
काठमाडौं । नेपाल वायुसेवा निगमले आगामी मार्च पहिलो साता जापानको नारिता उडान गर्ने भएको छ । निगमले नारिता उडान सञ्चालनको सबै तयारी पूरा भइसकेको जनाएको छ । मार्च पहिलो साता वाइड बडी ए ३२० बाट उडान हुने निगमले जनाएको छ । नारिता उडान सञ्चालनमा आएपछि वाइड बडी ए ३३० को आम्दानी पनि बढ्ने निगम व्यवस्थापनको विश्वास छ ।
निगमले नारिता उडान सञ्चालनका लागि कार्यकारी अध्यक्षको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरिसकेको छ । नारितामा माग धेरै भएको र उडानपछि यात्रुको संख्या बढ्दा आय पनि बढ्ने निगमले जनाएको छ ।
यस्तै चीनको नागरिक उड्डयन नियमनबाट अनुमति पाएपछि ग्वान्आजो उडान पनि मार्चमै गर्ने निगमको तयारी छ । ग्वान्जाओ उडान सञ्चालन गर्न आवश्यक सबै तयारी पूरा भइसकेको निगमले जनाएको छ । यस्तै निगमले चाइनिज सिभिल एभिएसन रेगुलेसन्स् (सीसीएआर) बाट पनि उडान अनुमति पाइसकेको छ ।
चीनको ग्वान्जाओ उडानपछि निगमको अन्तर्राष्ट्रिय गन्तव्य १० पुग्ने र वाइड बडी ए ३२० र ए ३३० को व्यस्तता बढ्ने निगमले जनाएको छ ।
असोज मसान्तसम्मको किस्ता भुक्तान
आर्थिक रूपमा संकटोन्मुख रहेको भनिएको निगमले वाइड बडी विमान खरिद गर्न लिएको ऋणको असोज मसान्तसम्मको भुक्तानी दिएको छ । निगमले कर्मचारी सञ्चय कोषमा ए ३२०–२०० जहाजको असोज मसान्तसम्मको किस्ताबापत ३३ करोड ९ लाख ५५ हजार भुक्तानी गरेको जनाएको छ । जहाज खरिदका लागि लिएको ऋण समयमै भुक्तानी गर्न सफल भएको र यसले निगमप्रति लगानीकर्ताको विश्वासमा बढेको जनाएको छ ।