काठमाडौं । पटक–पटक लडेर उठ्नुमा नै त जीवनको आनन्द छ । सुख हुँदा मान्छे, रमाउँछ र पीडाले दुःखी बन्छ । तर, समाजमा कतिपय यस्ता मानिस छन्, जो जीवनमा जतिसुकै दुःख, कष्ट आइपरे पनि डगमगाउँदैनन् । त्यसैले त त्यस्ता व्यक्ति समाजका उदाहरणीय पात्र बन्छन् ।
त्यस्तै, उदाहरणीय पात्र मध्येकी एक हुन्, रुबि लोहनी (रिजाल) । इन्भारोमेन्ट साइन्समा मास्र्टर डिग्री गर्दै गरेकी रिजाललाई आफ्नै पढाइसम्बन्धी काम गर्ने सोच थियो । सौभाग्य नै भनौँ, विराटनगरमा कम्प्युटर व्यवसाय गर्दै आएका शैलेश लोहनीले भ्याकेन्सी अनाउन्स गरेका थिए ।
काम सिक्नकै लागि रुवीले निवेदन दिइन् । हदै भए ४–६ महिना काम गर्छु भन्ने उनको सोच थियो । छनोटमा परिन् । उनले जम्मा तीन महिना मात्र काम गरिन् । यी तीन महिनाले जिन्दगीको नयाँ गोरेटो कोरे । भन्छिन्, “नसोचेकै कुराले जीवनलाई नयाँ आयाम दिँदो रहेछ । म उनीप्रति यसरी समर्पित हुन्छु भन्ने लागेकै थिएन । शैलेशको कामप्रतिको लगाव र सम्मानले सकारात्मक भएँ ।” हाकिम र कर्मचारीबाट सुरु भएको त्यो सम्बन्ध दिगो रूपमा अघि बढ्यो । उनीहरू दुईबाट एक बने ।
...
विवाहपछि काठमाडौंको बसाइ सुरु भयो । काखमा पाँच महिनाको छोरो चरण थियो । जीन्दगी खुसी खुसी चलेकै थियो । २०६४ साल उनका लागि एउटा ठूलो दशा बनेर आयो । बुबासँगै स्कुटरमा कलेज जाने क्रममा उनी दुर्घटनामा परिन् । बत्तिएर आएको माइक्रो बसले ठक्कर दियो र घुँडाको हड्डी टुक्रा टुक्रा भयो । त्यो डरलाग्दो दुर्घटनाले उनको खुट्टा त काट्नु परेन, तर काटे सरह नै भयो । खुट्टाले काम नगर्ने डाक्टरले बताए ।
श्रीमान्, छोराका साथ अगाडि बढ्न सुरु गरेको सुन्दर जीवनमा एकाएक बज्रपात पर्यो । उनले भावुक हुँदै भनिन्, ‘दशा बाजा बजाएर आउँदैन रहेछ ।’
२५ दिनको अस्पताल बसाइपछि उनी घर फर्किइन् । त्यसपछि उनको दुःखको सीमै रहेन । शौचालय जान–आउनसमेत अरूको सहयोग चाहिने भयो । तीन महिना बितेपछि भने बल्लबल्ल वैशाखीको साहाराले भित्र बाहिर गर्न लागिन् । ६ महिनासम्म उनको पढाइ पूरै बन्द भयो । पीडामा साथीहरूले मलहम लगाए । नोट ल्याइदिए । तिनै नोटको साहारा परीक्षाको तयारी गरिन् । बिरामी शरीर, सानो बच्चा तैपनि उनले डिस्टिङ्सन ल्याएर डिग्री पास गरिन् । जीवनमा साथीको महत्त्व कति हुन्छ उनले त्यतिबेला महसुस गरिन् ।
आखिर श्रीमान् लाई पनि त जीवनसाथी नै भनिन्छ नि । पढाइमा पाएको यो सफलतालाई राज र सलिनाको सहयोगको उपहार सम्झन्छिन् । दुःखको यो समयमा व्यावसायिक चटारो कत्ति पनि नदेखाई श्रीमतीलाई साथ सहयोग र हौसला प्रदान गर्ने शैलेश उनका नजरमा कति महान् छन् ‘शब्दमा भन्नै सक्दिनँ’ उनी भन्छिन्, “उहाँकै करमा थेसिस गरें, श्रीमानको पूर्ण साथ, सहयोग र हौसलामा अलिकति पनि कमी महसुस भएको भए सायद थेसिस गर्दिनथें होला ।”
त्यसपछि श्रीमान्ले घरमा बसेर दिक्क हुनुभन्दा अफिस गए मन बहलिने कुरा गरे । अफिस जाँदा एक्लोपनको महसुस उनलाई नहुने श्रीमानले बुझे र त्यसै गर्न लगाए । कलेज जान र काम गर्न नसक्ने भएकाले श्रीमानको आग्रह स्वीकारिन् र अफिस जान थालिन् । त्यो नै उनको व्यवसायको सुरुवात थियो ।
सुरुको २–३ महिना उनले अफिस गएर पनि काम गरिनन् । अफिस एक तला माथि थियो । भर्याङ चढेर जानुपर्थ्यो । अफिसमा ग्राहकलाई सामान पनि त देखाउनु पर्थ्यो । आफ्नो दुःख देखाउनुभन्दा बैसाखी छोडेर टेबल समाउँदै हिंड्न थालिन् । कामका कारण बैसाखीको प्रयोग कम हुँदै गयो । पछि बिस्तारै हिँड्न थालिन् ।
अफिसमा जानुअघि बैसाखीबिना हिँड्न नसक्ने उनलाई व्यवसायले जीवन बदलिदियो । खुट्टा भाँचिए पनि आत्मविश्वास बलियो थियो । भन्छिन्, “दुर्घटनाले मलाई व्यापारमा तान्यो ।” श्रीमानको सकारात्मक सर्पोट र श्रीमानको हात बाट्न पाउँदा आफूलाई पनि सन्तोष मिल्यो । मेरो आवश्यकता उहाँलाई पनि छ भन्ने महसुस गरेकै कारण तनमनले व्यवसायमा लागें ।” अझै पनि उनको खुट्टा १० प्रतिशत मोड्न मिल्दैन । खुट्टा मोड्न नमिले पनि उनको सपना शतप्रतिशत नै मोडिएका छन् ।
१५ वर्षअघि कम्प्युटर व्यापारी शैलेश लोहनीसँग वैवाहिक सम्बन्धमा बाँधिँदा उनले व्यापार–व्यवसाय गर्छु भन्ने त परको कुरा, सोच्दा पनि सोचिनन् । तर, समयले उनलाई व्यवसायतिर धकेलिदियो । समयको रफ्तारमा चल्नै पर्यो । आज आएर हेर्दा व्यवसायको अर्को विकल्प देख्दिनन् उनी ।
साइन्स पृष्ठभूमि भएकी उनले बिस्तारै व्यापारमा टेक्लिकल दिमाख लगाउन सुरु गरिन् । फलतः अर्को वर्षबाटै उनीहरूको व्यापार झन् फस्टाउन थाल्यो । उनका श्रीमानले १० हजार लागतबाट सुरु गरेको व्यवसायमा अहिले करोडौंको लगानी पुगेको छ । व्यवसायमा धेरै सम्बन्ध जोडिएको हुन्छ । बिस्तारै उनीहरूको सम्बन्ध बढ्दै गयो ।
उनलाई शिक्षकहरूले आफूले पढेको विषय छोडेर अन्त नमोडिन आग्रह नगरेका होइनन् । काठमाडौंको बसाइका क्रममा केही समय शिक्षण पनि गरिन् । एनजीओमा पनि काम गर्न भ्याइन् । व्यवसायमा प्रवेशपछि शिक्षकलेहरूले घरमै आएर लेक्चररको प्रस्ताव आउँदा समेत उनले आफ्नो व्यवसाय छोड्न सकिनन् । कारण उनी व्यवसायमै रमाइरहेकी थिइन् ।
आत्मविश्वास बलियो भयो ।
दुर्घटनामा थलिएकी रुविलाई सुरुमा ओम अस्पताल लगियो । पछि निरन्तर जाँचका लागि बी एन्ड बी हस्पिटल लगियो जहाँ उनका आफ्नै काका अर्थोपेडिक सर्जन थिए । खुट्टा काट्न नपरे पनि राम्रोसँग ठिक नहुने जानकारी उनका श्रीमानले पाए । करिब ५ घण्टाभन्दा बढी समय लगाएर अपरेस र हड्डी जोड्ने काम भयो । जुन एक प्रकारको जटिल अपरेसन रहेछ तर परिवारका सदस्य आतिन्छन् भनेर अपरेसन सुरु भए पनि उनका काका पटक–पटक बहिर आउँदै अपरेसन सुरु भएको छैन, मैले नै गर्ने हो भनिरहे । कारण थियो, आफन्तलाई ढाडस दिनु । अपरेसन काकाले गरेनन् । सायद आफ्नै भितिजीको खुट्टा चिर्न उहाँको मन मानेन होला । हात कापे होलान् ।
अफिस आउँने जाने गर्दा ६ महिनामै उनले बैसाखीको सहयोग लिन छोडेकी थिइन् । खुट्टा ४०–४५ प्रतिशत मात्र मोडिन्थ्यो ।
काकाले यति पनि अपेक्षा गरेका थिएनन् रे । पछि कुनै एउटा वैवाहिक कार्यक्रममा उनलाई हिँडेको देखेर कसरी सम्भव भयो यो त मिराकल हो मेरो करियरकै ठूलो सफलता हो, भनेर काका आफैं छक्क परे, उनी सम्झन्छिन् ।
उनलाई यो सब सफलताकोपछि आत्मविश्वास भए असम्भव केही छैन भन्ने लाग्छ । बलियो सकारात्मक सोचले सबै सहज हुँदै गएको उनी ठान्छिन् ।
विगत एक दशकदेखि कम्प्युटरको काम हेरे पनि उनलाई छुट्टै केही गरौं भन्ने भएकाले करिब ११ महिनाअघि काठमाडौंमा मल्टी ब्रान्ड फेसन आउटलेटका रूपमा मेलेन्ज सुरु गरिन् जुन उनको जीवनको दोस्रो ट्रनिङ पोइन्ट बन्यो ।
काम जे गरे पनि अरूले भन्दा फरक तरिकाले गर्नुपर्छ भन्ने सोच भएकी उनी आफ्नो व्यवसायलाई श्रीमान्को कम्प्युटरको जस्तै एउटा उचाई दिने र आउटलेटलाई ब्रान्डका रूपमा विकास गर्ने सोचका राख्छिन् । ‘‘रिटल आउटलेट सुरु गरे पनि म आफैं विदेशबाट सामान ल्याएर बेच्ने बेच्ने गर्छु,” उनले भनिन् ।
। उनी मेलेन्ज ब्रान्डका साथ अघि बढिरहेकी छन् । त्यसैले उनी हरेक २–३ महिनामा देश–विदेश पुगिरहन्छिन् ।
उनले व्यापारमा यसरी सफलता हात पारिन् कि आउटेल सुरु गरेको १ वर्ष नबित्दै काठमाडौं बाहिर धनगढीमा यसको पहिलो शाखा खुलिसकेको छ भने काठमाडौंमै पनि अन्य ठाउँमा केही महिनाभित्र खोल्ने तयारीमा छन्, उनी ।
२०६४ सालमा एकपछि अर्को दुःख
दसा लागेपछि लागि नै रहन्छ भने जस्तै भयो रुविको परिवारमा । २०६४ सालमा रुवि आफैं दुर्घटनामा परिन् । त्यही वर्ष उनका ससुरा समेत मस्तिष्क घातले बिते । योसँगै सोरुमबाट ३०–४० वटा कम्प्युटर चोरी भए । तर, मान्छेले जीवनमा जति नै दुःख आए पनि हरेस खानु खानु हुँदैन भन्ने उखान उनको जीवनमा लागु भएको देख्न सकिन्छ । यसरी एकपछि अर्को दुःख आइपरे पनि उनीहरूले हरेस भने खाएनन् । पीडामा सहयोग गर्नेभन्दा खुट्टा तान्ने धेरै थिए, तर पनि पीडा लुकाएरै लागि परे । अन्ततः संघर्षका अघि समस्या कति दिन टिक्न सक्थ्यो र ? त्यसयता उनीहरूलाई त्यस्तो समस्याको सामना गर्न परेको छैन, नपरोस् पनि ।
सबै सफलताका पछाडि परिवारको साथ र सहयोग मान्छिन्, उनी । उनलाई लाग्छ, आफ्नो आत्मविश्वास र परिवारको साथबिना यो सफलता प्राप्त हुँदैन थियो । त्यसमा पनि उनका श्रीमान्को सहयोग अतुलनीय छ । अहिले पाँच वर्षीय छोरी र १३ वर्षीय छोरा छन् । “छोराछोरी बाबु आमाकै काखमा रमाउँन खोज्छन् । छोरा–छोरीलाई सानैदेखि एक्लै छोडेर काममा जाँदा पनि कुनै दिन गुनासो गरेनन् । ममी काममा जानु हामी आफ्नो काम आफैं गर्न सक्छौं भनेर ममा ऊर्जा थपिरहे ।” यी साना केटाकेटी मेरा ऊर्जाका महान् स्रोत हुन् ।
डाक्टरले ठिक हुँदैन भनेको खुट्टाले आजभोलि उनी मजाले गाडी कुदाउँछिन् । “काठमाडौं विराटनगर नै दुईपटक एक्लै ओहोरदोहोर गरिसकें । विदेश जाँदा पनि कयौं पटक एक्लै गएकी छन् उनी ।
त्यसैले त उनी भन्छिन्, “दुःखसुख जिन्दगीका सारथी हुन् आफूले आँट गरे सबै कुरा बिस्तारै अनुकूल हुँदै जान्छ ।”
व्यवसायको सुरुवाती समयमा कुरा काट्नेहरू आजभोलि प्रशंसामा झुम्छन् । त्यतिबेला साँच्चै केही गर्न सकें भन्ने महसुुस हुन्छ रे ।
रुविका माइतीतिरका सबै आफन्त अमेरिका, अस्टेलियालगायत विकसित देशमा छन् । उनी आफ्नै पौरखमा नेपाली भूमिमै रमाइरहेकी छन्, हाल उनको व्यवसाय मन नपराउने कोही छैन । आफ्नो देशमा भविष्य नदेखेर भौतारिनेलाई पनि उनी एक उदाहरणीय पात्र हुन् । रुविले जस्तै आम नेपालीले देशप्रति माया गरे सुखी नेपाली समृद्ध नेपालको सपना साकार हुन समय लाग्ने थिएन ।
तस्बिरहरु : हरिशजंग क्षेत्री/बाह्रखरी