_34703379.jpg)
काठमाडौं । तपाईं घुम्न वा कामको सिलसिलामा नेपालका कुनै पनि होटलमा बस्न अवश्य पनि जानुभएकै होला । तर के होटलमा बस्नुअघि कस्ता सुविधा छन् वा हुनुपर्छ भन्ने जानकारी लिनुभएको छ ? छैन भने थाहा पाउनुहोस् कस्ता होटलमा कस्ता सुविधा हुनुपर्छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत पुस ७ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी होटल, रिसोर्ट, पर्यटक इन, पर्यटक लज, मोटेल तथा बेड एन्ड ब्रेकफास्टहरूको वर्गीकरण तथा मापदण्ड निर्धारण गरेको छ । सोही मापदण्डका आधारमा कुनै पनि होटल, रिसोर्ट वा लजमा हुनुपर्ने सुविधा यस्तो हुनुपर्छ ।
एक तारेदेखि पाँच तारे डिलक्ससम्मका होटलको मापदण्ड
होटलको प्रवेशद्वारमा स्पष्ट देखिने गरी नेपाली तथा अंग्रेजी भाषामा नाम र ताराको स्तर खुलाइएको हुनुपर्छ । एक तारा स्तरको होटलमा ५, दुई तारे होटलमा १०, तीन तारे होटलमा १५, चार तारे होटलमा २०, पाँच तारे होटलमा २५ र पाँच तारे डिलक्स स्तरको होटलमा ४० वटा पार्किङ क्षमता भएको हुनुपर्छ ।
तर, सडक यातायातको पहुँच नपुगेको क्षेत्रमा निर्मित होटलहरूको हकमा पार्किङ अनिवार्य नहुने व्यवस्था छ ।
गेस्टलाई होटलसम्म वा होटलदेखि बसपार्क र विमानस्थलसम्म आवतजावतका लागि सुविधाजनक सवारीसाधनको व्यवस्था मिलाउनुपर्छ ।
त्यसका लागि कम्तिमा दुईवटा आफ्नै सवारीसाधन हुनुपर्छ । पाहुनाका बहुमूल्य वस्तुहरू राख्न रिसेप्सननजिकै लकरको व्यवस्था गरिनुपर्छ ।
हरेक कोठामा कमन सेफ डिपोजिट लकर भएको हुनुपर्छ । होटलमा प्रयोग हुने पानी प्रशोधित र शुद्ध हुनुपर्छ ।
हरेक कोठामा ‘रिसाइकलबिन’ अनिवार्य हुनुपर्छ । लबीको क्षमता एक तारेमा १० देखि क्रमशः पाँच तारेसम्म ६० जनासम्म र पाँच तारे डिलक्समा ८० जना अट्न मिल्ने भएको हुनुपर्छ ।
लबीको बीचमा मौसमअनुसारका फूल राखेर सजाइएको हुनुपर्छ । नगद, क्रेडिट वा अनलाइन भुक्तानी प्रणाली भएको हुनुपर्छ । यस्तै वाईफाईको सर्वसुलभ र सहज इन्टरनेटको व्यवस्था हुनुपर्छ ।
होटलमा वारट स्प्रिङ्कल वा फायर फाइटिङका लागि भरपर्दो व्यवस्था र हरेक सुत्ने कोठामा स्मोक डिटेक्टर र फायर होजरिललगायत सुरक्षासम्बन्धी व्यवस्था हुनुपर्छ ।
सेक्युरिटी अलार्म भएको हुनुपर्छ । नेपाली तथा अंग्रेजीमा लेखिएको, सजिलो र छोटकरीमा व्याख्या गरिएको मेनु हुनुपर्छ । त्यसमा २५ प्रतिशत नेपाली रैथाने खानाका परिवार उपलब्ध हुनुपर्नेलगायत व्यवस्था गरिएको छ ।
हेरिटेज एवं बुटिक होटल
हेरिटेज एवं बुटिक होटललाई साधारण, डिलक्स, लक्जरीमा वर्गीकरण गरी सोहीअनुसार निम्न मापदण्ड एवं सुविधा हुनुपर्ने व्यवस्था गरिएको छ ।
होटलको डिजाइन, नेपाली संस्कृति झल्कने गरी बुटिक वातावरण भएको हुनुपर्छ ।
कोठामा साधारणमा १५, डिलक्समा २५ र लक्जरीमा ३५ वटा भएको हुनुपर्छ । यस्तै ५ देखि १५ गाडी पार्किङलगायतको व्यवस्था भएको हुनुपर्छ ।
साधारण रिसोर्टदेखि लक्जरी रिसोर्टसम्म अर्थात् पर्यटक आवास
यसअन्तर्गत साधारण रिसोर्ट, डिलक्स रिसोर्ट र लक्जरी रिसोर्टमा वर्गीकरण गरिएको छ । सोहीअनुसार रिपोर्टको मापदण्ड तोकिएको छ ।
होटलको प्रवेशद्वारमा स्पष्ट देखिने गरी नेपाली तथा अंग्रेजी भाषमा नाम र रिसोर्टको स्तर खुलाइएको हुनुपर्छ ।
सीसीटीभीको व्यवस्था भएको र कम्तिमा ६ महिनाको डाटा सुरक्षित राख्ने व्यवस्था हुनुपर्छ ।
लबीको व्यवस्था, मौसमअनुसारको फूलहरूको आकर्षक सजावटसहित सुत्ने कोठा र सभा हलमा एयर कन्डिसन (एसी) को व्यवस्था हुनुपर्छ ।
नगद, क्रेडिट वा अनलाइन भुक्तानी प्रणाली भएको हुनुपर्छ । यस्तै प्रत्येक कोठामा आपतकालीन अवस्थामा बाहिर निस्कने सुरक्षित मार्ग एवं तरिका खुलाइएको सूचना राख्नुपर्ने अनिवार्य छ ।
साधारण पर्यटक स्तरका होटल, पर्यटक इन, पर्यटक लज, मोटेल, बेड एन्ड ब्रेकफास्ट (बीएन्डबी) अन्तर्गत होटलको नाम, सीसीटीभी भएको न्यूनतम ६ महिनाको डाटा सुरक्षित हुने व्यवस्था गरिनुपर्छ ।
खानेपानी, विद्युत्, वाईफाई अनिवार्य हुनुपर्छ । फायर सेफ्टी, सुरक्षा, साँचो, सिजनअनुसारको ब्ल्याङ्केट, चप्पल, शुद्ध पिउने पानी, टेलिभिजन, नेपाली खाना तथा पेय पदार्थ, म्युजिक, मेनु, धूमपान क्षेत्र, सफा भान्सा, प्राथमिक उपचारलगायत व्यवस्था हुनुपर्नेछ ।
यो व्यवस्था लागु भएसँगै मन्त्रालयले २०७० सालको होटलको स्तर र मापदण्ड खारेज गरेको छ ।