फेसबुकमा दिनहँुजस्तो कुरा भए पनि हामी साथीहरूको कलेज सकिएपछि भेट भएको थिएन । भेट्ने तीव्र इच्छा हुँदाहुँदै पनि समय अभावले गर्दा भेट्ने अवसर जुर्न सकेको थिएन । बल्ल–बल्ल समय अनुकूल मिलाएर सबैजनाको सल्लाहअनुसार वैशाख १२ गते शनिबार भेट्ने निधो भयो । लामो समयपछि साथीहरूलाई भेट्ने योजनाले मन हर्षित थियो । भेट्ने समय ३ बजे तोकिएको हुनाले बिहानै सबै काम सकाएर एकछिन पल्टिन मन लाग्यो । निद्रादेवीले बोलाउन मात्र के लागेकी थिइन्, बाहिरबाट गटटट आवाज आयो । एकछिन त हावाहुरी चल्यो होला भनेर बेवास्ता गर्दै पल्टिरहें । पछि जब म सुतेको खाटसमेत हल्लिन थाल्यो, तब मेरो हंसले ठाउँ छोड्यो । अनि बल्ल भूकम्प आएको कुरा थाहा भयो ।
घरमा म र बहिनीमात्रै थियौं । घर त पूरै हल्लिन थाल्यो । कठिन परिस्थितिमा मानिसहरू आफ्नो सुरक्षाको बारेमा पहिला सोच्छन् तर म भने भूकम्प आउँदा माथि रहेकी मेरी बहिनीलाई बोलाउन माथि जाने प्रयासमा थिएँ । तर म माथि जान सक्ने अवस्थामा थिइनँ । घर पूरै काँपिरहेको थियो । त्यसपछि म तलतिरै ओर्लिन थालें । आँगनमा सबैजना भेला भयौं । आमा, बुवा र भाइ घरमा हुनुहुन्थेन । तीन जना तीनतिर जानु भएको थियो । सम्पर्क गर्न खोज्दा कसैको पनि फोन लागिरहेको थिएन ।
एक त भूकम्पले आत्तिएको मन, अर्कोतिर परिवारका सबै घरबाट बाहिर भएको तनाव । यसो बाहिर हेरेको त मेरी आमा साथीको घरबाट भूकम्प आउनासाथ केही कुराको पर्वाह नगरी लगाएको चप्पलसमेत साथीको घरमा छाडेर खालि खुट्टा रुँदै आउँदै हुनुहुन्थ्यो । आमाको ममताका अगाडि भूकम्पको पनि केही लागेन । भूकम्प निकै लामो समयसम्म गइरहेको थियो ।
मेरो जीवनकालमा मैले पहिलो पटक त्यति ठूलो भूकम्प गएको थाहा पाएकी थिएँ । वि.सं. १९९० सालमा ठूलो भूकम्प गएको कुरा सुनेकी थिएँ । अहिले आफैंले त्यस्तै भूकम्पको अनुभव गर्नु पर्यो । पछि समाचारबाट थाहा भयो, भूकम्प वि.सं. १९९० को भन्दा सानो भए पनि शक्तिशाली रहेछ । त्यसबेलाको भूकम्पबारे खासै केही थाहा नभए पनि भूकम्पपश्चात् धरहरा एघार तल्लाबाट नौ तल्ला भएको हो भन्ने थाहा थियो । विडम्बना, यस पटकको ७.८ रेक्टरको भूकम्पले धरहरा सबै भत्किएछ । नेपालको सुनौलो इतिहास मेटियो ।
धेरै वर्षअगाडि एक पटक भए पनि धरहरा चढ्न पाएकोमा आफूलाई भाग्यशाली महसुस गरें । किनभने अब मैले चाहेर पनि त्यो अनुभव बटुल्न सक्ने थिइनँ ।
वसन्तपुरका काष्ठमण्डपलगायत नेपालका धेरै ऐतिहासिक भवनहरू भग्नावशेषमा परिणत भएको दृश्य आँखाले देख्दादेख्दै पनि मनले विश्वास गर्न सकिरहेको थिएन । ती त भवनहरू हुन् बिस्तारै निर्माण हुनेछन् । तर त्यो शक्तिशाली भूकम्पले कति मानिसहरूको ज्यान गयो, त्यो कसरी फर्केला ? भूकम्पको डरले घरभित्र पस्न सक्ने अवस्था कसैको पनि थिएन ।
सबै नेपालीहरू त्रसित देखिन्थे । पहिलो दिनमै ६ पटकसम्म भूकम्प गयो । त्यस्तो अवस्थामा कसको साहस होला र घरभित्र पस्न ? जसले जति माया पिरतीका कुरा गरे पनि मानिसले सबैभन्दा पहिला माया गर्ने आफूलाई नै हो । तसर्थ भूकम्पबाट सक्दो बच्न हामीले बाहिर चौरमा पाल टाँगेर त्यहीं बस्ने व्यवस्था गर्यौं । हामीमात्रै हैन, सबै नेपालीहरू त्यसरी नै पालमुनि बस्न थालेका थिए । कति नेपालीहरू घर उजाडिएर बाहिरै बास बस्न बाध्य थिए भने घर सुरक्षित हुनेहरू ज्यान सुरक्षित पार्न त्यसरी बसेका थिए ।
वैशाख १३ गते आइतबार पनि हामी सम्पूर्ण नेपालीको अवस्था त्यस्तै थियो । त्यस दिन पनि बिहानै फेरि भूकम्प गयो । ससानो भूकम्प गइरहेकै थियो । त्यसबेला हामीलाई सानोतिनो भूकम्पले त्रसित बनाउन छोडिसकेको थियो । भोलिपल्ट आइतबार बिहान १२ः५६ बजे त्यसैगरी भूकम्प गयो ।
अब बाँचिदैन जस्तो लाग्न थालिसकेको थियो । घर डगडग गरेर हल्लिएको प्रस्टै देखिन्थ्यो । जीवन भन्ने कुरा केही हैन रहेछ भन्ने महसुुस हुन थाल्यो । जतिखेर बस्दा पनि जमिन हल्लिएको भान हुन थाल्यो । मलाई मात्र त्यस्तो होला भन्ने सोचेकी थिएँ । तर सबैलाई त्यस्तै भएको रहेछ । मानिसहरू आ–आफ्नै तरिकाले वर्णन गर्थे त्यो भूकम्पलाई, मानौं त्यो भूकम्प मानिसको निमन्त्रणामा आउने हो ।
कसैले भूकम्पको स्केल यति हुन्छ भनेर पूर्वसूचित गर्थे भने कसैले भूकम्पको समय निर्धारण गरिरहेका हुन्थे । हामी त्यही हल्लै हल्लाको भरमा बाँचिरहेका थियाैं । कवि भूपि शेरचनको कविता याद आइरहेको थियो– ‘नेपाल हल्लै हल्लाको देश हो ।’ साँच्चै नै भूकम्पले भन्दा बढी त त्यस्तै–त्यस्तै हल्लाले मन तर्सिरहेको थियो । त्यस्तो आपत्कालीन अवस्थामा पनि सकुशल रहनु ठूलो भाग्य हो जस्तो लाग्छ अहिले आफैंलाई । तर धेरै जनाको अकालमा मृत्यु भएको देख्दा मन कटक्क खान्छ । अझै पनि कुनै बेला शरीर काँपिरहेझैं हुन्छ । अब जीवनभरि हामीलाई यो कुराले त्रसित बनाइरहने भयो ।
बाहिर असार–साउनमा झैं झरी परिरहेको थियो । बाहिर जाऊँ भने भिजिने डर, भित्र पसौं भने भूकम्प कतिखेर आएर ज्यान जाने हो भन्ने डर ! घर हुने धनाढ्य हुन् वा घर नभएका गरिब हुन्, सबैलाई नाङ्गो धर्तीमाथि उदाङ्गो आकाश ओढेर रात काट्न बाध्य गरायो, भूकम्पले । भूकम्पका कारण आफ्नो घर गुमाएका केही भूकम्प पीडितहरूलाई अलिकति भए पनि राहत बाँड्ने निर्णय गरेर हामी (म, बुवा र आमा) नुवाकोटको दांगसिंह गाविस गयौं । त्यहाँको अवस्था देख्दा हाम्रा आँखा रसाए । त्यहाँका घरहरू भग्नावशेष भएका थिए ।
राहतका लागि हामीले केही पाल, ओढ्ने र चिउराको व्यवस्था गरेर लगेका थियौं । तर जुन दिन हामी राहत बाँड्न गएका थियौं, त्यस दिन पनि राहत बाँड्दा बाँड्दै ठूलो भूकम्प गयो । अर्थात् २०७२ वैशाख २९ गते पनि हामीले ठूलो भूकम्पको अनुभव गर्यौं । भूकम्पले गर्दा कतै पहिरो त कतै ठूला–ठूला ढुंगाहरू खसिरहेका थिए । हामी बडो मुस्किलले काठमाडौं आइपुग्यौं ।
तर हामीले बाँडेको राहतले भूकम्पपीडितको मुहारमा जुन खुसी देख्यौं, त्यसको कुनै मूल्य थिएन ।
जिन्दगीमा कहिलेकहीं अरूलाई खुसी दिन पाउँदा पनि आफ्नो मन रमाउँदो रहेछ भन्ने कुरा मैले त्यहींबाट थाहा पाएँ । भूकम्पमा कैयौं मानिसहरूको ज्यान गुम्यो ।
तर भूकम्पले ठूलो पाठ सिकाएर गयो, हामीलाई । भूकम्पले एकजुट हुन सिकायो । धनी र गरिबबीचको विभेदको अन्त्य गर्न सिकायो । नजिकै रहेका छिमेकीसँग कहिल्यै नबोल्ने हामी नेपालीलाई छिमेकीसँग चिनजान गर्ने मौकासमेत भूकम्पले दिएर गयो । सबैभन्दा ठूलो कुरा भूकम्पले आफैंलाई माया गर्न सिकायो । अहिले पनि कुनै–कुनै बेला यो मन त्यस्तै भूकम्प फेरि आउँछ कि भन्ने कुराले त्रसित हुन्छ ।