site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ठाउँ खोज्‍ने समयसीमा सकियो, कहिले ल्याइन्छ वुहानका नेपालीलाई स्वदेश ? 

काठमाडौ । कोरोना प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिक ल्याउन सरकार सुस्त देखिएको छ । सरकारले पाँच दिनदेखि चीनबाट उद्धार गरेर ल्याएका नागरिक राख्ने स्थानको खोज्‍ने कार्य सुरु गरेको भए पनि कहाँ राख्‍ने भन्‍ने निर्क्यौल गरिसकेको छैन । सरकाले मंगलबार साँझ सम्ममा चीनबाट ल्याएका नेपालीलाई राख्‍ने ठाउँ पत्ता लगाएर त्यसको दुईदेखि तीन दिनभित्रमा ल्याउने तयारी थियो । तर, स्थान खोजी गर्ने समयसीमा मंगलबार सकिएको छ ।

 नेपालीहरुलाई वुहानबाट ल्याएर कहाँ राख्‍ने भन्‍ने स्थान निर्क्यौल क्यौल हुन नसक्दा नेपालीहरुलाई ल्याउन ढिलो भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । उनले भने,  “मंगलबार बेलुकासम्ममा सिफारिस गरेकामध्ये कुनै स्थान पनि निर्क्यौल भएन । सम्भवत: आजको बैठकले निर्णय गर्नेछ ।”

मन्त्रालयका ससचिव डा. दिपेन्द्र रमण सिंहले मंगलबार बेलुकाको बैठकमा राख्‍ने स्थानसँगै बजेटका विषयमा छलफल भएको बताए । उनले मंगलबार बेलुका मुख्यसचिवको अध्यक्षतामा बसेको बैठकले विभिन्‍न विषयमा छलफल गरेपनि कुनै निर्णय नभएको बताए । उनले भने, “बुधबार बस्‍ने बैठकले केही निर्णय गर्छ ।”

मन्त्रालयका सहप्रवक्ता सागर दाहालले स्थान खोज्‍ने मात्र होइन्, स्वास्थ्यकर्मी व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले ढिलो भएको बताए । उनले भने, “राख्‍ने स्थान मात्र निर्क्यौल गरेर हुँदैन्, खानपानको व्यवस्थासँगै लगाउने कपडा र स्वास्थ्यकर्मीको समेत व्यवस्था गर्नुपर्ने भएकाले ढिलो भएको हो ।” उनले सरकार चीनमा रहेका नेपालीलाई उद्धार गरेर छिटै ल्याउने तयारीमा रहेको बताए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन समिति बनाएर स्थान खोज्‍ने काम सुरु गरेको थियो । त्यो समितिलाई निर्देशन दिन स्वास्थ्यमन्त्रीको संयोजकत्वमा समिति बनेको हो ।

गृह मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले कहिले फर्काउने भन्‍ने स्वास्थ्य मन्त्रालयको तयारीमा निर्भर रहने बताए । उनले भने, “परराष्ट्र मन्त्रालयले चिनियाँ राजदूतावाससँग छलफल र सहकार्य गरिरहेको छ ।”

नेपालमा क्‍वारेन्टाइन सेन्टर नभएका कारण पनि कहाँ राख्‍ने भनेर समस्या भएको गृह मन्त्रालयले जनाएको छ । 

उनीहरुलाई छुट्टै गेटबाट क्‍वारेन्टाइन एरियासम्म लैजाने व्यवस्था मिलाइएको पर्यटन मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले राख्‍ने ठाउँको निधो नगर्दा चीनबाट नेपाली ल्याउन अझैं ढिलाइ भएको मन्त्रालयकै कर्मचारीहरु बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ जनालाई आशंकामा नमुना परिक्षण गर्दा १३ जनाको रिर्पोटमा केहि नदेखिएको एक जनाको मात्र कोरोनाको संक्रमण देखिएको जनाएको छ । 

कोरोनाको परीक्षण तथा उपचारका लागि सरकारले पाँच वटा केन्द्रीय अस्पताल र अन्य १३ वटा स्याटेलाइट अस्पतालका ४३ वटा बेड छुट्याइएको छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन विज्ञान प्रतिष्ठान, निजामति अस्पताल (सिभिल), त्रिवि शिक्षण अस्पताल, वी अस्पतालमा आइसोलेसनसहिका ४३ वटा वेडहरु छुट्याएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

चीनस्थित नेपाली राजदूतावासमा १ सय ८० जना नेपालीले स्वदेश फर्कनका लागि फाराम भरेका छन् । 

मंगलबार नेपालस्थि चिनियाँ राजदूतले एक विज्ञप्तिमार्फत चीनमा रहेका कुनै पनि नेपालीलाई कोरोनाको संक्रमण नभएको बताएकी थिइन् । 

चीनको हुबेइ प्रान्तको वुहानबाट सुरु भएको कोरोना संक्रमणका कारण ४२७ जनाको मृत्यु भइसकेको छ भने २४ हजारभन्दा बढी संक्रमित भएका छन् । कोरोनाका कारण चीन बाहिर फिलिपिन्समा एकजना र हङकङमा एकजनाको मृत्यु भएको छ । 

चीनको हुबेइ प्रान्तको वुहानमा रहेका नेपालीहरु छिटो उद्धार गरेर आफूलाई स्वदेश फर्काउन माग गरेका छन् । अमेरिका, बेलायत, भारत, जापान, अस्ट्रेलियालगायतका देशहरुले वुहानमा रहेका आफ्ना नागरिकलाई उद्धार गरेर लगिसकेका छन् । 

प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro