आसन्न चुनाउले सामाजिक संजाललाई चोखो छाड्ने त कुरै भएन । नेपाल पछिल्लो समय सूचनाको हकमा अरु देशसँग सँगै उभिएन पुगेको छ । सामान्य लेखपढ गर्न सक्ने मान्छे पनि अहिले संसारको समसामयिक गतिविधिबाट बेखबर हुँदैनन् । अझ हरेक समाचारमा आलोचनात्मक, विश्लेषणात्मक, स्वीकारात्मक वा समर्थनात्मक टीकाटिप्पणी गर्न बूढी औँला चलाउनसमेत खप्पिस छन् ।
अहिले कुनै सामग्री, संदर्भ वा घटना सामाजिक संजालमा देखापर्ने बित्तिकै पाउने चर्चाले मानिसलाई सुसूचित, शिक्षित पनि गराएको देखिन्छ भने दवाब(दिने),प्रशंसा वा निन्दाको बाटोमा डोऱ्याएको पनि पाइन्छ ।
जसरी राजहंशले दूधपानीबाट दूधमात्र छुट्याएर खान सक्छ त्यसैगरी सामाजिक संजालको प्रयोगबाट सकेसम्म राम्रो कुरामात्र भन्ने बानी बसाउन सके बदलिँदो सूचना प्रविधिको प्रयोग सार्थक हुन्थ्यो ।
समसामयिक गतिविधिलाई हामीले नजिकैबाट नियाल्न पाएका छौ । यस परिवेशमा हुन लागेको चुनाबले 'सोसियल मेडिया'मा अहिले रन्को छोडेको छ l हाम्रो बुझाइलाई अब प्रयोगमा ल्याउन आवश्यक छ ।
अबको चुनावमा मतदान गर्दा आफ्नो छनोट दलमात्र होइन उमेदवारकफ क्षमता पनि हेरेर प्रतिनिधि बनाउनुपर्छ । त्यो जिम्मेवारी हाम्रो हो । होइन भने आफैँले छानेर पठाएको दल वा व्यक्तिको असफलतापछि गाली दिनुो कुनै तुक हुँदैन ।
नेताहरूले हामीलाई झुक्काएका होइनन् । हामी नै पटकपटक झुक्किएका हौँ । नत्र फेरि पनि ५०० रूपियाँको पेट्रोल र २०० को खाजासहित खरिदिएका 'आदर्श सिद्धान्तनिष्ठ' कार्यकर्ता पार्टीको झंडासहित मोटरसाइकलमा जिंदाबाद गर्न दकुरेको झलकलाई आश्चर्य नमानी हेर्नुपर्ने हुन्छ ।
हामीकहाँ पारिवारिक सदस्य राजनीतिमा भएर वा बाबुबाजे पहिलेदेखिनै कुनै दलको समर्थक भएर वा विभिन्न राजनीतिक झुन्डको पछि लागेर (चाहे त्यो कलेजमा होस् वा कुनै संस्थामा वा अन्य कुनै इलाका/क्षेत्रमा) आफ्नो व्यक्तिगत वा सतही समर्थन रहेको पाइन्छ l दलहरुले जुनसुकै सिद्धान्त बोकेपनि हाम्रो चाहना शान्ति,सम्बृद्दि र विकास नै हो l हामीले वाम हुँ भनेर कौलास्नेहरू यथास्थितिवादी भएको र दक्षिणपन्थी भनिने परिवर्तनवादी भएको पनि देखिसक्यौँ l वामपन्थी परम्परावादी भएको र दक्षिणपन्थी समाजवादी भएको पनि देख्यौँ l
त्यसैले अब हामी दलहरूले कुन सैदान्तिक राजनीति अवलम्बन गर्छन् भन्दा पनि अब कसरी देशको गरिबी र बेरोजगारीको अन्त्य गरी सम्बृद्ध देशको मार्गचित्र कोर्न सक्छन भन्ने स्पष्ट खाका र उत्तर खोजिरहेका छौ l अब हामी जनताले परिवर्तनकामी नेतृत्व गर्नसक्ने व्यक्तिलाईमात्र चुन्नेछौँ ।
अहिलेको नेपाली राजनीतिका हस्तीलाई जे भनेर गाली गरे पनि उनीहरुको आआफ्नो योगदान भोलि इतिहासले मूल्यांकन गर्नेछ l र यी राजनीतिक शक्तिको अस्तित्व शून्य गराएर नयाँ भनिने वैकल्पिक राजनीतिले मात्रै देशलाई समुन्नत पार्छ भन्नेमा हामीले विश्वास गर्ने हो भने त्यो पनि हस्यास्पद नै हुन्छ । त्यसले भविष्यमा नैराश्यसमेत पैदा गर्नसक्छ । किनभने पुरानाहरुको लामो समयदेखिको अस्तित्व राजनीतिक क्षेत्रमा छ । अझ भनौ उनीहरूले केही नगरे पनि जनताले आजसम्म आँखा चिम्लेर भोट दिइरहेका छन् ।
हुनत, नयाँहरूको तदारुकतालाई सम्मान गरी मौका दिनुपर्ने हो । उनीहरुलाई विश्वास गर्ने आधार तिनको वैयक्तिक त्याग हो । त्यसैले अब जुनसुकै राजनीतिक दल र सिद्धान्तबाट प्रेरित वा परिचालित व्यक्ति किन भए पनि सबैबाट हामीले सक्षम र सम्भावनायुक्त व्यक्ति छान्नुबाहेक अरू विकल्प छैन l सामाजिक संजालमा पक्षविपक्ष, तर्कवितर्क, गालीगलौजबाट प्रभावितत हुनुको साटो आजसम्मको समर्थनले के पायौँ त्यो महसुस गर्नु राम्रो हुन्छ l
अबको चुनाब स्थानीय निकायको नभई स्थानीय सरकारको हुँदैछ भन्ने मनन गरी पार्टीगत धारणा त्यागेर सक्षम र दूरदर्शी उमेदवार छानेर भोलिदेखि नै कसरी परिवर्तन महसुस गर्नसक्छौँ भन्ने आँकेर मत हालौँ l अबको समग्र बुझाइ हाम्रालाई हैन राम्रालाई चुनौ । राम्रो व्यक्ति जुनसुकै पार्टीको भए पनि हुन्छ l