काठमाडौं । सरकारले चीनको हुबेइ प्रान्तको वुहानमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउने तयारी गरिरहेको छ । तर, उनीहरुलाई ल्याएर राख्ने ठाउँ नहुँदा उद्धारमा ढिलाइ भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले चीनको वुहानमा रहेका नेपाली नागरिकलाई फिर्ता ल्याउने निर्णय गरेको थियो । उनीहरुलाई नेपाल ल्याउन बेइजिङस्थित नेपाली दूतावासले आइतबार बिहानसम्म आफ्नो विवरणसहितको फाराम भर्ने सूचना जारी गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीनको वुहानमा अहिले १७७ जना नेपाली विद्यार्थी छन् । तर, उनीहरुलाई नेपाल ल्याउने तयारी पूरा गरेको सरकारले बताए पनि ल्याएर कहाँ राख्ने भन्ने अन्योल छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनको हुबेइ प्रान्तको वुहानमा रहेका नेपालीहरुलाई उद्धार गरेर ल्याए पनि हाल राख्ने स्थान नभएको बताए । “चीनको हुबेइ प्रान्तको वुहानमा उद्धार गरेर ल्याएका नेपालीहरुलाई दुई सातासम्म छुट्टै राख्नुपर्ने हुन्छ तर त्यसका लागि राख्ने सुरक्षित स्थान छैन,” उनले भने, “स्वास्थ्य मन्त्रालयले तीन तहमा कमिटी बनाएर राख्ने स्थानको अध्ययन गरिरहेको छ । हालसम्म सो समितिले भक्तपुरको विद्युत तालिम केन्द्र, भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको हल, स्टाफ कलेज जावलाखेल र किर्तिपूरस्थित आयुर्वेदिक अस्पताल सम्भावित सुरक्षित स्थानको सूचीमा छन् । सुरक्षित राख्ने स्थान निर्क्यौल हुने बित्तिकै तुरुन्तै उद्धार गरिन्छ ।”
त्यस्तै,चीनस्थित नेपाली राजदूतावासका अनुसार आइतबार बिहान ९ बजेसम्म १ सय ७७ जना नेपालीले स्वदेश फर्कन आवेदन दिएका छन् । चीनबाट फैलिइरहेको कोरोना भाइरसबाट फिलिपिन्समा पनि एकजनाको मृत्यु भएको छ ।
स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाई प्रमुख सागर दाहालले चीनको हुबेइ प्रान्तको वुहानमा कोरोना भाइरस संक्रमण भएकालाई नभई स्वस्थ व्यक्तिलाई ल्याएर आउने भएकाले रोग फैलिने सम्भावना नभएको बताए । नेपालमा हालसम्म एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने चारजना संक्रमण भएको आशंका गरिएको छ । तर, रिर्पोटमा केही देखिएको छैन भने एक जनाको रिर्पोट आउन बाँकी रहेको दाहालले बताए ।
स्वास्थ्य मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गर्दै चीनबाट आउने सबैलाई उताको विमानस्थलमा स्वास्थ्य परीक्षण गरिने र नेपाल आइपुग्नेलाई पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गरी संक्रमित ठहरिए उपत्यकाका तोकिएका अस्पतालहरुमा आइसोलेसन वार्डमा रखी उपचार गरिने छ ।
बजारमा मास्कको अभाव छैन : प्रवक्ता
सरकारले चीनमा देखिएको नोभेल कोरोना भाइरस नियन्त्रणको तयारीका लागि विभिन्न मेडिकल सामग्रीहरु मौज्दात राख्न निर्देशन दिएको छ । तर बजारमा मास्कको अभाव भएको गुनासो आउने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालबाट भारत जाने मास्क रोक्न भन्सारका महानिर्देशक र अध्यागमन विभागलाई निर्देशन दिइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । “विभागले भारत मास्क पठाउन रोकेको छ तर चीनमा मास्क पठाइरहेको छ,”उनले भने “नेपालमा मास्क अभाव छैन ।”
स्थानीय तहमा उत्पादन हुने जुन ३ देखि ५ रुपैयाँसम्म पर्ने मास्क दैनिक तीन हजार उत्पादन गर्दै आएकोमा सो उत्पादनदर बढाउन औषधी व्यवस्था विभागले रसायत तथा मेडिकल आपूर्ति संघलाई निर्देशन दिएको छ ।
“आवश्यक पर्ने विभिन्न किसिमका स्वास्थ्य सामग्रीहरु जस्तै मास्क, ग्लोबस्को अत्यधिक माग भइरहेको र बजारमा अभावको स्थिति देखिएको छ,”औषधी व्यवस्था विभागले रसासय तथा मेडिकल आपूर्ति संघलाई पत्र लेखेको छ ।
यस्ता सामग्रीहरु पर्याप्त निर्यात नगर्न तथा नगराउन, स्थानीय उत्पादकको क्षमता विभागमा जानकारी गराउन, खुला विक्रि नियन्त्रित रुपमा देशैभरि उपलब्ध हुने व्यवस्था मिलाउन तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्रि नगर्न पनि विभागले निर्देशन दिएको छ ।
निजी ल्याबहरुले जबरजस्ती कोरोनाको परीक्षण गराउँदै
निजी ल्याबहरुले वैदेशिक रोजगारीमा जानेसँग मनोमानी रुपमा कोरोना भाइरसको परीक्षण सुरु गरेका पाइएको छ । विदेश जाने मानिसहरुलाई जबरजस्ती कोरोनाको परीक्षण गराउने र रिर्पोट लिएर जाने भनेका देखिन्छ तर उक्त परीक्षण स्वास्थ्य नियमभित्रसमेत नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले मेनपावर व्यसायी र ल्याब सञ्चालकहको मिलेमतोमा कोरोना भाइरसको परीक्षणका लागि २५ हजारसम्म लिने गरेको गुनासो आएको बताए ।
उनले भने “निजी ल्याब सञ्चालकहरुले कोरोना परीक्षणलगायत जाँच गर्न २५ हजारसम्म लिने गरेको गुनासो आएको छ । त्यस विषयमा मन्त्रालयमा छलफल भएको छ । छिटै सूचना जारी गरेर कारबाही गरिने छ ।”