site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
भुइँचालो हाँसेको रात
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“धेरै चर्किएको छैन, हामी त यतै सुत्छौं,” गोमा दिदीले भन्नुभयो ।
घरभित्र पस्दै गर्दा रविजी चाँडो–चाँडो श्वास फेरिरहेका थिए । उनले भित्ताभरि आँखा डुलाए । वल्लोदेखि पल्लोपट्टिसम्म वारपारै भित्तामा इँटाहरू निस्किएका थिए । सडकमा गाडी गुड्दा पनि भुइँचालो आएझैँ गरेर घर थर्किरहेको थियो । उनको मन एक तमासको भइरहेको थियो ।
रविजी अत्तालिँदै कोठाबाट बाहिरतिर दगुरे ।

“तोइट ! यस्तोमा कसरी सुत्नु ? बरु ऊ... त्यो पालमा सुतिन्छ,” मकैबारीको बीचमा बनाइएका पालका लामा–लामा टहरातिर देखाउँदै उनले भने । हरियो मकैबारीभित्र नीलो प्लास्टिकले छाएर टहरा बनाइएको थियो । भुइ“चालो आएको दिनदेखि छिमेकीसहित दिदीभिनाजु तिनै टहरामा सुतिराख्नुभएको रहेछ ।
“ती टहरा त हामीले छाडिसक्यौं,” दिदीले भन्नुभयो, “अरू नै सुत्न थालेका छन् ।”
‘दिदीले बिताउनुभएछ !’ रविजीले मनमनै सोचे, केही बोल्न सकेनन् । खिस्रिक्क परिरहे । अब के गर्ने होला त !
आकाश ड्याम्मै धुम्मिएको थियो । पानी छाडिहाल्लाझैं गरेर बत्तिरहेको बादलतिर हेरेर खै के सोचे, दिदीतिर पुलुक्क हेरेमात्र । निधारको बीचमा त्रासका धर्साहरु देखिए तर, बोलेनन् ।
“हामी पनि नडराएको त कहा“ हो र ! छोरोले ‘म त घरमै सुत्छु, तपाईंहरू जे गर्नूस्’ भनेपछि हामी पनि बाध्य भयौं । अहिले बानी पर्दै गयो,” दिदीको कुरा सुनेर रविजी झन् छक्क परे । दिदीभिनाजु पनि बाध्यताले सुत्नु’भा त र’छ नि ! उनी झनै पिरोलिए । “बिताएछन् भान्जाले... !” भन्दै रन्थनिन थाले । मकैबारीतिर आँखा डुलाए । टहरा उसैगरी लामबद्ध थिए ।
लक्ष्मीजीले पूरै घर नियाल्न थाले । पश्चिमतिर जोडिएको घर गर्लम्मै ढलेर माटोमै मिलेको थियो । त्यसभन्दा उताका कुनै घर सग्ला थिएनन् । पटाहा लगाएजस्तो देखिन्थ्यो । पूर्वतिरका घरहरू पनि कुनै अस्थिपञ्जरजस्ता देखिन्थे, कुनै माटोको ढिस्को जस्तामात्र । पुरिएर ढिस्कोझैं भइने हो कि भन्ने चिन्ताले एकछिन निसासिए । घरका चिरासँगै चिरिएको मन लिएर फर्किए ।
उफ् !!
साँझपखको हावाले बाटापारिको पोटाउन लागेको चैते धान एकैनास हल्लिरहेको थियो । रविजी केहीबेर त्यतै टोलाए । त्यसभन्दा माथि निकै अग्लो पहाड गजधुम्म परेर ठडिएको थियो । बाक्लै रूखबिरुवा भएर पनि उराठलाग्दो देखिन्थ्यो त्यो पहाड । “कान्छा... ! भुइँचालोले छिया–छिया पारेको छ रे !” आँगनबाट पहाडको टुप्पोतिर हेर्दै दिदीले भन्नुभयो ।
भिनाजु जानुभ’को र’छ ।
“अनि पहिरो गयो भने नि !” दिदीका कुरा खस्न नपाउँदै लक्ष्मीजीले आत्तिँदै भने । मुटु बेस्सरी धड्किरहेको थियो । गोडा लुगलुग कामिरहेका थिए । एउटा हात छातीमा राखेर आँगनको ढुंगामा थ्याच्च बसे ।
“कति डराका इनरु !” उनीहरु असिनपसिन भ’को देखेर दिदी पनि आत्तिनुभयो, “तिमर्ले गर्दा मलाई नि डरै लाइसक्यो ।”
रातको अँध्यारोमा त्रिशूलीपारिको बेत्रावती पनि हराउँदै गयो । पारि कालिकास्थानबाट झर्दै गरेका सवारीसाधनको हेडलाइट पनि जूनकीरीजस्तो मात्र देखिन थालेका थिए । अँध्यारोमा तिनको आवाज त्रिशूली नदीसँगै सुसाइरहेझैं लाग्थ्यो ।
०००
घरको तल्लो तलामा दिदी खाना बनाउँदै हुनुहुन्थ्यो । सिमसिम पानी पर्न थाल्यो । चिसो हावा बहन थाल्यो । जेठ पहिलो साता भए पनि मुटु कमाउने सिरेटो चलिरहेको थियो । साथीहरू त्यो चिसो हावासँगै बहन खोजिरहेका थिए तर सकिरहेका थिएनन् । राफिएको मन चिसो बतासको स्पर्शले के सेलाउँथ्यो ! डराइडराइ भित्र पसे । सुत्ने कोठा फेरि नियाल्न थाले । भित्ताभरि चिरैचिरा । मन पनि चिरियो ।

“कसरी सुत्नु हौ यस्तोमा ! राति भुइँचालो आयो भने भित्तो हामीमाथि नै झर्छ त !” लक्ष्मीजी कोठाबाट फुत्तै निस्किए । रविजी केही नबोली उनको पछि लागे । उनी पनि निकै भयभीत देखिएका थिए । आँगनमा पुगेर हेराहेर गरे, हाँस्ने साहस दुवैमा थिएन । लक्ष्मीजीले घरबाट हिँड्नुअघि पत्नी कल्पना राज्यलक्ष्मीले राखेको सर्त सम्झिए, ‘पालमा सुत्ने हो भने जानू नत्र मेरो अनुमति छैन ।’ रविजी पञ्चकन्याको आफ्नो भत्केको घर र बूढा बाआमालाई ‘बाइपास’ गरेर दिदीको घर सोले हिँडेका थिए । म पनि नजिकै रहेको ससुरालीको आग्रहलाई टारेर हिँडेको थिएँ । लक्ष्मीजी घर, ससुराली नभए पनि हामीसँग हौसिएर हिँडेका थिए ।
०००
बाहिर भिनाजुले घाँसको ठूलै भारी बिसाउनुभयो ।
“नमस्कार भिनाजु !” सबैले शिष्टाचार पूरा गर्यौं ।
“सधैं भुइँचालो–भुइँचालो भनेर के गर्नु, नियमित काम त गर्नैपर्यो,” भिनाजु हाम्रो अगाडि सामान्य देखिन खोज्नुभयो, “आउँछ, जान्छ ।”
भुइँचालोले क्षतविक्षत पारेको तुप्चे र आसपासका घटना भिनाजुले भन्दै जाँदा हाम्रो भोक–तिर्खै उडेको थियो ।
“सबै सोत्तर भा’छ । सबै उस्तै देखेर पनि मन बुझाउन सकिएको छ,” दिदीले भान्साबाटै भन्नुभयो । सबैतिर पीडा र दुःखमात्र देखेपछि भित्रभित्रै रोइरहेको मान्छे पनि बाहिर हाँस्ने रहेछ । हुन पनि बाटाका बटुवा, पधेँराका पधेर्नी अनि गाईवस्तुका पछिपछि हिँड्ने गोठाला सबै भुइँचालोले बासस्थान निमिट्यान्न पारेको कुरा गर्थे तर अनुहारमा दुःखको लेससम्म देखिन्नथ्यो ।
“भुइँचालो थेग्ने गरी नै बना’को बनाउन त... !” आँगनबाट घरतिर हेर्दै भिनाजुले खुइय गरेर भन्नुभयो । “सरकारी मापदण्ड सबै पूरा गरेको, तर भुइँचालो आएपछि कसैको केही लाग्ने रहेनछ,” दिदीले थप्नुभयो ।
सडकसँगै जोडिएको घरमा व्यापारिक प्रयोजनका लागि दुईटा सटर पनि निकालेको रहेछ । रविजीले ठूलै आइडिया निकालेजस्तो गरेर भने, “ल, सटरमा सुतौं ।” लक्ष्मीजीको अनुहार पुलकित देखियो, “कोठाभन्दा त सटर धेरै बेटर ।” 
दुवै जुरुक्क उठेर सटरतिर दौडिए । उनीहरूको जीवन प्रत्यासा एकाएक बढेर गयो । “एउटामा त झापातिरकाले डेरी खोल्या छन्,” दिदी भान्साबाटै कराउनुभयो ।
अर्को सटरलाई भण्डार बनाइएको रहेछ । धान, चामल, मकै र अरू पनि केही राखिएको कोठा ठुस्स गन्हायो । “सबै सामान भित्तातिर सारेर यही“ सुतौं !” रविजीले हर्षमिश्रित भावमा प्रस्ताव राखे, “आइहाल्यो भने भाग्न त सजिलो हुन्छ ।”
“कोठा यति धेरै गन्हाएको छ, उल्टै बिरामी भइएला !” लक्ष्मीजीले शंका गरे । 
जतिबेलै बन्द भएको खालि कोठा यसै पनि गन्हाउँछ, त्यहा“ त सामान थियो । धानका पुत्ली पनि बत्तीको उज्यालोमा उडिरहेका थिए ।
“साह्रै चिलाउ“छ पुत्लीले छोयो भने,” रवीजीले थपे । 
निराशाबीच दुवैले एक–अर्कालाई धेरैबेर हेरे । सबै विकल्प बन्द भएको निष्कर्ष निकालियो । दुवै फेरि घरका पिल्लर र बिमतिरै आ“खा दौडाउन थाले । 
“आ... जे त होला, ढोका खुला राखेर भित्रै सुतौं,” लक्ष्मीजीले आँट बटुले । 
रविजीले डराइडराइ ‘हुन्छ’ को भावमा टाउको हल्लाए । म त जेको लागि पनि तयार थिएँ ।
०००
टिङ टिङ टिङ टि¬ङ...
लक्ष्मीजीको मोबाइलमा घन्टी बज्यो । छोटो कुरा गर्दै ‘हस्, हस्’ भन्दै फोन राखे ।
“के भयो ?” रविजीले आंशका मिश्रित भावमा सोधे । 
“घरभित्र चाहि“ सुत्दै नसुत्नु भन्ने आदेश छ, कुरो हो पनि ।” लक्ष्मीजीको स्वर दबिएझैं भयो । 
यात्रा सुरु गर्ने सल्लाह माग्ने क्रममै उनलाई सर्त तेर्सिएको थियो, ‘नुवाकोट–रसुवाका घर सबै सोत्तर भा’छन् रे ! बाहिर पालमा सुत्ने भएमात्र जानू ।” उनी डेढ वर्षे छोरो र सत्तरी काटेका बाबुआमा अनि श्रीमतीसहित हिजो रातिसम्म पालमा सुतेका थिए ।
०००
“ल खाना खान आओ” तल्लो तलाबाट दिदीको स्वर सुनियो ।
त्रासै–त्रासमा पनि दिदीले दाल, भात, तरकारी र अचारसमेत बनाउनुभएछ । भैंसी लैनो– दूध, दही, घिउ पनि नहुने कुरै भएन । का“सका थालमा टन्न–टन्न पस्किनुभएछ ।
“आज तिमर्ले गर्दा भुइँचालोको डर पनि कम भयो, धेरै भा’थ्यो यसरी मज्जाले नखा’को ।”
दिदीले एकैपटक सबैलाई पस्किनुभयो ।
“अब भुइँचालो बिर्सिने गरी खाऊ“,” तातो भातको थाल तान्दै रविजीले भने ।
खान थालेपछि मात्र भोक याद आयो । भुइँचालोको त्रास, भत्किएका घर र पीडितका कुराले आहत बनाइसकेको थियो । भुइँचालोले छियाछिया पारेको घरमुनिको भातको स्वाद पहिलोपटक लिइरहेका थियौं ।
“जति धेरै तनाव हुन्छ, खाना पनि त्यति नै चा“डो पच्छ कि क्याहो !” रविजीले खाना थपे । हृदयसम्मै भूकम्प–आतंकको ज्वर फैलिएर होला, खानाभन्दा पानी बढी खायौं र पहिरो धस्किन लागेको पहाडको पानीले देह शीतल बनाउने प्रयास गर्दै थियौं हामी ।
०००
रातको ९ बजिसकेको थियो ।
भएभरको आँट बटुलेर भित्रै सुत्ने बाध्यात्मक निर्णयमा पुग्यौं हामी । दिदी–भिनाजु तल्लो तलामा सुत्नुहुने भयो । पत्रकार भान्जा रसुवाबाट फर्किएकै थिएनन् ।
सबै झ्याल–ढोका खुला राख्ने, बत्ती ननिभाउने, भाग्ने बाटोबाट सबै सामान हटाउने र चनाखो भएर सुत्ने सल्लाह गर्यौं हामीले ।
मन स्थिर भए पो निद्रा पर्छ । कतिबेला भुइँचालो आउने हो र भित्तो आफूमाथि बजारिने हो भन्ने चिन्ताले निदाउनै सकिएन । 
सँगै सुतेका रवी र लक्ष्मीजी बारम्बार कोल्टे फेरिरहेका थिए । 
“आयो !!”
अचानक दुवै जुरुक्क उठेर बाहिर दौडिए । म पनि झसंग भएँ । खासमा कोल्टे फेर्दा खाट हल्लिएर तर्सिएका रहेछन् । 
“इनरु त साह्रै डराउने रचन्, छ्या !” दिदी तलबाटै कराउनुभयो । 
गोठको भैंसी फ्वा“–फ्वा“ गरिरहेको थियो । 
“भैंसी त डरा’को छैन, तिमरु के डराउँछौ,” दिदीले त्रासलाई रमाइलोमा बदल्न खोज्नुभयो । हामी फेरि निदाउने प्रयास गर्न थाल्यौं । 
अनेक कुरा खेलाउँदा–खेलाउँदै १२ बजेतिर रविजी लोलाएछन् ।
लक्ष्मीजीलाई निद्रा परेकै थिएन । 
म पनि कहाँ शान्त हुन सकेको थिएँ र ! सोचें, ‘मृत्युका रूप एउटै व्यक्तिका लागि पनि फरक–फरक जस्तो देखिन्छन् । कहिले विकराल भएर अगाडि आइदिन्छ, कहिले सामान्य बनिदिन्छ । कहिले मर्न पाए हुन्थ्यो जस्तो लाग्छ, कहिले बा“च्ने चाहना झन् बढी भइदिन्छ । मर्न पाए हुन्थ्यो भनेका बेला मृत्यु अगाडि आयो भने जीवनको माया लाग्छ । यहा“ आत्महत्या गर्नेहरू पनि धेरै छन् । यो संसार बा“च्नेहरूका लागि हो, आत्महत्या गर्नेहरू कायर हुन् । बाँच्न चाहनुपर्छ, बाँचिन्छ ।’
झकाउँदै गर्दा पनि मनमा कुरा खेलिरह्यो– भुइँचालोले कसैको भावना बुझ्दैन– धनी–गरिब, बाहुन–कामी, पहाडी–मधेसी, काले–गोरे... । मान्छे विवेकशील भएर विभेदकारी छ, ऊ अविवेकी भएर पनि कसैलाई विभेद गर्दैन ।
०००
बिहान ३ बजेको हुँदो हो ।
सिमसिम परेको पानी मकैका पातमाथि टप्किरहेको थियो । मध्यरातपछि मात्र निदाएका हामी सबै गहिरो निद्रामा थियौं । लाखौं खर्चेर भर्खरै बनाएको घर छियाछिया भएको चिन्ताले दिदी–भिनाजुलाई पनि अबेलामात्र निदाउन बानी परिसकेको थियो । 
‘घच्याक्क, घच्याक्क...!’
“भुइँचालो आयो, भागौं ।”
मस्त निद्रामा पुगेका रवीजी र म बिउँझियौं र लडखडाउँदै बाहिर निस्क्यौं । दिदी–भिनाजु पनि आत्तिँदै आइपुग्नुभो । 
यसो हेरेको त लक्ष्मीजी छैनन् ! हेर्दाहेर्दै घर गल्र्याम्मगुर्लम ढल्यो । बाहिर रुवाबासी चल्न थाल्यो । हामी रुँँदै, अतालिँदै चारैतिर दौडिन थाल्यौं । 
“लक्ष्मीजी ! लक्ष्मीजी... !!”
अगाडितिरको भित्तो लडेर लक्ष्मीजीको पूरै शरीर थिचेको रहेछ । बाहिरबाट भित्र जानसक्ने अवस्था थिएन । हामी कराएको सुनेर एकैछिनमा वरपरका घरका पनि दौडिँदै आइपुगे । 
“यहाँभित्र मान्छे पुरियो लौ न केही गरौं,” दिदीले रुँदै भन्नुभयो । 
प्रहरीलाई फोन ट्राइ गर्न थाल्यौं । सञ्चार सम्पर्क विच्छेद भएकोले फोन लाग्दै लागेन । रविजी र भिनाजु घर भत्किएतिर जान खोज्न थाले । त्यतिबेलै परकम्प गयो । घर झनै तल धस्कियो । एकपछि अर्को परकम्प आउन थाले निरन्तर । लक्ष्मीजी झन् तल, झन् तल भासिए घरसँगै, कंक्रिटसँगै । उप्किएका सिमेन्ट र इँटाका टुक्रासँगै ।
असह्य पीडाले आहत भएपछि उनी भएभरको बल र साहस बटुलेर चिच्याए– “बचाऊ !!”
चर्को आवाजले नजिकै सुतेका रविजी तर्सेर उठे । पसिनाले असिनपसिन हुँदै लक्ष्मीजी पनि बिउँझिए ।
“के भयो ?” हामीले आत्तिँदै सोध्यौं ।
उनी पसिनाले चर्लप्पै भिजेका थिए । ओठ–मुख सुकेर बोल्न पनि नसक्ने अवस्था थियो । 
फिस्स हाँसेर भने, “सपना !”
टेबलबाट तानेर एक गिलास पानी तनतनी पिए– “साला ! सपना पनि कस्तो–कस्तो देखिन्छ यार !”
भुइँचालोको त्रास मानसपटलमा भरिएपछि सपना–विपना सब उस्तै हुने रहेछ ।
खाटमा गर्लम्म पल्टिए र भने, ‘कस्तो डरलाग्दो... ! भुइँचालो आएर मलाई नै किचेको... ।’
हामी केही बोलेनौं ।
‘तोइट ! विपनामै आएको भए त...!!’ सबैको आङ सिरिंग भयो । 
सबैका आँखामा भूकम्पका भयानक दृश्यहरू घुम्न थाले । 
०००
बिहानीपखको चिसो हावा निथ्रुक्कै पसिनाले झिजेको शरीरमा परेपछि लक्ष्मीजीलाई जाडो भएछ । 
“कस्तो चिसो भयो मलाई त !”
“सिरक ल्याऊ“ ?”
“पर्दैन होला ।”
“आयो !!” दिदी एक्कासि कराउनुभयो । 
अहिलेचाहिँ साँच्चिकै आएछ परकम्प । जर्याकजुरुक उठेर भाग्न नपाउँदै परकम्पले दह्रो झड्का दिइसकेको थियो । हामी बाहिर आउँदा दिदी–भिनाजु अघि नै बाहिर निस्किसक्नु भएको रहेछ ।
“यसपालि भुइँचालैले लैजान्छ कि क्या हो ! ठूलै पो आयो त कान्छा !” दिदी रविजीको नजिकै आउनुभयो ।
“अब त भित्र नपस्ने...” रविजी डराए । 
“पानी रोकिएछ, अब बाहिर टहलिएर बिताऊ“,” लक्ष्मीजीले सही थपे । उनको शरीरको पसिनासमेत ओभाएको थिएन । बाटोमा छिमेकीहरू पनि भेला भइसकेका थिए ।
रविजीले भुइँचालोको मापन देखाउने एप्लिसकेसन खोलेर हेरे– ५.२ रेक्टर स्केल । नुवाकोट, सोले । 
–२०७२ जेठ ९ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०७४  ०७:४३
प्रतिक्रिया दिनुहोस्