site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंले हटायो ३ हजार ३ सय अनधिकृत होर्डिङ बोर्ड

काठमाडौं । जथाभावी राखिएका होर्डिङ बोर्डले सहरको सौन्दर्य नै बिगारेको भन्दै ५ वर्षअघि काठमाडौं महानगरपालिकाले साइनबोर्ड र होर्डिङबोर्ड हटाउने निर्णय गरेको थियो ।

निर्णयअनुसार सहरी क्षेत्रका धेरैजसो होर्डिङबोर्ड हटाइए पनि । नियमित अनुगमन हुन नसक्दा काठमाडौं उपत्यकाका धेरै ठाउँमा पुनः होर्डिङबोर्ड देखिन थालेका थिए ।

गत पुस ११ गतेबाट महानगरले पुनः बिना स्वीकृतका होर्डिङ बोर्ड हटाउन सुरु गर्‍यो ।  कामपा नगर प्रहरी प्रमुख धनपति सापकोटाले दिएको जानकारी अनुसार कामपाले हालसम्म ३ हजार ३ सयभन्दा बढी बिना स्वीकृतिका होर्डिङ बोर्ड हटाएको छ ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सापकोटाका अनुसार त्रिपुरेश्वर–महाराजगञ्ज र माइती घरदेखि बिजुली बजार र त्रिपुरेश्वरदेखि थापाथली सम्मको साइडका होर्डिङ बोर्ड हटाउने काम सकिएको छ ।

त्यसैगरी त्रिपुरेश्वरदेखि सोल्टिमोड सम्मका होर्डिङ बोर्ड हटाउँने काम निरन्तर चलिरहेको छ । माइतीघरबाट महाराजगञ्ज अन्तर्गत बोर्ड हटाउने क्रम जारी छ । त्यसैगरी, एयरपोर्टदेखि बानेश्वर सम्मको साइनको बोर्ड हटाउँने काम मीनभवन आइपुगेको छ । 

त्यसैगरी, बिजुली बजारदेखि मीनभवन खण्ड, कृष्ण पाउरोटी (कमलादी) देखि महाराजगञ्ज सम्मको भित्री रुटका होर्डिङ बोर्ड हटाउने काम यही सातामा सकिनेछ ।
महानगरका अनुसार दैनिक पाँच टोलीले दिनको दुई अढाई सयका दरले बोर्ड हटाइरहेको छ । 

सापकोटा भन्छन्, “चालु वर्षभरिमा महानगरभित्रका स्वीकृतबिना राखिएका सबै विज्ञापन बोर्ड हटाइन्छ ।” 

नीतिअनुसार महानगरपालिकामा दर्ता भएका व्यवसायीले मात्र साइनबोर्ड राख्न पाउँछन् । त्यस्तै, एक व्यवसायीले एउटामात्र साइनबोर्ड राख्न पाउने व्यवस्था छ । तर, व्यवसायीले महानगरको नीति कुल्चेर एकभन्दा बढी साइनबोर्ड राख्ने गरेका छन् ।

नीतिमा साइनबोर्डको अधिकतम साइज ३ फिट उचाइ र ३० वर्गफिट तोकिएको छ । बोर्ड राख्दा भिन्न–भिन्न ठाउँमा नराखी एकीकृत रूपमा ठाडो गरी राख्नुपर्नेसमेत नीतिले निर्देशन गरेको छ । साथै सपिङ कम्प्लेक्स तथा व्यावसायिक भवनमा छुट्टाछुट्टै साइनबोर्ड नराखी एकै स्थानमा भर्टिकल रूपमा राख्नुपर्ने उल्लेख छ ।

त्यसैगरी, घरको भित्ता, पसलमाथि, झ्याल छोपेर तथा सौजन्य गरी बोर्ड राख्न पाइँदैन । व्यावसायिक विज्ञापनको सन्दर्भमा डिजिटल विज्ञापन राख्नुपर्ने महानगरको भनाइ छ । जसका लागि उचित ठाउँ पहिचान गरेर राख्नुपर्नेछ ।

तस्बिर : हरिशजंग क्षेत्री


 

प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६  १४:३६
प्रतिक्रिया दिनुहोस्