
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको असर नेपाली बजारमा पनि परेको छ । मूल्य बढेर ७६ हजार पुगेपछि व्यापार लगभग शून्यजस्तै भएको व्यापारीहरू बताउँछन् ।
अमेरिका र इरानबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारका अनुसार यही असर नै नेपाली बजारमा परेको हो । यस्तै सुनको मूल्य बढ्नुमा अमेरिका र चीनबीचको व्यापार युद्ध पनि प्रमुख रहेको सुनारको भनाइ छ ।
“अमेरिका–इरानबीच एवं अमेरिका–चीनबीचको द्वन्द्वले अन्तर्राष्ट्रिय क्षेत्रमा अस्थिरता देखाएको र सुरक्षित लगानीका लागि मान्छेहरूले सुनमा लगानी गर्दा भाउ बढेको हो,” उनले बाह्रखरीसँग भने, ‘‘यसैको प्रत्यक्ष असर नेपाली बजारमा परेको हो ।’’
पहिले लगानीकर्ताले सम्पत्तिका रूपमा सेयर बजार, डलरमा लगानी गरे पनि पछिल्लो समय सुनमा लगानी गर्ने क्रम बढेको व्यवसायीको भनाइ छ । लगानीका लागि सुन बढी सुरक्षित देखेर विदेशीले सुनमा लगानी गरिरहेको सुनारको बुझाइ छ ।
सुनको भाउ बढ्दा सानो पुँजी हुनेहरूलाई बढी असर पारेको उनले बताए । ‘‘थोरै सुन किन्न पनि दुईपटक सोच्नुपर्ने अवस्था आयो, यसले व्यापारमा प्रत्यक्ष असर त पारेको छ नै कारोबार नभएपछि पूँजी पनि रोकिने भयो,’’ उनले भने, “यसको असर राजस्वमा पनि पर्नेछ ।” कारोबार नभएपछि अन्य क्षेत्रमा पनि त्यसको अप्रत्यक्ष रुपमा असर पर्ने व्यवसायी बताउँछन् ।
व्यवसायीका अनुसार चीन–अमेरिकाबीचको व्यापारका विषयमा गत डिसेम्बरमा भएको सम्झौता कार्यान्वयनमा नआउँदा चिनियाँ लगानीकर्ताले पनि सबैभन्दा बढी लगानी सुनमै बढाएका छन् । त्यसको असर विश्व सुन बजारमा परिरहेको छ । भारतीय अर्थतन्त्र कमजोर बन्दै गएको र भारतीय मुद्रा कमजोर हुँदा त्यसको असर नेपाली रुपैयाँको क्रयशक्तिमा पनि परेको छ ।
यही अवस्थामा सुनको माग बढ्दै जाँदा विश्व बजारमा पनि माग झनै बढ्ने र भाउ पनि आकाशिँदै जाने सम्भावना रहेको व्यवसायी बताउँछन् । व्यवसायीका अनुसार सुनको भाउ बढेसँगै सुन किन्ने भन्दा बेच्ने बढी आउने गरेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार प्रतितोला छापावाला सुनको भाउ तोलाको ७६ हजार रुपैयाँ तोक्यो । यो अहिलेसम्मकै उच्च हो । २०७५ पुस २२ मा सुनको मूल्य प्रतितोला ५९ हजार ८ सय रुपैयाँ थियो । त्यसयता २०७६ माघ ९ मा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै प्रतितोला ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । आज सुनको भाउले पुनः नयाँ रेकर्ड कायम गरेको हो ।