काठमाडौंको मुटु कमाउने जाडो । विसं २००८ साल माघ ८ गते । प्रधानमन्त्री मातृकाप्रसाद कोइराला लाजिम्पाटको एउटा सानो भाडाको बंगलामा बस्थे । काठै काठको दुई तले त्यो घरमा प्रशस्त घाम ताप्ने ठाउँ थियो । वरपर खुल्ला स्थान र बगैँचा ।
प्रधानमन्त्री पुत्र कमल अन्य सदस्यहरुका साथ घाम तापेर बसेका थिए । त्यति नै बेला रक्षा दलका सदस्यहरुले विद्रोह गरेको सनसनीपूर्ण खबर आइपुग्यो ।
पराजुली थरका क्याप्टेनले अत्तालिएर प्रधानमन्त्रीसँग भने – ‘हजुर रक्षा दलमा विद्रोह हुँदैछ भन्ने सूचना आएको छ । प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई नियन्त्रणमा लिने कुरा छ रे !’
क्याप्टेनको त्यो अप्रत्याशित सूचनाले प्रधानमन्त्रीमा सम्भावित दुर्घटनाको त्रास थपियो ।
सोधे – ‘कसले गर्दैछ ?‘
क्याप्टेन पराजुली बेलिविस्तार लगाउन थाले – ‘हजुर रक्षा दलले ।’
प्रधानमन्त्रीले फेरि सोधे – ‘पक्का हो ।’
सात दशकअघिको त्यस घटनाबारे प्रधानमन्त्री पुत्र कमलले लेखकलाई सुनाए –‘सानै भए पनि म बुझ्न सक्ने भइसकेको थिएँ । क्याप्टेन पराजुली भन्दै थिए पक्का भन्न त सक्दिन प्रधानमन्त्रीज्यू तर यस्तो कुरा भइरहेको छ । विद्रोह कुन दिन कुन बेला हुन्छ ठेगान छैन ।’
प्रधानमन्त्री क्याप्टेन पराजुलीलाई एकपछि अर्को प्रश्न सोध्न थाले – ‘विद्रोहमा क–कसको हात छ ? को को संलग्न छन् ? जीबी याकथुम्वालगायतका रक्षा दलका ठूला अफिसर छन् ? छैनन् ?’
क्याप्टेन पराजुलीले भने – ‘उनीहरु त यसमा छैनन् तर योजनाकारहरु भन्दैछन् रे प्रधानमन्त्री र मन्त्रीहरुलाई थुनिसकेपछि त उनीहरुले साथ दिइहाल्छन् नि ।’
प्रधानमन्त्री निवासमा राष्ट्रिय सेनाले सेन्ट्रीको जिम्मेवारी लिएको थियो ।
राणा र उनीहरुका विश्वासपात्रकै बाहुल्य भएकाले राष्ट्रिय सेनामाथि विद्रोहबाट आएको सरकारको पूर्णविश्वास थिएन ।
त्यसैले सुरक्षाको मुख्य जिम्मेवारीमा रक्षा दललाई राखिएको थियो ।
राणाविरुद्ध लडेको मुक्ति सेना (प्रजातन्त्रपछि रक्षा दलमा परिणत) कै योद्धाबाट विद्रोह हुन लागेको सूचनाले प्रधानमन्त्रीलाई थप चिन्तित बनाइरहेको थियो ।
जसले विद्रोह गर्दै छ भन्ने सूचना प्रधानमन्त्री पाइरहेका थिए क्रान्तिकालमा उनी आफैँ त्यसको सर्वोच्च कमान्डर थिए । तिनैले त जनताका छोराछोरीको तर्फबाट पहिलोपटक उनलाई प्रधानमन्त्री बन्ने अवसर दिलाएका थिए ।
संयोगले त्यो दिन प्रधानमन्त्रीका बडीगार्ड पनि बिदामा बसेको मौका थियो ।
खेमबहादुर भन्ने लेफ्टिनेन्ट र क्याप्टेन पराजुलीमात्र माथिल्लो तहका सुरक्षा अधिकारी निवासमा थिए ।
कमलले सम्झिए – ‘बाबाले सल्लाहका लागि क्याप्टेन पराजुलीलाई बोलाउनु भयो । उनीहरुले के सल्लाह दिए भने अब रक्षा दलका मानिसहरु यहीँ आउन सक्छन् । बरु त्यसअघि नै प्रधानमन्त्रीज्यूले सपरिवार यो ठाउँ छोड्नु उपयुक्त हुन्छ ।’
विद्रोही फौज कति बेला आउने हो ? आइहाल्यो भने उनीहरुबाट प्रधानमन्त्रीलाई जोगाउन सकिन्छ भन्ने विश्वास उनको सुरक्षामा खटिएका अधिकारीलाई भएन । त्यसैले त्यस प्रकारको सुझाव दिएका थिए तिनले ।
रमाइलो त के भने प्रधानमन्त्रीका ड्राइभर थिए गुभाजु भन्ने एक गैरसैनिक । अब त्यो बेला यस्तो काण्ड होला भन्ने कल्पनै भएन । हरेक साँझ गुभाजु प्रधानमन्त्री निवासमा मोटर पार्क गर्थे अनि उज्यालैमा साँचो बोकेर घरतिर लाग्थे ।
प्रधानमन्त्रीका बडीगार्डहरु चढ्ने जिपको ड्राइभर पनि बाहिरकै थिए । उनी पनि काम सकेर बेलैमा घरतिर लागिसकेका थिए । जाडोको बेला पाँच बजे त सबै घरभित्र पसिसक्थे । सिंगो काठमाडाैं सुनसान हुन्थ्यो ।
कमलले सुनाए –‘प्रधानमन्त्रीको साथमा रहेका दुवै गाडीको साचोँसमेत छैन । भए त कसैले हाँक्न पनि सक्थ्यो होला । त्यो बेला कता गुभाजु ड्राइभर खोज्न जाने ।’
के गर्ने कसो गर्ने ? प्रधानमन्त्री आफूमाथि आइपरेको संकटको निकास पाइरहेका थिएनन् ।
त्यतिन्जेल विद्रोहीले सिंहदरबारभित्र थुनामा रहेका केआई सिंह (पूर्व प्रधानमन्त्री)लाई छुटाएर मातृका सरकारलाई बर्खास्त गरी सर्वदलीय सरकार बनाउनुपर्ने माग अघि सारेको अपुष्ट खबर पनि प्रधानमन्त्रीसम्म आइरहेको थियो ।
केआई सिंहको नेतृत्वमा विद्रोहीले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कब्जामा लिइसके । सबै कैदी छुटाइसके । नारायणहिटी राजदरबार र सैनिक हेडक्वाटर बाहेककासरकारी कार्यालय विद्रोहीको कब्जामा छन् । कति मन्त्री भागेर नारायणहिटी राजदरबार पुगेको खबर आउन थाल्यो ।
त्यो घटना बारे गणेशमान सिंहले भनेका छन् ‘सूचनाको अभावमा भाग्न नभ्याएका मन्त्रीहरु विद्रोहीको गिरफ्तारीमा परे । त्यसमध्ये म पनि एक हुँ । उनीहरुले राति नै घर घेरामा हालिसकेका रहेछन् । तर, मेरो निद्रा खल्बलिएला भनेर उठाउने र गिरफ्तार गर्ने काम चाहिँ गरेनन् । बिहान उठेपछि सिंहदरबारमा केआई सिंहले बोलाएका छन् भनेर लगे । त्यहाँ पुगेपछि मात्र विद्रोह भएको र म आफैँ पनि उनीहरुको नियन्त्रणमा रहेको कुरा थाहा पाएँ ।’
सेनाको हेडक्वाटरबाहेक नारायणहिटी दरबारभन्दा दक्षिणको भागमा विद्रोहीले अड्डा जमाइसकेको सूचना आइरहेको थियो । राष्ट्रिय सेना र विद्रोहीबीच गोली हानाहान भएर रक्तपात हुने त्रासले प्रधानमन्त्री छटपटाइरहेका थिए ।
कमलले सम्झिए – ‘बाबाले नारायणहिटीमा फोन लगाउनुभयो । एउटा ठूलो गाडी पठाई दिन भन्नुभयो । त्यो बेला शैलजा आचार्यका पिता डा. पिनाकीप्रसाद (मातृकाका बहिनी ज्वाई) त्यहीँ हुनुहुन्थ्यो । मेरो मामाको छोरी, उमेशजंग राणालगायत अरु पनि थिए । दरबारले पठाउने गाडीमा सबै नअट्ने भएकाले उनीहरुले भने तपाइँहरु जानुस् ।’
गाडीको प्रतीक्षा भइरहँदा रक्षा दलका अधिकृत खेमबहादुरले के भने – ‘यसो गर्नुस् हजुर । प्रधानमन्त्रीज्यू परिवारका साथ जानुस् । सामान यहीँ रहोस् । हामी यताउता हुन दिँदैनौ । हामीहरु पनि रक्षा दलकै, उनीहरु पनि रक्षा दलकै । दुई घ्याम्पा रक्सी किन्ने पैसा छोडिदिनुस्, एउटा सामान पनि यताउता हुन दिँदैनौ । उनीहरु आउँछन् । त्यतिन्जेल तपाईँहरु गइसक्नु हुन्छ । तिनीहरुलाई हामी भन्छौँ – खै तिमीहरु आयौ, प्रधानमन्त्री त गइसके । उनीहरु पनि प्रधानमन्त्री नभेटेपछि निराश हुन्छन् । त्यो बेला हामी भन्छौँ । हामी र तिमी त साथीसाथी हौ नि । अब केही छैन हेर । यही रक्सी र अलिकति सितन खाऊ चित्त बुझाऊ । त्यस्तो टेन्स वातावरणमा पनि हाँसोउठ्दो कुरा । उसको सोझो तरिका । कुरा त ठीकै हो वा क्या आइडिया निकालिरहेको छ भन्यौ हामीले ।’
राजाको सामुन्ने जाँदा त दौरा, सुरुवाल, टोपी सबै लगाउनु पर्यो भन्दै प्रधानमन्त्री लुगा लगाउन थाले । कमलले सुनाए –‘हामी सबै पाइजामा मै छौं । त्यही बेलामा फोन बज्यो । मैले उठाएँ । सूर्यप्रसाद उपाध्यायको रहेछ । सोध्नुभयो – ‘मामा कहाँ हुनुहुन्छ ? (बाबालाई उहाँ मामा भनेरै बोलाउनुहुन्थ्यो ।) हामीहरु भारतीय दूतावास पुगिसक्याैँ । मामालाई पनि यतै आउन भन्नु । सहरमा खतरा छ ।’
प्रधानमन्त्रीले कमललाई अह्राए – ‘उहाँहरुलाई भन्नु । बाबा नारायणहिटी जाँदै हुनुहुन्छ तपाइँहरु पनि उतै आउनु होला ।’ कमलले फोन डायल गरे । सूर्यप्रसादलाई बाबुको सन्देश दिए ।
नारायणहिटीबाट एउटा मोटर आइपुग्यो । कमलले सम्झिए – ‘खचाखच गरेर हामी बस्यौ । पछाडिपट्टीको सिटमा आमा र हामीहरु, अगाडि बाबा र पिनाकी बाबु ।’ नारायणहिटीबाट आएका सिपाहीहरु अगाडिको सिटमा चार जना खादखुद गरेर बसे । संकटको बेला, त्यो बाहेक अर्को उपाय थिएन ।
प्रधानमन्त्री बस्ने ब्रिटिस डिजाइनको सानो चिटिक्कको त्यो बंगलामा इन र आउटका लागि छुट्टाछुट्टै गेट थिए । आउटबाट प्रधानमन्त्री चढेको मोटर निस्कँदै छ । इनबाट एउटा लरी छिर्यो । मधुरो प्रकाशमा राम्रोसँग चिन्ने अवस्था थिएन । प्रधानमन्त्रीले दरबारबाट आएका सिपाहीलाई भने – ‘ए एक पटक रोकौँ की क्या हो हाम्रो मद्दतका लागि आएका हुन् की यीनीहरु ।’
दरबारबाट आएको सेनाले भन्यो – ‘हैन प्रधानमन्त्रीज्यू हिँडिसके पछि रोकिनुहुन्न ।’ सिभिल ड्रेसमा रहेको राष्ट्रिय सेनाको त्यो अफिसरले चिनेछ लरीमा आएका मानिस ।
नारायणहिटी दरबारको उत्तरतिर कामकाजका लागि प्रयोगमा ल्याउने एउटा सानो गेट थियो । एक पटकमा एउटा मानिस मात्र छिर्न सक्ने । प्रधानमन्त्री सवार मोटर त्यहीँ पुगेर टक्क रोकियो ।
सेनाले ढोका ढ्याढ्याक गर्यो । भित्रबाट आवाज आयो ‘हु कम्स द्यर ।’ प्रधानमन्त्रीको साथमा रहेको सैनिक अधिकारीले भन्यो ‘प्यारोल’ । त्यो कोड सुनेपछि ढोका खुल्यो ।
अनि अगाडि इसारा गर्दै सैनिक अधिकृतले भने – ‘प्रधानमन्त्रीज्यू सवारी होस् ।’ प्रधानमन्त्रीका पछि एकएक गर्दै परिवारका सबै सदस्य दरबारभित्र छिरे । अनिमात्र त्यो अधिकृतले भन्यो ‘हेयर वेथ स्केप प्रधानमन्त्री ज्यू । रौँले बचियो । हामी निस्कने बेला गेटमा पुगेको विद्रोही फौज थियो, त्यसैले प्रधानमन्त्रीज्यूले भन्दा पनि मैले मोटर रोक्न सकिन ।’
लामो सास तानेर प्रधानमन्त्रीले भने – ‘ए बाबा बल्लबल्ल पो जोगिइएछ त । प्रधानमन्त्रीलाई नै कब्जामा लिएको भए त ? सक्किहालेको नि ।’