site stats
बाह्रखरी :: Baahrakhari
देश
महानगरको करियर क्याम्पमा विद्यार्थीका योजना

काठमाडौं । दक्ष जनशक्ति निर्माण गर्न काठमाडौं महानगरपालिकाले सुरु गरेको करियर क्याम्प प्रभावकारी भएको विद्यार्थीले बताएका छन् । 

काठमाडौँ महानरपालिकाको सहरी योजना आयोगले विद्यार्थीलाई व्यावहारिक कार्यकुशलताका लागि अवसर प्रदान गर्ने उद्देश्यका साथ २०७५ साउन १ गतेबाट वर्षमा दुईवटा (६–६ महिना) करिअर क्याम्प सञ्चालन गर्न सुरु गरेको थियो ।

महानगरले स्नातक तह पास भएका सिभिल इन्जिनियर, आर्किटेक र अर्बान प्लानर गरेर तीन संकायमा १६ जना विद्यार्थीलाई उक्त अवसर प्रदान गर्दै आएको छ । उनीहरूलाई निष्पक्ष रूपमा छनोट गरी एक सेसनका लागि छ महिनासम्म प्रशिक्षार्थीका रूपमा लिइएको महानगरले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसैबीच बाह्रखरीसँग कुरा गर्दै काठमाडौं महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले सहरी योजना आयोगको गठन भएसँगै अर्वान इन्फास्टक्चरका आफ्नै डिजाइन हुनुपर्छ भन्ने सोचका साथ हेरिटेज कन्जरभेसन, पार्क निर्माण तथा सामुदायिक स्तरका आयोजनाहरूको डिजाईन गर्ने भन्दै कुनै टिमले यी सबै काम गर्न सकुन भन्ने उद्देश्यले करियर क्याम्प सुरु गरेको जानकारी दिए ।

बस्नेतका अनुसार २०७५ साउन १ गतेबाट सुरु भएको क्याम्पमा हालसम्म तेस्रो व्याचले आफ्नो सेसन पूरा गरिसकेका छन् भने चौथो व्याचको आवेदनका लागि विज्ञापन आह्वान गरिएको छ ।

“तेस्रो व्याचसम्म पूरा गरेका विद्यार्थीले सानापाटी, सामुदायिक स्तरका पार्क, मन्दिर सामुदायिक तथा वडा भवन, करिडोर लगाएत प्रोजेक्ट निर्माण गरेका छन्,” उनले भने ।

यसैबीच महानगरको करियर क्याम्पमा सहभागी विद्यार्थीले महानगरको सहरी योजना आयोगले सुरु गरेको करियर क्याम्पले आफ्नो भविष्य निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

बाह्रखरीसँग कुरा गर्दै क्याम्पमा सहभागी पूर्वविद्यार्थी प्रिया श्रेष्ठले आफूले महानगरको करियर क्याम्पमा बिताएको ६ महिनाको समय एकदमै प्रभावकारी भएको बताइन् ।

“महानगरले सुरु गरेको करियर क्याम्पमा ६ महिना काम गर्दा, विज्ञहरूले क्लास पनि दिनुभयो, काम कसरी गर्ने, केके काम गर्ने भनेर विज्ञहरूले क्लास लिनुभएको थियो, त्यही अनुसार हामीले विभिन्न डिजाइनहरू बनायौं, हामीले बनाएको डिजाइनअनुसार नै ओम बहालस्थित सहिद धर्मभक्त माथेमाको पार्क निर्माण भएको छ ।

आफूले सोचेर बनाएको कुरा रियलमा हेर्न पाउँदा खुसी लाग्दो रहेछ,” उनले भनिन्, ‘‘लगन पार्क, वाग्मतीनगर पार्क, मचांग पार्क, शान्ति नमुना पार्क, वडा भवन लगायतका डिजाइन तयार पारेका थियौं । हामी विद्यार्थीलाई एकै पटकमा ठूला–ठूला डिजाइन गर्न कसैले दिँदैन तर महानगरले आयोजना गरेको करियर क्याम्पले अनुभव प्राप्त गर्न ठूलो भूमिका खेलेको छ । 

त्यसैगरी, अर्को विद्यार्थी प्रज्योल हाडाको अनुभव पनि उस्तै, छ । स्नातकपछिको समयमा वडा स्तरीय प्रोजेक्टका लागि हामीले काम गर्‍यो । महानगरले राम्रो अवसर दियो एकदमै खुसी छु ।” उनले भने 
त्यस्तै, अर्का विद्यार्थी विकेश श्रेष्ठको भनाइ पनि उस्तै छ । महानगरले सुरु गरेको करियर क्याम्पले भविष्य निर्माण गर्न बाटो खुलेको उनको भनाइ छ ।

“हामी भर्खरै स्नातक तह सकेर बसेका विद्यार्थीले पढेका कुरालाई प्रोजेक्टमार्फत् व्यवहारमा उर्तान पायौं । र टेक्निकल फिल्डसँगै कसरी बोल्ने, प्रस्तुति समेत कसरी दिने भन्ने कुराको जानकारी पाइयो, महानगरको करियर क्याम्पले वेश राम्रो बनेको छ, अन्य ठाउँमा काम गर्न पनि सजिलो हुन्छ ।”

के हो करियर क्याम्प ?
करियर क्याम्प कार्यविधि २०७५ बनाएर प्रशिक्षार्थी छनोट गरिएको महानगरले जनाएको छ । करियर क्याम्पमा सञ्चालन गरिने कक्षामा सम्बन्धित विषयका विज्ञले समेत प्रशिक्षण दिनेछन् ।

सय कक्षामा दैनिक तीन घण्टा कक्षा सञ्चालन गर्ने र १० देखि ५ बजेसम्म विद्यार्थीले काम गर्नुपर्नेछ । जुन काम महानगरले पहिचान गरेका वडाका मझौला तथा साना योजना तथा परियोजनाका हुनेछन् । १६ विद्यार्थीको ५ वटा समूह बनाई एक गु्रपमा सबै सिभिल इन्जिनियर, आर्किटेक र अर्बान प्लानर सबैको संयोजन गरेर समूह बनाइन्छ ।

महानगरले निर्देशित गरेका ठाउँमा स्थलगत अध्ययन, अनुसन्धान गरी योजना बनाउँछन्  । उनीहरूको त्यो योजनालाई माथिल्लो स्तरका इन्जिनियरले मनिटरिङ गर्नेछन् र सुझाव दिने गरिन्छ  । तर, उनीहरूले पनि नसकेको अवस्थामा अझ माथिल्लो लेभलबाट सुझाव दिइनेछ । जस अनुसार सदस्य, सहायक विज्ञ र एन्टर्नर विद्यार्थीको सहयोगमा प्रोजेक्ट बैँक बनाउन सकिन्छ ।  

क्याम्प समाप्त भएपश्चात् विद्यार्थीलाई प्रमाणपत्रसहित अवार्ड प्रदान गर्नुको साथै छ महिनासम्म मासिक २५ हजार (सुरुवातमा १५ हजार दिइएको थियो) समेत प्रदान गरिनेछ । विद्यार्थीले प्रशासन, कानुन, सार्वजनिक प्रशासन, स्थानीय विकास प्रोजेक्ट व्यवस्थापन, योजनालगायतका विषयमा पूर्ण जानकारी प्राप्त गर्ने र यसको उद्देश्य प्रोजेक्ट बैंक बनाउने रहेको छ ।

विद्यार्थीले कस्ता प्रोजेक्ट बनाए ?
सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले दिएको जानकारी अनुसार पहिलो सेसनमा समावेश भएका विद्यार्थीले २९ वटा प्रोजेक्ट सम्पन्न गरेका थिए । जस अन्तर्गत कमल पोखरी संरक्षण योजना, सम्पदा क्षेत्र (वसन्तुपर, स्वयभु), विष्णुमती करिडोर, मन्दिर, वडा भवन, सार्वजनिक शौचालय, वाग्मती संरक्षण तथा ग्रिनरी लगायतका २९ वटा प्रोजेक्टको काम सम्पन्न भएको थियो ।

त्यसैगरी, दोस्रो सेसनमा १४ वटा र तेस्रो सेसनमा आठ वटा प्रोजेक्ट निर्माण भएका छन् । निर्माण भएका विभिन्न प्रोजेक्ट मध्ये कतिपयमा काम सम्पन्न भइसकेका छन् भने कतिपय सञ्चालनमा रहेका छन् ।
 

प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  १५:०८
प्रतिक्रिया दिनुहोस्