site stats
बाह्रखरी :: Baahrakhari
देश
महानगरको सडक मानवमुक्त अभियान : दुई दिनमै सयभन्‍दा बढीको उद्धार

तस्बिर श्रोत : मानव सेवा आश्रम ।


काठमाडौं । भनिन्छ, सडक जीवन बिताउनु कसैको रहर नभएर बाध्यता हो । अर्को भनाई यो पनि छ की आफ्नो स्वतन्त्रताको लागि मानिसले जे पनि गर्न सक्छ । 

के तपाई स्वतन्त्रताकै लागि सडक जीवन विताउन चाहानुहुन्छ ? तपाई चाहानु हुन्छ वा हुन्न त्यो तपाईको कुरा हो । तर, काठमाडौंका सडकमा केहि यस्ता सडक मानव भेटिएका छन्, जो स्वतन्त्रताकै लागि सडकमै जीवन बिताइरहेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दुई दिनअघि मात्र काठमाडौं महानगरपालिकाले सुरु गरेको सडक मानवमुक्त घोषणा अभियानमा भेटिएका कतिपय सडक मानव भनिएकाहरु बाध्यताले नभएर, रहर एवं स्वतन्त्रताका लागि नै सडक जीवन बिताई रहेको पाइयो । घर, परिवार र आफन्त हुँदाहुँदै स्वतन्त्रताका लागि सडकमा बस्ने धेरै मानिस भेटिए ।  

यसैबीच बाह्रखरीसँग कुरा गर्दै मानव सेवा आश्रमका सचिव सुमन वर्तौलाले दुई दिनको अवधिमा काठमाडौं महानगरभित्रका विभिन्न ठाउँबाट उद्धार गरिएका १ सय १ जना मध्ये कतिपय मानिस ब्यसहारा तथा दुःख पाएका छन् भने कतिपय मानिस स्वतन्त्रताको लागि सडकलाई  नै बाँस बनाइरहेका छन् ।

“कतिपय मानिस ब्यसहारा तथा दुःख पाएर सडकमा आएका छन् भने कतिपय स्वतन्त्र जीवनयापन गर्न चाहेका छन् । श्रम गरेर सडकमै सजिलोसँग सुत्न पाईन्छ भने किन कोठा लिएर बस्ने ? भन्ने खालमा मान्छे पनि भेटियो । सडकमा भेटिएकाहरु जोखिम अवस्थामा छन्,” उनले भने । 

मंसिर २९ गते २५ औं महानगर दिवसको अवसरमा कामपाले सडक मानवमुक्त अभियान घोषणा गरेसँगै दुई दिनमा एक सय भन्दा बढी सडक मानवको उद्धार गरिएको महानगरले जनाएको छ । मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समुन्वयमा कामपाले यो अभियानको घोषणा गरेको थियो । 

यसैबीच बाह्रखरीसँग काठमाडौं महानगरपालिका सहरी योजना आयोगकी सदस्य गुजेश्वरी श्रेष्ठले दुई दिनको  अवधिमा महानगरबाट एक सय भन्दा बढी सडक मानवको उद्धार गरेको जानकारी दिइन् । श्रेष्ठका अनुसार इन्द्रचोक, वसन्तपुर र कालिमाटीबाट ४ बच्चासहित १६ महिला र ८० जना पुरुषको उद्धार गरिएको छ । अभियान सुरु भएको पहिलो दिन कालीमाटीबाट १४ महिनाको बच्चा सहित एक महिलाको उद्धार गरिएको थियो । 

उद्धार गरिएकी ती महिला सडकमा आउनुको कारण भने अलि फरक पाइयो । परिवारले जिम्मेवारी नलिएको कारण बच्चा सहित सडकमा आएकी ती महिलालाई श्रीमानसहित परामर्श गरेर राम्रोसँग राख्छु भन्ने सर्तमा घर फर्काएको आश्रमले जनाएको छ । 

योसँगै दुई दिनको अवधिमा आश्रमले ३७ जना सडक मानव भनिएकालाई परामर्श दिएर घर फकाई सकेको छ । घर फर्केकाहरुले पुनः सडकमा नआउँने बाचा सहित दस्तखत गरेर आफन्तलाई जिम्मा दिइएको आश्रमले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस १, २०७६  १७:१८
प्रतिक्रिया दिनुहोस्