site stats
बाह्रखरी :: Baahrakhari
देश
मकै पोलेर दैनिक पाँच हजार

सन्जुदेवी यादव १८ वर्षदेखि मकै पोलेर बेच्‍ने काममै व्यस्त छिन् । आँखिर जीवन निर्वाह त गर्नैपर्‍यो...। 

सप्तरी घर भएकी सन्जु सहज जीवन जिउँने आश र सोचका साथ २४ वर्षअघि काठमाडौं आएकी थिइन् । काठमाडौं उनले सोचे जस्तो कहाँ थियो र ! बिहान–बेलुकाकै छाक टार्न धौधौ भएपछि उनले काठमाडौंमा बन्दै गरेका ठूला महलमा ज्याला मजदुरी गर्न लागिन् । दुई सन्तानकी आमा सन्जु पिठिउँमा सिमेन्ट, बालुवा, रोडा बोकेर पाँच तला माथिसम्म पुग्थिन् । उनलाई त्यो काम गर्न सहज भएन रे, भन्छिन्, “दुइ सन्तानकी आमा भएर गरुङ्गो भारी बोकेर कसरी ज्यामी काम गर्न सक्नु, बल्लतल्ल पाँच वर्ष गरें, अनि छाडें ।”

त्यसपछि सबेरै उठेर कालीमाटी जाने मकै र बदाम ल्याउने र बेच्‍ने उनको दैनिकी बन्यो । पछि मकै पोलेर बच्ने काम गरिन् । यो काम गर्ने सोच भने उनले अरूले गरेको देखेर नै सुरु गरेकी हुन् । उनले भनिन्, “अरू धेरैले मकै पोलेर बेचेको देखें, उनीहरूसँगै कुरा गरेर सबै बुझें अनि मैले पनि सुरु गरें ।”
यो काम गर्न थालेको १८ वर्ष भइसक्यो तर काम फेर्छु भन्ने सोच आएको छैन, उनले भनिन् । आफ्नो पौरख र मिहिनेतले सुरु गरेको काममा उनी सन्तुष्ट छिन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालमै उत्पादन हुने हिउँदे र वर्षे मकै बेचेर उनले आफ्जो जीविका गरिरहेकी छन् । तर, काठमाडौंमा बाह्रै महिना मकै पाउँदा उनलाई अचम्म लाग्छ रे । 

सखारै कालीमाटीमा गएर मकै र बदाम ल्याएर बेच्दा दैनिक ५ हजार रुपैयाँ कमाई हुने बताउने उनी आफ्नो जीवन पाल्न कुनै अप्ठ्यारो नभएको बताउँछिन् । 

४० वर्ष पुगिसकेकी सन्जुदेवी प्रचण्ड धूप होस् वा मुसलधारे पानी, आङ नै ठिहिर्‍याउने चिसो नै कि धूलो, कुनै पर्वाह नगरी १८ वर्षदेखि थापाथली चोक कुर्दै आएकी छन् ।

बिहान १० बजेदेखि साँझसम्म मकै पोल्न व्यस्त देखिने उनी मकै र हरियो खुर्सानी सहितको नुनले धेरै मानिसको भोक मेट्ने गर्छिन् । उनले दैनिक सय घोगा मकै पोलेर बेच्‍ने गरेकी छन् । प्रतिगोटा १५ देखि २० रुपैयाँ तिरेर मकै ल्याउँछिन भने पोलेको मकै प्रतिगोटा २५ देखि ३० रुपैयाँ सम्ममा बेच्‍ने गरेकी छन् । 

उनलाई पछ्याउँदै उनकै ठाउँमा मकै पोल्नेहरू तीन जना भइसकेका छन् । तर, उनलाई आफ्नो ठाउँमा अरू आएर काम गरे आफ्नो व्यापार कम भयो भन्ने कुनै चिन्ता छैन । “काठमाडौंमा मान्छे कतिकति हामी तीन जना छौं मकै पोलेर बेच्‍ने, तर पनि कहिले काहीँ मकै पुग्दैन, अरू दिदी–बहिनी आए भनेर कुनै दुखेसो छैन ।”

छोराले हेर्दैनन्  

भनाइमा त भन्ने गरिन्छ, बुढाबुढीको सेवा गर्नुपर्छ । सेवा गरे मेवा मिल्छ । तर, पछिल्लो समय यो उखान मात्रै भएको छ । उमेरले नेटो काट्दै गएका बाबुआमा सन्तानका हेलाका पात्र बन्छन् । सन्जुको कथा पनि यस्तै छ । दुई छोराकी आमा उनी छोरा साना हुँदा भोकभोकै बसेर पनि उनीहरूलाई मिठो खुवाइन्, बढाइन्, पढाइन् र ठूलो बनाइन् । तर, दुःखको कुरा अहिले ती नै छोराहरूले हेर्दैनन् । बिहे गरेर बच्चा समेत भइसकेका उनका छोराहरूले उनलाई कुनै प्रकारको सहयोग गर्दैनन् । उनीहरूले नहेरेकै कारण उनले पनि छोराहरूलाई सहयोग नगरेको बताउँछिन् । भन्छिन्, “पाए मेरै खान्छन् छोराहरू मलाई कहाँ दिन्छन् र”

नगरपालिका र बाँदरले दुःख दिन्छन्

सुन्जुदेवी जसरी सडक पेटीमा व्यापार गरेर बस्नेलाई बाँदर नगरपालिकाले उस्तै दुःख दिने गरेको छ । फुटपाथ मुक्त सहर बनाउन लागि परेको काठमाडौं महानगरपालिकाले दैनिक जसो सडक पेटीका व्यापारीको सामान जफत गर्ने  र जरिवाना तिराउने गरेको छ । फुटपाथ बिहीन सहर निर्माण गर्ने महानगरको योजना राम्रो भए तापनि सन्जु जस्ता व्यापारीलाई यो अभियान श्राप नै सावित भएको छ । 

महानगरले ४–५ पटक सामान जफत गरेको बताउँने उनी, जरिवाना तिरे पनि दुःख गरेर पोलेका मकै खाइदिने र उल्टै जरिवाना तिर्नपर्दा नराम्रो लाग्‍ने उनले बताइन् । त्यस कारण उनको ध्यान मकै थुत्ने र जरिवाना तिराउने महानगर प्रहरीप्रति सजग छ । उनले एक सयदेखि ५ सय रुपैयाँसम्म महानगरलाई तिरेको बताइन् । 
महानगरले मात्र होइन । बाँदरले पनि उनलाई उत्तिकै दुःख दिने गरेका छन् । दैनिक ५–६ घोगा मकै बादरले थुतेर लान्छ ।

प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  ०६:१५
प्रतिक्रिया दिनुहोस्