विवेकशील नेपाली दलले केही दिनअघि सबैलाई अचम्म पार्दै काठमाडौं महानगरपालिका प्रमुख (मेयर)मा रन्जु दर्शनालाई उमेदवार बनाउने घोषणा गरेर राजनीतिक वृत्तमा एक किसिमको तरङ्ग नै ल्यायो । सधै पटकपटक असफल नेता अनि पुरानै दलबाट आजित नागरिक सामु अप्रत्याशित प्रत्याशी अगाडि आउँदा चर्चा धेरै हुनु अस्वाभाविक हैन ।
पहिलो त नेतृ रन्जुको उमेरको आवश्यकताभन्दा बढी चर्चा भयो । कारण थियो प्रौढमात्र उमेदवार हुने नियमितताको क्रमभंगता । नेपाली राजनीतिमा यति सानो उमेरमा त्यो पनि महिलाले काठमाडौँ महानगरपालिकाको मेयरमा उमेदवारी दिने आँट आजसम्म गरेकै थिएनन् । साथै, अहिलेको स्थितिमा काठमाडौँको मेयरका लागि नयाँ वैकल्पिक भनिएका २ दलबाट पहिलो उमेदवारी आउनु र त्यो उमेदवारी सबै हिसाबले नदीका दुई किनारजस्तो रहेकाले पनि यो चर्चाको विषय बन्यो । साथै, स्थानीय तहमा देश कै ठूलो पदका निम्ति प्रत्यक्ष हुने निर्वाचनमा महिलाको उमेदवारीले पनि यो थप रुचिको विषय बन्यो ।
यस लेखमा रन्जुको उमेदवारीले सृजना गरेको बहसमा उनको सहकर्मी अभियन्ताका रूपमा आफ्नो धारणा राख्नेछु ।
नेपालको कानुनबमोजिम स्थानीय तहमा उमेदवारी दिन २१ वर्ष हुनपर्ने व्यवस्था छ । त्यस आधारमा नेपालको कानुनअनुसार रन्जुको उमेदवारी उपयुक्त छ । तर, नेपाली राजनीतिमा यस उमेरका युवाको उपस्थिति ढुंगामुढा गर्ने तहमा मात्रै कल्पना गरिन्छ, निर्णायक तहमा अनुभवको आडमा अझै पनि कपाल फुलेकाहरू बाहुल्य छ।
रन्जु मेयरको उमेदवारको रूपमा पार्टीमा प्रतिस्पर्धा नै गरेर अघि बढेकी हुन् । रन्जुलाई धेरैले उनको उमेर र महिला भएको आधारमा चर्चा गर्ने भए पनि दलले त्यसलाई उनको योग्यता मानेको छैन । उनको नेतृत्व क्षमता, जवाफदेही, साहस, जोस, जाँगर र मुख्य त प्रतिबद्धता पत्रमा आधारित भएर रन्जुको उमेदवारीको निर्णय भएको हो ।
तर, चर्चा हुनै पर्ने यस विषयमा भने ज्यादै कम चर्चा भएका छन् । नेपाली समाजले उमेदवारको नीति र प्रतिबद्दता होइन उमेदवारसँगको आफ्नो नाता सम्बन्ध खोज्छ । यो नातावाद र नोटवादको राजनीति तोड्न हरेक उमेदवारको पदका लागि उमेदवारी उसको तयारी, संकल्प र नेतृत्व क्षमताको आधारमा तय गरिनुपर्छ । रन्जुको उमेदवारीले यो पृथक राजनीतिलाई स्थापित गर्नुपर्छ ।
चुनावी मेल
साझा पार्टीका उमेदवार किशोर थापा सहरी विकासका विज्ञ हुन् र त्यसै क्षेत्रमा उनको लामो समयको कार्य अनुभव छ । उनको ज्ञान र अनुभवलाई सबैले स्वीकार्नु पर्छ । विवेकशीलले पनि आफ्नो उमेदवार दलको नीतिबमोजिम उठाएको छ । तर चर्चामा दुवै दलको विचार, उद्देश्य र मूल्य मान्यता एकै किसिमको भएकोमा मिलेर जानुपर्ने वा एकीकरण गरेर साझा विवेकशील दल बनेर अघि बढ्न सुझाइने गरेको छ ।
पार्टीको मान्यता र लक्ष्य उही हो भने विवेकशील नेपाली स्थापित भइसकेको स्थितिमा साझा दलको आवश्यकता किन पर्यो ? नयाँ दल नै खोलेर समान विचारको दलसँग प्रतिस्पर्धा किन गर्नुपर्यो? यस्ता प्रश्न पनि सतहमा आउनुपर्छ । अन्यथा, के “साझा पार्टी पुस्ताअन्तर कै उपज हो त?” भन्ने प्रश्न चिह्न रहिरहने छ ?
तर, चुनावी तालमेलको नाममा रन्जुलाई पछि हट्न बाध्य भने पार्नु हुँदैन । किनभने रन्जु रुढीग्रस्त राजनीतिक सोच र परिपाटीको अन्त्यको उद्घोष हो ।
रन्जुलाई अघि सार्नुको र भोट दिनुपर्ने केही स्पष्ट कारण यस प्रकार छन् : -
पहिलो कारण : नेतृत्व क्षमता
गोरखाका राजा पृथ्वीनारायण शाहले २० वर्षको उमेरमा नेपाल एकीकरण अभियान सुरु गरे र २१ वर्षको उमेरमा पहिलो जित हासिल गरे । उनको जितको सिलसिला अर्को सय वर्ष रहिरह्यो ।
भारतमा पनि त्यस्तै भयो । विशाल भारत बनाउन चाणक्यले वैचारिक नेतृत्व गरे तर मैदानको कार्यसम्पादनको नेतृत्व उनका शिष्य चन्द्रगुप्तले गरे । र उनले २० वर्षको उमेरमा विशाल भारतको स्थापना गरे । उनकै समयमा भारतमा आर्थिक, सामाजिक र राजनीतिक परिवर्तन भयो, ठूलो फड्को मार्यो ।
एपल कम्प्युटरका निर्माता स्टिभ जब्ससँग नेतृत्व क्षमता थियो, भिजन थियो, काम गर्ने साहस थियो तर उनलाई कम्प्युटर हार्डवयर र प्रोग्रामिंग बारेमा कत्ति पनि ज्ञान थिएन । यस्ता हजारौं उदाहरण भेट्न सकिन्छ जसमा युवाले नेतृत्व गरेर सफल भएका छन् र विश्व कीर्तिमान राखेका छन् ।
राजनीतिमा उत्रिएकी रन्जुसँग राजनीतिक यात्राको अनुभव छ । महाभूकम्पमा विवेकशीलको सहयोग अनि उद्धारमात्रै होइन राजनीतिक अभियानमा उनको योगदान उमेरका हिसाबले अतुलनीय थियो । यसबीच दर्जनौं अभियानको नेतृत्व गर्दै आएकी नेतृ रन्जुले पछिल्लो समय भ्रष्टाचारविरुद्धको अभियानको नेतृत्व गरेकी थिइन् ।
भ्रष्टाचारले गाँजेको काठमाडौँको ३५ वटै वडामा पारदर्शिताका निम्ति सूचनाको हक प्रयोग गरेर वडा कार्यालयहरूलाई सजग गराएको अनुभव छ । डा. गोविन्द केसीको सत्याग्रहमा युवा सहभागिताको प्रेरकमध्ये रन्जु एक थिइन् र लोकमान सिंह कार्की विरुद्धको मुख्य अभियन्तामध्ये पनि उनी एक थिइन् । त्यसैले उमेर होइन समाधानको लागि उमेदवारको संकल्पसँगै आउने 'थिम' र 'टिम' मह्त्वपूर्ण हुन्छ ।
दोस्रो कारण : प्रतिबद्धता पत्र
स्थानीय चुनावमा अधिकांश राजनीतिक दल वा नेताले आफ्नो घोषणापत्र देशभरको लागि एउटै बनाउने गर्छन् । तर, विवेकशील नेपाली दलकी रन्जुको समूहले १७०० घरधुरीमा सर्वे गरेर काठमाडौंको आवश्यकता आकलन गरी आफ्नो प्रतिबद्धतापत्र ल्याएका छन् । यसले काठमाडौंलाई भ्रष्टाचारमुक्त, सुशासन र सुविधायुक्त सहर बनाउने लक्ष्यका साथ योजना प्रस्तुत गरेको छ । त्यो योजना र कार्यान्वयन दुवैमा केन्द्रित छ । अर्को दलमा उमेदवारी देख्न पाइयो तर कुनै कार्यपत्र देख्न पाइएको छैन ।
रन्जुले मेयर पदमा उमेदवारी दिनुअघि आफूलाई त्यसका लागि तयार गरेकीछन् । उनी र उनको समूहले ल्याएको काठमाडौंका मुख्य समस्य, प्रतिबद्धता र कार्यपत्र तयार गर्नमात्र सयौंको संख्यामा दलका नेता, सदस्य र स्वयंसेवकले निरन्तर तीन महिनाको सर्वेक्षण, खोज, अन्वेषण गरेका छन् ।
काठमाडौंका नागरिकबीच गरिएको सर्वेको आधारमा स्थानीय समस्याको पहिचान गरी त्यसको समाधान दिने प्रयास गरिएको छ । जनसहभागितामा विश्वाश गर्ने नेतृत्वको गुण हो । त्यसको पूर्वतयारी हरेक नेतृत्वको पहिलो प्राथमिकता हो । अल्पकालीन लाभमात्र हेर्ने राजनीतिक नेताबाट पीडित हामी माझ दूर दृष्टि राख्ने नेतृत्व तयारीका साथ विवेकशील आउनु उदाहरणीय छ ।
तेस्रो कारण: नयाँ पुस्ता र अभूतपूर्व अवसर
रन्जुको उमेदवारी युवा आकांक्षाको अभिव्यक्तिका दृष्टिमा पनि सही छ । उनले युवालाई राजनीतिमा आशा थपिदिएकी छन् । यसलाई पृथक राजनीति गर्नेहरूले पनि स्वीकार गर्नुपर्छ ।
किशोर थापाको भूमिका चाणक्यको जस्तो राष्ट्र निर्माणमा मार्गदर्शक र अविभावक हुनुसक्छ तर नेतृत्वका लागि भने रन्जुलाई अघि सार्नुपर्छ । यसले अग्रज र युवा पुस्ताबीच सेतुका रूपमा भूमिका निर्वाह गर्न दुवैलाई ऐतिहासिक, यथार्थपरक र सम्मानजनक स्थान दिनेछ ।
सबै दलले महिलालाई दोस्रो स्थानमा राख्ने गरेका छन् र त्यो पनि बाध्यताका कारण । तर, विवेकशील नेपाली दलको नीतिले रन्जुलाई पहिलो स्थान दिलाएको छ । यो आफैँमा उल्लेखनीय विषय हो र चुनौती तथा अवसर पनि हो । त्यसलाई उनले बोध गरेकी छन्, स्वीकारेकी छन् । रन्जु एक्ली छैनन् । उनको दलको टोलीमा देशविदेशमा काम गरेका अनुभवी विज्ञ छन्, कर्मशील युवा छन् ।
अहिलेको आवश्यकता सबैसँग समन्वय र सहकार्य गर्ने सक्ने, दक्षता, विज्ञता समयानुकूल प्रयोगमा ल्याउन सक्ने समन्वयकारी भूमिका खेल्ने परिणाममुखी नेतृत्वको हो ।
यस अर्थमा रन्जुमा नेतृत्व गुण पर्याप्त रहेको पुष्टि भइसकेको छ । काठमाडौँको लक्ष्य प्राप्तिका लागि सहयोग गर्न उनलाई उनको दलको परिपक्वता र दक्षताले साथ दिएको विषय प्रचारमा आएको सामग्रीबाट स्पष्ट हुन्छ । कहिलेकाहीँ नियतिले नेतृत्व चुन्छ । एक भोट पनि निर्णायक हुन्छ । तर, मेयरको विश्वसनीय उमेदवारका रूपमा उनले आफ्नो योग्यता प्रस्तुत गरिरहेकी छिन् र आउने दिनमा अझै देखिँदै जानेछ ।
हामी समाधानमुखी राजनीतिको कुरा गर्छौं भने युवामा भएको समाधान खोज्ने दृढता र जाँगरलाई समाधान शून्य अनि परिणाम शून्य अनुभवको सामु घुँडा टेक्न लगाउने गनगन किन ?
दुई दलको मिलोमतो हुने भएमा वा नभएमा पनि रन्जुको खुट्टा नतानियोस् । किनभने यसले समग्र युवाको खुट्टा तानिनेछ, देशको गति रोकिनेछ । युवा साहसमा ठेस पुग्ने र रन्जुको वेग रोक्ने विषय साझा र विवेकशील नेपालीको सौदावाजी वा क्षणिक लाभको सम्झौताको सिकार नबनोस् । यो हजारौं युवाको आवाज हो । अब युवाको नेतृत्वलाई तिनका क्षमताका आधारमा स्थान दिनै पर्छ ।
उनलाई गति दिनुपर्छ, बग्न दिनुपर्छ, अझ तिखारिन, निखारिन दिनुपर्छ । ऊसँगै देशको उज्ज्वल भविष्य उदाउँदो छ ।
देशले रन्जुजस्तो युवा नेतृत्व खोजिरहेको छ । उनको जस्तो देश प्रेम खोजेको छ । उनको जस्तो साहस र समाधानको दृढता खोजेको छ । आज रन्जु हजारौं युवाकी प्रतिनिधि र आशाकी केन्द्र हुन् । उनीसँग नेतृत्व क्षमता छ, जोस, जाँगर छ, काम गर्न 'भिजन' र सपना छ, सहयोगी टोली छ, हजारौंलाई नेतृत्व गरेको अनुभव छ । केही गर्छु भन्ने अठोट छ भने युवा वा महिला भएकै आधारमा नेतृत्व गर्नबाट वञ्चित गराइनु हुन्न ।
उनलाई अतिवादी आलोचनाको हैन साथ, समर्थन र रचनात्मक सहयोगको खाँचो छ । युवा माझ देशको स्थिति र विशेषगरी राजनीतिलाई लिएर वितृष्णा जागिरहेकोमा रन्जु जुन साहस र अठोट लिएर परम्परागत मान्यतालाई तोड्न मैदानमा छिन् त्यसमा साथ दिने जिम्मेवारी हाम्रो पनि हो ।