site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 आफन्तलाई सहयोग गर्दा सातवर्ष जेल ! तर ऋणको भारी थाप्लोमै
Tiktok banner adTiktok banner ad

काठमाडौं । कुनै आफन्तको सम्पत्ति आफ्नो नाममा त गर्नुभएको छैन ? सचेत हुनुहोस् ! त्यही अर्काको सम्पत्तिले वर्षौंसम्म जेलमा समेत पुर्‍याउन सक्छ । 

यो केवल अनुमानका भरमा मात्रै भनिएको होइन, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स प्रकरणमा फसेका व्यक्तिहरु यसको ज्वलन्त उदाहरण हुन्, जसको चर्चा गर्दैछौं । 

काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीका स्थानीय हरिहर खड्का पेशाले सुरक्षा गार्ड थिए । 

नेपाल प्रहरीको हवल्दारबाट अवकाश पाएपछि उनी सन् २००७ देखि ग्रुप फोर सेक्यूरिटीमार्फत् बौद्धस्थित स्टान्डर्ड चार्टर्ड बैंकको एटीएममा सुरक्षा गार्डका रुपमा कार्यरत थिए । 

सुरक्षा गार्डमा जागिर गर्नुअघि विदेश जाने सोच पनि बनाएका थिए । 

तर, परिवारका सदस्यहरुको आग्रहमा उनी विदेश गएनन्, स्वदेशमै सुरक्षा गार्डमा काम गरे ।  जागिरकै सिलसिलामा उनी २०६८ साल भदौ २ गते जब पक्राउ परे, त्यसबेलामात्रै उनी छाँगोबाट खसेझैं भए । 

उनलाई क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सबाट करोडौं ऋण लिएर अपचलन गरेको आरोप लगाइयो ।  उनकै शब्दमा उनी जस्तै ‘नक्कली ऋणी’ अन्य करिब ४५ जना छन् । 

कति जेलमै छन्, कति भागिरहेका छन् त कतिको मृत्यु पनि भइसक्यो । अदालतको आदेशपछि उनी सात वर्ष जेल बसेर निस्किए । उनीमाथि लगाइएको नौ करोडको ऋणको भार भने उनैमाथि छ । 

उनी भन्छन्, “सातवर्ष जेल बस्नुपर्‍यो, अझै नौ करोडको ऋणको भार मेरो थाप्लोमाथि छ । आफैले खाएको भए पनि सन्तोष गर्ने ठाउँ हुन्थ्यो तर के गर्नु, आफन्तलाई सहयोग गर्दा आफन्तैले जेल पनि पठाए, जीवन बर्बाद गराए ।”

सोही गाउँका ५७ वर्षीय रघु कार्कीको पीडा पनि उस्तै छ ।

आफ्ना जेठान शम्भु केसीको आग्रहमा केसीको जग्गा आफ्नो नाममा बनाए ।  आफ्नो नाममा बनाएको जग्गा न आफ्नो भयो न त देखे नै । बरु सोही जग्गाका कारण नौ करोडको ऋणको भार थपियो ।

उनी पनि ७ वर्ष जेल जीवन बिताएर हालै निस्किए तर ऋणको भार भने जहाँको त्यहीँ छ । 

उनले भने, “जेलबाट निस्किएपछि मुटुको अपरेशन गर्नुपर्‍यो, घर व्यवहार अस्तव्यस्त भयो । घरका सबैलाई तनाबले घेरिरह्यो । अब के हुन्छ, पत्तो छैन, कहाँ जाने, कसरी जाने थाहा छैन ।”

किन परे जेल ? 

यसको कारण खोज्न क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा भएको घोटाला प्रकरणसम्म पुग्नुपर्छ । जसलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको थियो । 

फाइनान्समा ठूलो परिमाणको कर्जा अपचलन भएको, कर्जाको गुणस्तरसमेत अत्यन्त कमजोर रहेको र सुधार हुन सक्ने अवस्थामै नभएको ठहर गर्दै केन्द्रीय बैंकले २०६९ माघ १८ गते संस्थालाई समस्याग्रस्त घोषणा गर्‍यो । 

त्यसअघि राष्ट्र बैंकले संस्थाको वित्तीय परिसूचकमा सुधार गर्न ६ महिनाको समय दिएको थियो । तर, सुधार आउनुको सट्टा संस्था झन् झन् बिग्रँदै गयो । 

संस्थाको वित्तीय अवस्था दिनप्रतिदिन जटिल बन्दै जानुको मूख्य कारक कम्पनीका पूर्वप्रबन्ध सञ्चालक पवनकुमार कार्की र उनका ससुरा शम्भु केसी थिए । 

उनीहरुकै योजनामा खड्का, कार्कीसहित करिब ४५ जना फस्न पुगे ।

कसरी फसे ? 

प्रश्न जति गम्भीर छ, उत्तर त्यति नै सहज । कार्की र खड्का भन्छन्, “आफन्तलाई सहयोग गर्दा फसियो ।”

शम्भु केसी रघु कार्कीका जेठान हुन् । जेठानले आफ्नो नाममा धेरै जग्गा भएको र हदबन्दी लाग्ने भएकाले आफ्नो जग्गा कार्कीको नाममा गराइदिन आग्रह गर्दै पटक–पटक रघुको घरमा गए । 

आग्रह गरे, जग्गा जोगाइदिन अनुनय–विनय गरे ।  कार्कीका अनुसार केसीले कुनै लोभ पनि देखाएका थिएनन्, त्यसैले विश्वास पनि गरिहाले । 

केसीले आफ्नो ४ रोपनी १२ आना जग्गा कार्कीको नाममा बनाइदिए ।  जग्गा पास गर्न कार्की चारखालस्थित मालपोत कार्यालयमै गए ।  उनले भने, “जग्गाको हदबन्दी लाग्ने भएकाले आफ्नो नाममा राख्न आग्रह गरे, मैले पनि स्वीकार गरेँ, तर त्यो नै मेरो सबैभन्दा ठुलो भूल भयो । भन्नेबित्तिकै कुनै पनि आफन्तलाई सहयोग गर्न नहुने रहेछ । नराम्रोसँग फसायो ।” 

कार्कीको नाममा पास गरिएको जग्गा धितो राखेर केसीले करोडौं रकम क्यापिटलबाट ऋण लिएका रहेछन् ।  कार्कीले तबमात्रै आफू फसेको पत्तो पाए जब प्रहरीले २०६८ साल भदौ २ गते घरबाटै उनलाई पक्राउ गर्‍यो । 

कार्कीलाई सोही जग्गा धितो राखेर ९ करोडको ऋण बोकाइएको रहेछ ।  केसीले कार्कीलाई जग्गामा फसाएका रहेछन् भने खड्कालाई कम्पनी खोलेर । 

केसीका सालो पवन कार्कीमार्फत आफू फसेको खड्का बताउँछन् ।  “त्यो पनि अख्तियारनामाका आधारमा,” उनी भन्छन् ।  कम्पनी खोल्न भनेर पवनले नागरिकता लगेको र कम्पनी खोल्न केही कागजपत्रमा हस्ताक्षर गर्नुपर्ने भन्दै डिल्लीबजारस्थित एउटा वकिलको कार्यालयमा हस्ताक्षर गराएको उनले बताए । 

उनले भने, “मेरो भूल भनेको नै नागरिकता दिनु र केही कागजपत्रमा हस्ताक्षर गर्नु भयो ।” 

त्यही कम्पनीको नाममा केसीले कराडौं क्यापिटलबाट ऋण लिएका रहेछन् ।  अहिले उनी नौ करोडको ऋणमा छन् ।  उनी भन्छन्, “नौ करोडको ऋण बोकाइएको छ, सात वर्ष जेल बसिसकेँ । अझै नौ करोडको ऋण थाप्लोमै छ । बर्बाद बनायो ।” 

उनको नाममा सम्मृद्धि ई.के.प्रालिको नाममा कम्पनी दर्ता गरिएको छ । 

कम्पनी खोल्दा अख्तियारनामामा हस्ताक्षर गराइएको र त्यही आधारमा आफूलाई फसाइएको उनले बताए ।  खड्कालाई नौ करोड ऋण बोकाइएको छ । जरिवानाबापत चार वर्ष र कैदमार्फत तीनवर्ष गरी सातवर्ष जेलमा बसेका उनलाई बिगो ऋणीबाट फराउनू भन्ने अदालतको आदेशले ऋण आफ्नै टाउकोमा रहेको उनले बताए । 

उनले भने, “जसोतसो सातवर्ष जेल त काटियो तर ऋण कसरी तिर्ने ?”

यहाँ उल्लेख गरिएका ‘ऋणी’ विरुद्ध पाटन उच्च अदालतले २९ वैशाख २०७१ मा फैसला गरेको हो ।  नेपाल राष्ट्र बैंकले २०६९ वैशाख ३१ मा शम्भु केसीसहितका व्यक्तिविरुद्ध बैंकिङ कसुरको मुद्दा दर्ता गरेको थियो । 

पाटन उच्च अदालतले केसीसहितका केही व्यक्तिलाई दोषी ठहर गरेपछि केहीले जेल सजाय काटिसकेका छन् भने केही जेलमै छन् ।  केहीले भने सफाइ पाइसकेका छन् । 

के भन्छन् उनीहरु ?

हरिहर खड्का– ५५ 

आफ्नै मान्छेले नराम्रोसँग फसाए, ऋणको भारी बोकाए । शम्भु केसीको साला वासु खड्का हाम्रै नातेदार हुन्, आफन्त हुन् ।

हाम्रो क्षेत्रमा भएका आफन्तलाई फसाउने उनी नै हुन् । 

कम्पनी खोल्न भनेर मेरो नागरिकता लिएको थियो, मैले नागरिकता दिएको पनि बिर्सिएँछु । 

पछि अंशबन्डा गर्नुपर्‍यो भनेर नागरिकता खोज्दा मात्रै सम्झिएँ ।

करिब एक वर्षपछि मात्रै उसँग मेरो नागरिकता लिए । त्यो बीचमा मेरो नाममा धेरै फट्याइँ गरिसकेछ ।

मेरो जागिर सुरक्षा गार्डमा थियो । शनिबार बिदा हुँदा कार्यालय खुल्दैन, अरु दिन म जागिरमै हुन्थेँ । 

गु्रप फोर सेक्यूरिटीबाट बौद्ध गेटमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको एटीएममा काम गर्थेँ । घर–अफिस गर्दाकै क्रममा मलाई २०६८ भदौ २ गते प्रहरीले समातेको हो ।  

मैले क्यापिटल फाइनान्स देखेको पनि थिइनँ । मुद्दा परेपछि मात्रै देखेँ । नातागोता, दाजुभाइ भनेर विश्वास गर्नु नै मेरो गम्भीर गल्ती भयो । नागरिकता दिनु नै मेरो ठुलो भूल भयो ।

राम्रोसँग खाइवरी बसेको मान्छेलाई कम्ति तनाव भएन । सात–सात वर्ष जेल बस्नुपर्‍यो । धन्न भूकम्पले घर लडेन । 

घर पनि लडेको भए त के हुन्थ्यो हालत ? मेरा दुईवटै सन्तानको विवाह म जेलमै हुँदा भयो । 

मलाई घरमा आएर प्रहरीले समातेको पनि होइन । गाउँमा झगडा भएको थियो, त्यसक्रममा सरजमिन गर्न प्रहरी कार्यालय जाँदा पक्राउ गरिएको हो । 

मैले ऋण लिएको भन्ने कुरा नै थाहा छैन ।  त्यसअघि एक–दुईवटा कागजमा हस्ताक्षर गराएको थियो । त्यसमध्ये कम्पनी खोल्नको लागि भनेर एकपटक गराइयो । कम्पनी दर्ता गराउने क्रममा नै मलाई फसाइएको रहेछ । 

हाम्रा तीनजना दाजुभाई पनि जेलमा । मैले सातवर्ष बिताएँ । दुईजना भतिजा पनि परेका छन्, उनीहरु अहिले जेलमै छन् । मलाई नौ करोड ऋण बोकाइएको छ । जरिवानाबापत चारवर्ष र कैदमार्फत तीनवर्ष गरी सात वर्ष जेलमा बसेँ । 

बिगो ऋणीबाटै भन्ने अदालतको आदेशका कारण ऋण मेरो थाप्लोमा अझै छ ।

मेरो हस्ताक्षर पनि कीर्ते गरेका छन् । रघु कार्कीको त पूरै कीर्ते छ । मेरो ५० प्रतिशत जति मिलाएका रहेछन् । हाम्रो नातेदारले नै यस्तो गर्छ भन्ने एक रति पनि सोचेका थिएनौं ।

रघु कार्की– वर्ष ५७

शम्भु केसी जेठान हुन् । मेरो जग्गा धेरै भयो, हदबन्दी लाग्ने भयो, तपाईँको नाममा पनि राख्नुपर्ने भयो भने ।  कहिल्यै नराम्रो गरेका थिएनन्, लौ भनी मेरो नाममा चार रोपनी १२ आना जग्गा पास गराए । 

त्यसका लागि डिल्लीबजार मालमोत कार्यालयमा गएँ । जग्गा पास गर्नुभन्दा पहिले कुनै लोभ वा प्रलोभनमा नपारेका कारण समस्या परेकै होला भनेर मैले जग्गा पास गरिदिएको थिएँ ।

त्यो जग्गा कहाँको हो भन्ने मलाई थाहा पनि थिएन ।  केसीले धेरै कागजपत्रमा हस्ताक्षर पनि गराएका थिए, तर सबै मेरै घरमा आएर गराएका थिए । 

मैले विश्वास गरेर खुरुखुरु सही गरेँ । त्यो नै मेरो ठूलो गल्ती भयो ।  तिनी त्यस्ता मान्छे पनि थिएनन् । आफन्तले भने भन्दैमा विश्वास गर्न नहुने रहेछ । परेपछि थाहा भयो । 

कम्पनी खोल्दा बच्चाहरुलाई विदेश पठाउन सजिलो हुन्छ पनि भनेका थिए, होला भन्ने पनि भयो ।  लोभमा परेर गरेको काम होइन । कुनै पनि ऋणी लोभमा परेका होइनन्, आफन्तको विश्वासमा परेका हुन् । 

उसले सहयोग गरिदिनुहोस् भनेको आधारमा सबै आफन्त फसेका हुन् । मैले एउटा पनि चेकमा हस्ताक्षर गरेको जस्तो पनि लाग्दैन्, कसरी त्यो संस्थाले पैसा दियो?

म जेलभित्र बस्दा त्यो मेरो नामको जग्गा पनि लिलाम गरिदिए ।  नभए त अहिले त्यही जग्गा बेचेर ऋण तिर्न सक्थेँ । हरिहर खड्का र मलाई शम्भु केसीको घर धितो थपिदिएको छ रे । 

जेलमा हुँदा हाम्रो नाममा धितो थपिदिएको रहेछ । उसले पैसा लिएरै त होनि हाम्रो नाममा धितो राखिदिएको छ । हामीले खाएको भए उसले किन आफ्नो घर हाम्रो ऋणमा धितो राख्थ्यो ?

केही हुँदैन हामी मिलाउछौं पनि भनेका थिए, तर फसाए । 

पछि उसैलाई समातेर थुन्यो । मैले पनि सातवर्ष बिताएर आएँ ।

मलाई मेरो नाममा नौ करोड छ भनेर भनेका छन्, ठ्याक्कै कति हो मलाई अझै पनि थाहा छैन । सातवर्ष जेल बसियो, व्यवहार डुब्यो । 

क्यापिटल मर्चेन्ट मैले देखेको पनि छैन, टेकेको पनि छैन । सुरुमा हरिहर खड्का र मलाई समात्यो, त्यसपछि अरु मान्छेहरु डराए ।  शम्भु केसीले यो केश मिलाइदिन्छु भनेपछि भागेका छन् । मलाई जेलभित्र पनि छिट्टै छुटाउछौं भनेको थियो, तर सातवर्ष जेलमै बित्यो । 
मेरै साडु भाइलाई १३ वर्षको जेल सजाए सुनाइएको छ, जेलमा छ । साडु दाजु पनि जेलमै हुनुहुन्छ ।

को हुन् शम्भु केसी र पवन कार्की ?

सुरुमा पवन कार्की मासु व्यापारी थिए । मासुको व्यापार गर्दाकै समयमा शम्भु केसीसँग उनको सम्पर्क भयो । केसी पनि कुखुरा व्यवसायी थिए ।  व्यावसायिक सम्बन्धपछि पारिवारिक सम्बन्धमा रुपान्तरण भयो ।  शम्भु केसीले आफ्नी छोरी पवन कार्कीलाई विवाह गरिदिए ।

विवाहपछि कार्कीकी श्रीमतीलाई डीभी पर्‍यो र दुवैजना अमेरिका गए ।  आफू अमेरिका गएपछि नेपालको आफ्नो व्यवसायको जिम्मा आफ्ना ससुरा शम्भु केसीलाई पवनले जिम्मा लगाइदिए । 

यी दुईको योजनामा आफूहरु फसेको पीडित बताउँछन् ।  यो घटनामा जति पनि पीडित छन्, ती सबै कार्की वा केसीका आफन्त छन् ।  यी दुईजनाको जालमा आफूहरु फस्दा जेल पर्नुका साथै व्यवहार पनि अस्तव्यस्त भएको आफन्तको गुनासो छ । 

के भन्छन् पीडितका आफन्त ?

दामोदर खड्का, कागेश्वरी मनोहरा नगरपालिका १, गागलफेदी

जेठानले मेरो छोरा, भतिजा र मेरो भाइलाई फसाए । शम्भु केसी मेरा जेठान हुन्, मेरो बहिनी विवाह गरेका छन् ।  आफन्त भनेर उनको विश्वासमा पर्दा वित्यास पारे । 

भाइ हरिहर खड्का ७ वर्ष जेल बसिसक्यो । अझै ऋणको भारी बोक्नुपरेको छ । 

केसीले काठमाडौं उपत्यकाको पेरिफेरिमा ११ सय रोपनी जग्गा खरिद बिक्री गरेका रहेछन् ।  त्यो जग्गा विभिन्न फर्मको नाममा धितो राखेर त्यही फाइनान्सबाट ऋण लिने गर्दा रहेछन् ।  त्यो ऋणको पैसा उनले जग्गामा नै लगानी गर्दा रहेछन् । मैले भन्न हुने हो की होइन यो काण्डमा राष्ट्र बैंकका अधिकारी पनि संलग्न छन् जस्तो लाग्छ । 

राष्ट्र बैंकले संस्थामा कराडौं रकम हिनामिना भएको प्रतिवेदन सार्वजनिक नगर्दै निश्चित अवधि दिएर संस्था सुधार्न लगाउनुपर्नेमा एकाएक क्यापिटल डुब्दैछ भनेर प्रचार किन गरियो ?  उनले क्यापिटलमा जम्मा हुने निक्षेप आफ्ना आफन्तको नाममा ऋण झिकेर जग्गामा लगानी गर्दा रहेछन् । 

एउटा जग्गा बेच्यो ऋण तिर्‍यो, फेरि अर्को आफन्तको नाममा ऋण लियो । त्यो पनि तिर्‍यो ।  यसरी उनी ठूलो व्यापारी देखिए । पवन अमेरिका गएपछि उसको जग्गाको कारोबार गर्ने व्यक्ति ससुरा अर्थात् शम्भु केसी नै भए । 

उनले आफन्तलाई जग्गाको हदबन्दी लाग्ने भन्दै सहयोग गर्न आग्रह गरे, हामीले विश्वास गर्‍यौं, र नराम्रोसँग फसियो । यी जति पनि ऋणी छन्, ती कसैले पनि एक रुपैयाँ पनि खाएका छैनन् । 

प्रशान्त कार्की, कागेश्वरी मनोहरा नगरपालिका 

मेरो बुबा रघु कार्की आफन्तलाई सहयोग गर्दा सात वर्षको जेल बस्नुपर्‍यो ।  अझै ऋणको भारी टाउकोमा छ । क्यापिटलबाट ऋण लिएको भन्ने जानकारी तब मात्रै थाहा भयो जब बुबा घरबाटै पक्राउ पर्नुभयो । 

ऋण लिनको लागि त क्यापिटलमा जानुपर्ने हो नि, तर मेरो बुबा जानुभएको छैन । 

उहाँले क्यापिटल संस्था नै देख्नुभएको थिएन । आफ्नो जग्गामा हदबन्दी लाग्छ भनेर आफन्तको नाममा राख्न लगायो । उसैको जग्गा त हो नि भनेर विश्वासको आधारमा आफ्नो नाममा गरिदियौं तर सोही जग्गाबाट ऋण लिँदै हामीलाई नक्कली ऋणी बनाइएको रहेछ । 

विकास कार्की, बूढानिलकण्ठ नगरपालिका ४

नाताले शम्भु केसी मामा हो ।  आफ्नो नाममा धेरै जग्गा भएको र हदबन्दी लाग्ने भन्दै आफ्नो नाममा पास गरिदिन बुवा मदन बहादुर कार्कीलाई आग्रह गरे ।

त्यो बेलामा म सानै थिए, बुझ्ने कुरा पनि भएन । 

जग्गा आफ्नो नाममा राखेपछि बेच्नु पर्दा सधै भेट्नु पर्छ भनेर पहिले नै सबै चेकबुकमा बुवालाई सही गर्न पनि लगाएछ ।  बुबाले गरिदिनुभयो । उसको कारोबार ठुलो भएको हुनाले नराम्रो गर्छ भनेर सोच्न पनि सकिएन । 

चेकमा हस्ताक्षर गरेको व्यक्तिबाट त रकम निकायो तर चेकमा सही नै नगरेका धेरै व्यक्तिहरु छन्, उनीहरुको नामबाट कसरी नगद निकाल्यो ? उसले वारेसनामा, तमसुक सबैमा नक्कली हस्ताक्षर गराएको छ । 

त्यो बेला करोडौँ करोड ऋण पास कसरी भयो ? १० लाखको ऋण पास गर्नको लागि त बोर्ड बैंठक गरेर स्वीकृती दिनुपर्छ भने कराडौं रकम कसरी पास गरियो ? 

बुबाको नाममा सातकरोड २१ लाख ऋण लिएको देखाइएको छ ।  धितोमा राखेको जग्गा पनि पहिले त धेरै देखाइएको थियो अहिले जम्मा १३ रोपनी छ, ऋण भने जस्ताको त्यस्तै छ ।  ११ सय ९ रोपनी जग्गामा ५–६ सय रोपनी जग्गा बिक्री गरिसके । त्यसमा मेरो बुबाको धितो पनि पर्छ तर ऋण घटेको देखिएको छैन । 
त्यो बेलामा ती जग्गा बेचेर ऋण तिर्न सक्ने अवस्था थिएन तर अहिलेको मूल्यमा बेच्न पाउने हो भने ऋण चुक्ता गर्न सकिने देखिन्छ । 

भक्तपुर चाँगुनारायणमा तीनसय रोपनी, नगरकोटमा ५० रोपनी, अरु ठाउँका जग्गा पनि बाँकी छन् ।  यो बेच्ने हो भने क्यापिटललाई तिर्न बाँकी रहेको सबै ऋण तिर्न सकिन्थ्यो ।  तर ती जग्गामा पनि चलखेल गरिएको छ, बेच्नलाई राष्ट्र बैंकले रोकेको छ भनिएको छ । 

के चाहन्छन् पीडित ?

यस घटनामा अदालतबाट दोषी ठहर भइ जेल सजायसमेत भोगिसकेकाहरु अझै पनि सरकारले उच्चस्तरीय छानबिन आयोग गठन गरी अध्ययन गरिदिए न्याय पाउन सकिने झिनो आशा बाँकी रहेको बताउँछन् ।

सात वर्ष जेल बसेर आएका रघु कार्की, हरिहर खड्का एवं उनीहरुका आफन्त पनि त्यही चाहन्छन् ।  जेलमा भएकाहरु समेत सरकारले उच्चस्तरीय आयोग गठन गरी छानबिन गरिदियोस् भन्नमै छन् । 

सरकारले छानबिन गर्दा न्याय पाइन्छ कि भन्ने आशा अझै उनीहरुमा छ ।  हरिहर खड्का भन्छन्, “यसमा संस्थागत भ्रष्टाचार भएको छ, नक्कली ऋणी बनाएर सोझा–साझालाई फसाइएको छ । सरकारले उच्चस्तरीय छानबिन आयोग गठन गरेर छानबिन गरे सत्य सार्वजनिक हुने थियो । हामी पीडितलाई अझै पनि न्याय मिल्छकि भन्ने झिनो आशा छ ।” 

उनीहरुले यो घटनाका मूख्य अभियुक्तलाई छोडेर नक्कली ऋणी बनाइएकालाई मुख्य अभियुक्तमा सजाय दिइएको आरोप पनि छ ।  अर्का पीडित रघु कार्की पनि छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरिदिन सरकारसँग आग्रह गर्छन् । 

उनले भने, “सातवर्ष जेल बसियो, व्यवहार डुब्यो । ऋण उनीहरुले झिकेका छन् । हामीले खाएका छैनौं । जेलमा जति बिताइयो, बिताइयो तर हामी निर्दोष छौं, सफाइ दिनुपर्‍यो । त्यसका लागि सरकारले उच्च स्तरीय छानबिन आयोग बनाइदियोस् । यही मुद्दामा अरुले दुःख नपाउन् । निश्पक्ष छानबिन होस् ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro