site stats
बाह्रखरी :: Baahrakhari
देश
उफ् जाम ! ‘डेडिकेटेड लेन’ बने राहत

काठमाडौं  । राजधानीका बासिन्दालाई जामले सधैं सताइरहन्छ । गन्तव्यमा पुग्न २ घण्टा थप समय छुट्याउनै पर्ने बाध्यता छ । सवारीसाधनको चापले गर्दा ट्राफिक व्यवस्थापनमा उस्तै कठिनाइ छ । अर्को अर्थमा उपत्यकालाई ‘जाममाण्डू’ र ‘धूलोमाण्डू’ भनेर व्यंङ्ग्य गर्दा पनि फरक नपर्ने अवस्था छ ।

अझ एक झमट पानी पर्‍यो भने त झन् जाम बढी हाल्छ । सवारीसाधन व्यवस्थापनका लागि ट्राफिक प्रहरीलाई उस्तै सकस । सर्वसाधारणलाई भने सास्ती । उपत्यकाका सडकमा खाल्डाखुल्टी धेरै भएकाले थोरै पानी पर्दा पनि जम्ने हुँदा दुर्घटनाको सम्भावना उस्तै हुन्छ । कथं यस्तोमा होस नपुर्याए दुर्घटनाको जोखिम पनि उस्तै हुन्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अझ उपत्यकाका बासिन्दा जामले हैरान भएका छन् । यही जाम कम गर्ने विकल्पका रूपमा ‘डेडिकेटेड लेन’ लाई अघि सारिएको छ । अझ कोटेश्वर–जडीबुटी खण्डको जाम कम गर्न सडक विभागले डेडिकेटेड लेन थप्ने प्रक्रियाको प्रारम्भिक अध्ययन अघि बढाएको छ ।

‘‘यसको प्रारम्भिक प्रक्रिया अघि बढेको छ,’’ सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले बाह्रखरीसँग भने, ‘‘डेडिकेटेड लेन जाम कम गर्ने तत्कालीन विकल्प हुनसक्छ ।’’ उनक अनुसार डेडिकेटेड लेन दुईतर्फ थपिए जाम कम हुने दाबी गरे । ‘‘लेन बढाउन खर्च पाए बढाउँछौं भन्ने कुरा हो, यो अल्पकालीन योजना पनि हो,” उनले भने । लेन थप्दा साँच्चिकै जाम घट्ने अध्ययनको निष्कर्ष आएपछि सडक कस्तो बन्ने भन्ने विस्तृत योजना बनाइने उनले बताए । 

२०७६ पुस १५ गते मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाको जाम व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना बनाएको थियो । त्यसैको अंगका रूपमा ‘डेडिकेटेड सर्भिस लेन’ रहेको नेपालीले प्रस्ट्याए । उनका अनुसार तीनकुनेदेखि कोटेश्वर हुँदै जडीबुटीसम्म सडकको बायाँतर्फ र भक्तपुरदेखि कोटेश्वर हुँदै बालकुमारी जाने सडकको बायाँतर्फ एक–एक वटा ‘डेडिकेटेड सर्भिस लेन’ थप्न अध्ययन अघि बढेको छ ।

डेडिकेटेड लेनमा निश्चित सवारीसाधन मात्र गुड्न पाउँछन् । कोटेश्वरबाट पेप्सीकोला जाने गाडी छ भने त्यो रुटमा अरू गाडी (भक्तपुर जाने गाडी) छिर्न मिल्दैन । योजनाअनुसार लेन थपिए तीनकुनेबाट कोटेश्वर हुँदै पेप्सीकोला जाने र भक्तपुरबाट कोटेश्वर हुँदै सातदोबाटो जाने सवारीसाधन जाममा बस्नु पर्दैन । 
फाइल तस्बिर : बाह्रखरी

प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  १६:३६
प्रतिक्रिया दिनुहोस्