site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काष्ठमण्डपमा तराईको काठ र धरहराको माटो

काठमाडौं । भूकम्पले भत्किएको काष्ठमण्डप पुनर्निर्माणले गति लिएको छ । काष्ठमण्डप पुनर्निर्माणमा तराईको काठ र धरहराको माटो प्रयोग गरिएको छ ।

तराईको काठ, धरहरा, ताहचल र बाफलको माटो तथा दक्षिण–बाराही इँटा उद्योगको इँटाले काष्ठमण्डप निर्माण भइरहेको पुनर्निर्माण समिति सचिव गौतम डंगोलले जानकारी दिए । “काठको अभाव नभए तोकिएको समयअघि पुनर्निर्माण भइसक्थ्यो,” उनले भने ।

समितिका अनुसार पुनर्निर्माणको काम झन्डै ५० प्रतिशत पूरा भएको छ । काष्ठमण्डप पुनर्निर्माणमा १७ हजार क्यु फिट काठ लाग्ने बताइए पनि अहिलेसम्म ४ हजार ३८ दशमलव १८ क्यु फिट मात्र काठ ल्याइएको छ । ‘‘ती पनि महोत्तरी र चितवनबाट ल्याइएको हो,’’ गौतमले भने । उनका अनुसार दक्षिण बाराही इँटा उद्योगबाट माः अप्पा (ठूलो) ३३ हजार ३५८ वटा र माः अप्पा (सानो) २१ हजार ५३० वटा इँटा ल्याइएको छ ।
समितिका अनुसार काष्ठमण्डपका लागि आवश्यक काठ टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौतासमेत भएको र चरणबद्ध उपलब्ध गराउने सहमति भएको थियो । तर सहमति भए पनि आवश्यकताअनुसार काठ नआउँदा पुनर्निर्माणमा समस्या भएको समितिको भनाइ छ । यसअघि गत कात्तिकमा पनि समितिले काठ अपुग भएको भन्दै सरकारसँग काठ आपूर्तिका लागि आग्रह गरेको थियो । 

काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले प्रदेश सांसद राजेश शाक्यको अध्यक्षतामा ०७५ वैशाख १८ गते समिति गठन गरेको थियो । २०७५ माघ २७ गते श्रीपञ्चमीका दिनमा पुरोहित राखेर सबैको अपनत्व हुनेगरी पूजा, संकल्प गरी चारवटा मूल थाम राखिएको थियो । झाँकीसहित थाम उठाइएको थियो । हाल पहिलो तलाको पाखा हाल्ने तयारी भइरहेको छ । 

समितिले दिएको जानकारीअनुसार थाममा प्रयोग हुने ४ थाममध्ये ३ वटा नयाँ प्रयोग गरिएको छ । एउटा पुरानै प्रयोग गर्न मिल्ने विज्ञहरूले सुझाएपछि पुरानै थाम प्रयोग गरिएको छ । ४ मूल थाममध्ये एक थाम (१०औं शताब्दीमा प्रयोग गरिएको पाइएको) पुरानो राखिएको छ । त्यस्तै १०० थान मेथमध्येमा २९ वटा सातौं शताब्दीमा प्रयोग गरिएको छ । 

सचिव डंगोलका अनुसार पहिलो र दोस्रो पंक्तिमा १०–१० मेथ प्रयोग गरिएका छन् । तेस्रो पंक्तिमा ९ वटा मेथ प्रयोग गरिएका छन् । समितिका अनुसार परम्परागत सामग्री र प्रविधि प्रयोग गरी पुरानै स्वरूपमा ल्याउने गरी पुनर्निर्माण भइरहेको छ । काष्ठमण्डप पुरानै शैली (तीन तला) को बन्नेछ ।

समिति बनेपछि साउनसम्म पूर्वाधार विकास र जनशक्ति खोज्ने र भदौमा निर्माण क्षेत्र सफा गर्ने काम भएको थियो । गत कात्तिक २२ गते शुभारम्भ पूजा गरी पुनर्निर्माण सुरु गरिएको थियो । तोकिएकै तीन वर्षभित्र पुनर्निर्माण सक्ने गरी काम भइरहेको समितिले जनाएको छ ।

त्यस्तै, बुट्टा भएको १६ मूल मेथमध्ये १० वटा पुनःप्रयोग गर्न सकिने बताइएको छ । पुनर्निर्माणमा प्रयोग भएका सबै सामग्री पुरातत्त्व विभाग र युनेस्कोको मापदण्डअनुसार प्रयोगशालामा परीक्षण गरिएको थियो । काष्ठमण्डपको नक्सा पुरातत्त्व विभागबाट गत मंसिर १६ गते स्वीकृत भएको थियो ।

काठमाडौं  महानगरपालिकाले पुनर्निर्माण समितिलाई हालसम्ममा ५ करोड ५० लाख रुपैयाँ प्रदान गरिसकेको छ । काष्ठमण्डप पुनर्निर्माणका लागि १९ करोड खर्च लाग्ने अनुमान गरिएको छ । अहिलेसम्म ३ करोड रुपैयाँ खर्च भएको समितिको दाबी छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  १३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro