाललाई बाँध्न कमेडी चलचित्रले मात्रै सक्थ्यो । कमेडी चलचित्र चल्यो भनेपछि मनै उत्साही हुन्थ्यो ।
विशाललाई हास्न मनपर्छ । हसाउन मनपर्छ । व्यङ्ग्य गर्नु परे यसकै सहारा लिए सजिलो । नीति निर्माण तहमा ह्युमरले नै व्यङ्ग्य गरिरहेको कसैबाट छिपेको छैन । हास्ने, हसाउने र नीति निर्मातालाई व्यङ्ग्य गर्न पाए ? लोभ लाग्थ्यो उनलाई । लोभिनुको कारण पहिलो, विशाल आफैंले काम गर्दाको अनुभव । दोस्रो, दर्शक भएर गरेको अनुभव ।
‘नेपाल आइडल’ सिजन–१ को निर्देशक टिममा थिए विशाल । ‘भ्वाइस अफ नेपाल’ सिजन–१ को चिफ असिस्टेन्ट डिरेक्टर थिए । यी दुई सिङगिङ रियालिटी–सोमा काम गर्दा उनलाई कसरी काम गर्ने ‘आइडिया’ थाहा पाएका थिए ।
‘नेपाल आइडल’ गर्दा उनले अनुभव गरेका थिए– नेपालमा ह्युमर बिक्छ ।
कारण ?
झक्कड थापा हिट हुनु । त्यो शृंखलाले ‘नेपाल आइडल’लाई थप उचाइ दिनु । नरेश पातली सामाजिक सञ्जालमा औधी खोजिनुले नेपाली दर्शक हाँस्न चाहन्छन् भन्ने कुरा पुष्टि गरिरहेको थियो ।
०४६ पछि बोल्ने छुट पाएको, १० वर्षे जनयुद्धबाट बाहिर आए पनि अपेक्षाहरू पूरा नभएको अवस्थामा जनता हाँस्न चाहन्छन् भन्ने विशालले थाहा पाएका थिए ।
नेपाली टेलिभिजनको इतिहास केलाउने हो भने तुलसी घिमिरेको ‘मुक्ति’, बद्री अधिकारीको ‘अविरल बग्दछ इन्द्रावती’ र ऋषि लामिछानेको ‘परिचय’ बाहेक हास्य शृंखला ‘ट्वाक्कटुक्क’, ‘हिजो आजका कुरा’, ‘तीतो सत्य’, ‘जिरे खुर्सानी’, ‘मेरी बास्सै’, ‘भद्रगोल’, ‘सक्किगोनी’ जस्ता कमेडी टेलिशृंखला नै लोकप्रिय थिए ।
यो तथ्य दिमागमा बोेकेका थिए । चलचित्र ‘कोहलपुर एक्सप्रेस’ गर्दादेखि एउटा टिम थियो ।
रियालिटी–सोमा औधी दुःख गर्नुपर्थ्यो । मिहिनेतले कपाल झर्थ्यो । तर चिफ असिस्टेन्ट डिरेक्टर : नाम अरूको काम आफ्नो । यति काम आफ्नै लागि गर्न पाए ? नाम पनि हुने, सो सफल भए दाम पनि ।
कला क्षेत्रमा केही नयाँ गर्न पाए नोटिस् पनि भइने, योगदान पनि हुने । ‘कोहलपुर एक्सप्रेस’ पछि उनलाई चलचित्रमा लामो ब्रेक चाहिएको थियो । तर उनले त्यो ब्रेक चलचित्रमा मात्रै खोजेका थिए ।
नेपालमा आवश्यक र बिकाउ पनि कमेडी हो भन्ने निर्क्योल निकालिसकेका विशाललाई आँट आयो । केकी अधिकारी ‘छ माया छपक्कै’ को सुटिङमा थिइन् । त्यसपछि ‘कन्याकुमारी’ विशालले निर्देशन गर्ने सम्पूर्ण तयारी भइसकेको थियो ।
विशालले केकीसँग प्रस्ताव गरे– स्ट्यान्ड–अप कमेडीको रियालिटी–सो गर्ने त ? केकीसँग यो प्रस्ताव गर्दा उनले नेपालमा स्ट्यान्ड–अप कमेडीको अभ्यास, सम्भावना र यसमा लागिरेहका कमेडियनहरूबारे लामो अध्ययन गरिसकेका थिए । विदेशका कमेडी टेलिभिजमा, नेपालका काठमाडौं र काठमाडौंबाहिर रेस्टुरेन्टमा हुने स्ट्यान्ड–अप कमेडी हेरेका थिए । युट्युबमा आउने पनि छुटाउँदैन थिए । “कस्तो कन्टेन्ट चाहिन्छ भनेर विदेशी सो हेरें । त्यो लेबलको केमेडी गर्न सक्ने
कमेडियन छन् कि छैनन् भनेर स्वदेशी स्ट्यान्ड–अप कमेडी हेरेँ,” विशाल भन्छन्, “मैले १६ सयभन्दा धेरै विदेशी सो हेरेको छु ।”
केकीसँग सल्लाह गर्दा विशालले आफूले अध्ययन गरिसकेको र नेपालमा कमेडी रियालिटी ‘सो’को उच्च सम्भावना छ भनेका थिए ।
केकीले भनिन्, “हुन्छ भने गरौं न त ।”
विशाललाई आधार मिल्यो । कुरा अगाडि बढ्यो । स्ट्यान्ड–अप कमेडी रियालिटी ‘सो’ कमेडी च्याम्पियन गर्ने निर्णय भयो ।
० ० ०
विशालकै वाक्य सापट लिने हो भने हाम्रो कला क्षेत्र बडो अजिबको छ । यहाँ रिजल्ट हेरेर मूल्यांकन गरिन्छ । चाहे लेख्ने होस् अथवा कसैबारे कुरा गर्ने नै किन नहोस् ।
कुनै नयाँ कामका लागि गरिएको वा गर्दै गरेका ‘डिजाइन’लाई कमैले मन पराउँछन् । मन नपरे सहयोग नगर्नू, चुप लागेर बस्नू नि । यहाँ त हतोत्साही बनाइन्छ, यो विशालले ‘कमेडी च्याम्पियन’ डिजाइन गर्दा गरेको अनुभव हो । “यहाँ चाङचाङ सल्लाह दिनेको खाँचो छैन । तर सहयोग गर्नेको खडेरी छ । नयाँ काम गर्दै छ, यसलाई यसरी सहयोग गर्नुपर्छ भन्ने कमै सुन्न पाइन्छ,” विशाल सुनाउँछन्, “तर चल्यो है भनेपछि फेरि फर्किएर आउने सकारात्मक पक्ष भने छ ।”
‘कमेडी च्याम्पियन’ गर्ने निर्णय भयो । चाहियो प्रायोजक । विशाल र केकी आफैं प्रायोजक खोज्न निस्किए । प्रायोजक भन्थे, “यो हाम्रो विज्ञापन बनाउन लायकको सो होइन । मन अमिलो बनाउँदै विशाल सुनाउँछन् “फेस टु फेस नै त्यसोभन्दा पक्कै पनि मनचाहिँ दुख्दो रहेछ । तर त्यसलाई नै हामीले च्यालेन्जका रूपमा लियौं । र अझ मिहिनेत गर्न थाल्यौं ।”
तर प्रायोजकको संशयलाई दूर गर्नु थियो । विस्तारै त्यो संशय चिर्नु थियो । चिर्दै गए । हामीले प्रायोेजन गर्ने ‘सो’ होइन भन्नेहरू नै ‘सो’ले लोकप्रियताको खुड्किलो उक्लिन थालेपछि आफैं आए । “मैले तपाईंहरूलाई विश्वास नगरेर गल्ती गरेँ अथवा कम आँके, यसमा सरी ! भन्दै अब सहकार्य गरौं भन्ने विज्ञापनको बजार रहेछ,” विशालको अनुहारमा खुसी तरङ्गीत हुन्छ, “यो बजारबारे पनि अवगत भयो । काम गरेर प्रमाणित गर्नेका लागि यो सकारात्मक पक्ष पनि हो ।”
संख्या न्यून भए पनि केही साथी सम्झिए विशालले, जसले उनले गर्न लागेको कामलाई सम्भावना र बिकाऊ विषय भन्दै आँट्न आग्रह गरेका थिए । यसो भन्ने निर्देशक प्रचण्डमान श्रेष्ठलाई सम्झिए उनले ।
यो सो चल्दैन, फ्लप हुन्छ, त्यसैले लगानी नगर भन्ने धेरै भेटे । यसमा विशालको गुनासो छैन । कारण उसको अध्ययन पुगेन अथवा मनज्ञानले त्यही भन्यो, साथीको नाताले त्यही भने । तर विशालको चित्त दुःखाइ तीसँग छ, जो लगानी गर्दै थिए उनीहरूलाई यस्तो ‘सो’मा पनि लगानी गर्ने ? डुब्ने, फ्लप हुने ‘सो’मा पैसा डुबाउने ? भन्दै भड्काउँदै हिँडे । विशाल यो प्रवृत्तिलाई समकालीन नेपाली कला क्षेत्रको सबैभन्दा ठूलो रोग भन्छन् । “यो पनि आफ्नै पुराना साथीहरूबाट आउँदा निकै दुःख लाग्दो रहेछ ।”
० ० ०
‘सो’ हुने भयो । चाहियो निर्णायक । काम कस्तो आउँछ ? थाहा थिएन त्यसैले निर्णायकमा विशासले सोचेका व्यक्तिले हुँदैन भन्ने सम्भावना पनि उच्च थियो । त्यसैले उनले विकल्पमा नाम सोचेका थिए । लिस्टमा आठ जनाको नाम राखेका थिए ।
काठमाडौंका रेस्टुरेन्टमा ५०–६० देखि १००–१५० सम्म स्ट्यान्ड–अप कमेडी गज्जबसँग चलिरहेको थियो । अर्को पुरानो कमेडी जसले क्यारेक्टर र स्वरमार्फत पनि कमेडी गरिरहेको थियो । माटोको सुगन्ध बोकेका कमेडियन पनि थिए । मिमिक्रीमा पारङ्गत कमेडियनहरू पनि आउँदै थिए । यी सबैलाई बुझ्ने निर्णायकका प्यानल बनाउनु सबैभन्दा ठूलो चुनौती थियो विशाललाई ।
ग्रामीण क्षेत्रलाई बुझ्न सक्ने, रोस्टलाई सहजै पचाउन सक्ने जुन पुरानो पुस्तालाई मन पर्दैन । एउटा यस्तो निर्णायक चाहियो जसले रोस्ट भनेको अरू निर्णायकलाई पनि बुझाओस् । अर्को यस्तो निर्णायकको खोजी थियो विशाललाई जसले स्ट्यान्ड–अप कमेडी भनेको के हो, माटोको सुगन्ध र मिमिक्रीलाई पनि बुझोस् । अर्को यस्तो भेट्रान निर्णायक होस् जोसँग ‘सो’का प्रतिस्पर्धी मात्रै होइन स्वयं अरू निर्णायक पनि डराऊन् ।
“आज प्रतिस्पर्धीहरू सन्तोष पन्त हास्नुभयो भने आफ्नो उपलब्धी ठान्छन् । मनोज गजुरेल ‘सो’को स्ट्रकचरको पारङ्गत व्यक्ति, ऋचा देश–विदेशका स्ट्यान्ड–अप कमेडी हेरर बुझ्ने तथा रोस्ट मजाले पचाउनुपर्छ भनेर बुझेको व्यक्ति । जो हास्न नलजाउने र हास्न सुरु गर्ने व्यक्ति पनि हामीलाई चाहिएको थियो, ऋचा त्यसमा सुहाउने व्यक्ति । र प्रदीप भट्टराई कमेडी जानरामा ब्याक टु ब्याक हिट तीनवटा चलचित्र दिएको सार्प सेन्स अफ ह्युमर भएको निर्देशक, जो एक्टको गहिराइमा पुगेर बुझ्ने र फिडब्याक दिन सक्ने व्यक्ति,” विशाल भन्छन्, “भोलि मेरो सोमार्फत के आउँदै छ भन्ने थाहा थिएन । सो राम्रो भएन भने भएको इमेज पनि खस्किने सम्भावना उच्च थियो । तर पनि मलाई विश्वास गरेर मेरो पहिलो रोजाइका व्यक्ति नै निर्णायकमा बस्न राजी हुनुभयो, त्यो मेरा लागि खुसीको कुरा थियो ।”
विशालले होस्टलाई सम्झिए । रिमा विश्वकर्मा ‘नेपाल आइडल’ सिजन एक र दुईको होस्ट थिइन् । विशालले उनलाई भने, “हामी आफ्नै ‘सो’ गरौं ।”
“त्यति पपुलर त्यो पनि फ्रेन्चाइज सोको होस्टलाई ल्याउन सजिलो थिएन । त्यसमा पनि प्रोडुसरका रूपमा पनि भित्र्याउन । मैले रिमालाई भनेको थिएँ– तिमी त्यस्तो सोको होस्ट गरिरहेको हुने छौ, जुन चलिरहेका भन्दा हिट सो हुनेछ,” रिमालाई नेपाल आइडलबाट बाहिर ल्याउँदाको क्षण सम्झिए विशालले ।
केकी अधिकारी प्रोडुयसर हुन सहमत भइन् । रिमाले नेपाल आइडल छाड्ने भइन् । भेट्रान निर्णायक भए । अनि कपाल झर्न थाल्यो विशालको । तनाव हुन्थ्यो– सो कसरी सफल पार्ने ? त्यही तनावले दौडाएको थियो प्रायोजक खोज्न । हास्दै टोपी खोलेर देखाउँछन् विशाल, “६ वटा शृंखलापछि अलि कम भयो कपाल झर्न ।”
० ० ०
अर्को चुनौती जसले विशालको मनमा डरको डेरा जमाएको थियो । ‘सो’ नेपालका लागि विल्कुल नयाँ थियो । केही अग्रजहरूले नै अलि बेला भएको छैन भनिरहेका थिए । अक्सर हरेक घरमा एकजना गाउने व्यक्ति हुन सक्छ । तर हरेक सहरमा एकजना कमेडियन हुन्छ । र त्यो कमेडियन कतै न कतै पैसा कमाउने गरी आबद्ध भएको हुन्छ ।
त्यो सहरको त्यो एकजना कमेडियन आफ्नो ‘सो’मा तान्नु थियो । आउलान् त ? शंका थियो । त्यो शंकाले डर पैदा गरिदिएको थियो ।
भाग्य भनौं या कर्मको फल ! सहरको एउटा सर्कलमा स्थापित भएर कमाइरहेका कमेडियन पनि आए । र केही लोभलाग्दो सेन्स अफ ह्युमर भएका फ्रेस प्रतिस्पर्धी पनि आए । सुमन कोइराला र विष्णुप्रसाद गाैंडेल यसका उदाहरण हुन् ।
“तर केही व्यक्ति जो आयो भने सो भव्य राम्रो हुन्छ भन्ने सोचेको थिएँ, उहाँहरू आउनु भएन,” विशाल भन्छन्, “सायद पहिलो सो भएकाले विश्वास नगरेर पनि हुनसक्छ । अरू सिजनमा आउनु होला ।”
० ० ०
‘सो’ राम्रो होला भन्ने त विश्वास थियो । तर अहिले पाइरहेको हाइप पाउला भन्ने अपेक्षाचाहिँ थिएन । पहिलो शृंखलाको युट्युब भ्युज ५ लाख पुग्यो भने हामी सफल हुन्छौं भन्ने सोचेका थिए । तर चार दिनमा ५ लाख भ्युज गयो । सफल भयो भन्ने सोचे । “पहिलो चार भाग प्राविधिक हिसाबले पनि हामी केही कमजोर थियौं । तर जब १५औं भागबाट हामी उकालो लाग्यौं सोले अर्कै हाइप लियो,” विशाल प्रफुल्ल सुनिए, “यति सहज यात्रा हुन्छ भन्ने हामीले सोचेकै थिएनौं । सिजन वानमा काँडा र आगोको यात्रा तय गर्नुपर्ला भन्ने सोचेका थियौं । तर प्रतिस्पर्धी, टिम र प्रायोजक सबैको साथले सो सहज बन्दै गयो ।” प्रतिस्पर्धीले ल्याएको कन्टेन्टलाई अब्बल बनाउन सहयोग गर्ने सान बस्नेत, विशाल गौतम र विनायक कुइँकेलको समूहले गरेको मिहिनेतप्रति पनि विशाल कृतज्ञ सुनिए ।
० ० ०
सुरुमा प्रायोजकको चिन्ता थियो– यो ‘सो’मा राजनीतिक व्यङ्ग्य बढी हुन्छ, त्यसको असर हामीलाई पर्छ । तर ठीक उल्टो भएको विशालले अनुभव सुनाए । सेलिब्रिटी राजनीतिज्ञले ‘वेस्ट विसेस’ लेखेर पठाएको उनी सुनाउँछन् । “मेरो अपेक्षा विपरित हो यो । आफूमाथि गरेको जोक पचाउन सक्ने भइसकेछन् हाम्रा राजनीतिज्ञ । यो पनि ठूलो कुरा हो,” उनी भन्छन्, “अहिले हाम्रा प्रतिस्पर्धीले गरेको जोकको लाइन नै लेखेर यो लाइनले म बेस्सरी हाँसे भनेर पनि पठाउनु हुन्छ ।”
कांग्रेसले ७० वर्ष लगाएर लुटेको देश कम्युनिस्टले दुई वर्षमै लुटेर देखाइदियो भन्ने व्यङ्ग्य कांग्रेस नेता गगन थापालाई खुब घत परेछ । उनले ऋचालाई वेस्ट विसेस् लेखेर म्यासेज नै पठाएछन् ।
“हामीले बेथितिबारे प्रहार गर्यौं । तर देश चलाउने नेताहरूले सिस्टमलाई खबरदारी गरेको भनेर सकारात्मक लिँदै वेस्ट विसेस् भनेर कामको तारिफ गर्नु हाम्रो सफलता हो,” विशालले अन्तिममा सम्झिए, “मैले गरेको प्रस्तावलाई केकी र रिमाले विश्वास गरिदिनुभयो । त्यसले मलाई सिर्जना गरेको चर्को दबाब नै सो सफल हुनुको कारण हो ।”