ब्लग
प्रल्हाद दाहाल
गत २०६७ सालदेखि युनाइटेड अरब इमिरेटसको दुबईमा काम गर्छु । सरकारले ल्याएको आर्थिक वर्ष २०७३/ ७४ को बजेट कसरी कार्यान्वयन होला भन्ने कौतुहल भएकाले यो पत्र लेखेको छु ।
काठमाडौँमा मेट्रो रेल चलाउने योजना सुन्न पाउँदा निकै खुसी लागेको छ । काठमाडौंमा मेट्रो रेल कुदाउने योजना निकै राम्रो हो । तर काठमाडौंका जनताले दिनको १२ घन्टा लोडसेडिङको मार सहनुपरेको भने बिर्सेजस्तै छ । यस्तो ठाउँमा बिजुलीबाट चल्ने मेट्रो (इलेक्ट्रिक ट्रेन) कुदाउने आधार के हो ?
विगत २०६७ सालदेखि म दुबईमा मेट्रो रेलबाटै हरेक सहर र गल्लीमा डुलेको छु ।विनाचालक चल्ने रेल देखेर पहिले त छक्कै परेँ । यो विद्युतीय रेल (मेट्रो ट्रेन) त विनाड्राइभर चल्दो रहेछ र कम्प्युटरको नियन्त्रणमा हुनेरहेछ । मेट्रो रेल विनाचालक चल्ने पाँचौ यात्रामा थाहा पाएँ । यसबीचमा मैले मेट्रो कुनै कारणवश बन्द भएमा आकस्मिक (इमर्जेन्सी) उद्धार गर्नेहरूसँग कुराकानी गर्न पाए । त्यस्तै मेट्रोको सुरक्षामा खटिएका प्रहरीसँग कुरा गर्ने मौका मिल्यो र मेट्रोको बारेमा केही बुझेँ ।
काठमाडौंमा मेट्रो चलाउन हामीले कि त सुरुङ मार्ग बनाउनुपर्छ, कि त आकाशे मार्ग नै बनाउनु पर्ने हुन्छ । किनभने काठमाडौंको बस्ती निकै बाक्लो र घना छ । अहिलेकै सडक बाटो चौडा गरेर, मोटरबाटोकै छेउमा मेट्रो रेल कुदाउन नी सकिन्थ्यो होला तर यँहा यो पनि सम्भव देखिँदैन । चक्रपथमै कितपय ठाउँमा दुईतर्फ नै बाटो छेउमा आठदेखि दस फिटभित्र घर छन् । यस्ता घर मुआब्जा दिएर भत्काउने, पन्छाउने फेरी बाटो बनाउने र रेलको लिक बिछ्याउने गर्दा योजना सिकन सोचेभन्दा दोब्बर समय लाग्नेछ । लागत निकै बढ्नेछ ।
काठमाडौंमा सुरुङ मार्ग बनाउन झन् कठिन छ । काठमाडौं सहरमा सुरुङ बनाउँदा वर्षाको पानी निकासा गर्नेलगायत समस्याको व्यवस्थापन गर्न उच्च प्रविधिको प्रयोग जरुरी हुनेछ । यस्ता अनेकौं कारणले सुरुङ मार्ग झन् धेरै महँगो हुनेछ ।
आकाश मार्गमा त झन्र ठूलो लगानी गर्नुपर्ने हुन्छ । हामीसँग बाटो निर्माण गर्ने अत्याधुनिक औजार छैनन् । आकाशे मार्ग बनाउन ठूला सामान र ढलान उठाउन सक्ने क्रेन आवश्यक हुन्छ । त्यस्ता सामान ढुवानी गर्न नेपालमा निकै धेरै लाग्छ । समुद्री बाटो नहुँदा सबै सामान हवाई वा स्थल मार्गबाट ल्याउनुपर्छ । नेपालको हवाई यातायात विश्वकै महँगो २० वटामध्ये पर्छ । अर्कातिर अहिले बनेका घर भत्काएर बाटो बनाउन पनि सजिलो छैन । दीर्घकालीनरूपमा निकै लाभदायी हुने भए पनि अहिलेका लागि मेट्रो रेलको योजना असम्भवः जस्तै देखिन्छ ।
बरु, कम लागतमा बनाउन सिकने र बनेको केही वर्षमै दोब्बर तेब्बर फाइदा हुने यत्रजना तराईमा जनकपुरदेखि भारतको मुम्बईसम्म वा तत्काल मुम्बई पुग्न सम्भव नभए, भारतको कुनै ठूलो सहरसम्म रेल चलाउन सके उत्तम होला ! कमलागतमा नै निकै छोटो समयको प्रयत्नमा नेपालको भूभागमा रेल कुद्ने सम्भावना छ । त्यसरी हामीले चाँडो रेलमार्ग बनाउन सके हाल भारतबाट आयात हुने सम्पूर्ण सामान रेलबाटै नेपाल ल्याउन सकिन्छ । हामीले अहिले भारतबाट दिनहुँ ट्यांकरबाट एलपी ग्यास ढुवानी गर्छौँ तर भारतबाट सिधै नेपाल चल्ने रेल भए ढुवानी खर्च अधामात्र लाग्नेछ । तराई समथर भूभाग हो । त्यहाँ सडक बनाउन र रेलको लिक राख्न सजिलो हुन्छ । सुरुमा यो रेलमार्ग नेपालको भारतसँग जोडिएको क्षेत्रमा बनाउन थालेर रेलमार्गबाटै सबै निर्माण सामग्री, रेलका पार्टपुर्जा ल्याउन सकिन्छ ।
तराईमा रेल चल्ने राजधानीमा मेट्रो रेल चलाउन, त्यसको लिक र मार्ग बनाउन आवश्यक सम्पूर्ण सामान खरिद गरी, भारतबाट रेल बाटोबाट नेपाल ल्याउन सकिन्छ । यति गर्न सके हाल भारत वा चीनबाट ल्याउँदा भन्दा धेरै कम लाग्नेछ ।
सपना ठूलो देख्नुपर्छ । तपाईँले सपना देखेर गल्ती गर्नुभएको छैन । तर, पूर्वाधार तयार नगरी महँगो काम थाल्दा पार लगाउन मुस्किल हुन्छ । यसैले पहिले तराईमा रेल चलाऊँ । काठमाडौंलाई जोडौं । अनि काठमाडौंमा मेट्रो चलाउँला । त्यतिन्जेल प्रयास गरे मेट्रो चलाउन पुग्ने बिजुली पनि उत्पादन हुनेछ ।
शंखरापुर नगरपालिका-७ साँखु, काठमाडौँ
pearl_nepal@yahoo.com
प्रकाशित मिति: सोमबार, असार ६, २०७३ १२:३८
प्रतिक्रिया दिनुहोस्