site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रधानमन्त्रीले व्यवसायीलाई भने, ‘सरकार तानाशाही छैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महत्त्वपूर्ण व्यवसायिक व्यक्तित्व (सीआईपी) अवार्डबाट उद्योगी व्यवसायीलाई सम्मान गर्न आयोजित कार्यक्रममा उनले मुलुक तानाशाही व्यवस्थामा नरहेको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन् ।

उनले भने, “तानाशाही व्यवस्थामा छैनौं, हामी लोकतन्त्रमा छौं ।” उनले विकासको चाहना निजी क्षेत्र र सरकार दुवैको भएको भन्दै सुशासनका विषयमा भने कहिलेकाहीं कुरा नमिल्ने गरेको बताए । “सुशासन विकासको बाधक होइन,” उनले भने, “सरकार र व्यवसायीबीचमा उचित, सन्तुलित, व्यवस्थित सम्बन्ध होस् ।” प्रधानमन्त्री ओलीले सरकारले व्यावसायिबाट पारदर्शिता, स्वच्छता मात्रै खाजेको बताए । ‘‘सरकारले निजी क्षेत्रसँग केही माग्दैन, खाजेको पनि छैन,’’ उनले भने, “तर, पारदर्शिता र स्वच्छता खोज्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रधानमन्त्री ओलीले विस्तारै स्वच्छता र पारदर्शिता स्थापित गराएरै छाड्ने बताए । उनले कमिसन र भ्रष्टाचारलाई सहयोग नगर्न आग्रह गर्दै कमिसन दिनुपर्ने परिस्थिति सिर्जना गरिए र काममा अप्ठ्यारो पारिए आफूलाई भेट्न आग्रह गरे । व्यापार सहजीकरण गरिरहेको भन्दै उनले पाम आयल निर्यातमा देखिएको समस्या पनि समाधान भइसकेको बताए ।

“सुपारी, अदुवा, पाम आयलमा देखिएको निर्यातसम्बन्धी समस्या सरकारले समाधान गरिसक्यो,” उनले भने, “केही–केही काम गर्न बाँकी होला, तर थुप्रै काम भएका छन् ।”

निजी क्षेत्रलाई लगानी बढाउन सरकारले पूर्ण साथ दिने पनि उनले बताए । “तपाईंहरूले कानुनको पालना, स्वच्छता गर्नुहोस्, निजी क्षेत्रको हरेक समस्या समाधान गर्न सरकार तयार छ,” उनले भने । उनले निजी क्षेत्रसँग सम्बन्धित कानुन निर्माणमा पनि सरकार लचिलो हुने बताए । उनले भने, “कानुनका मस्यौदा ल्याउनुहोस्, सरकार त्यसमा मिलाउन तयार छ ।” 

प्रधानमन्त्री ओलीले सीआईपी अवार्ड पाएका उद्योगी व्यवसायीलाई सम्मानको ख्याल गर्न पनि आग्रह गरे । उनले भने, “सरकारले दिएको लोगोको मर्यादा राख्नुहुन्छ भन्ने ठानेको छु ।” अवार्डले व्यवसायीलाई थप जिम्मेवार बनाएको भन्दै उनले यस्ता खालका प्रोत्साहनका अन्य कार्यक्रम पनि ल्याउने बताए । 
 

प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६  १५:३८
प्रतिक्रिया दिनुहोस्