
काठमाडौं । यातायात व्यवस्था विभागमा अझै ८ लाख स्मार्ट लाइसेन्स प्रिन्ट गर्न बाँकी रहेको छ । थोरै समयमा धेरै लाइसेन्स प्रिन्ट गर्ने भन्दै खरिद गरिएको मास प्रिन्टरको प्रयोग ढिलो गर्दा अझै ८ लाख लाइसेन्स छाप्न बाँकी रहेको हो । यो सन् २०१९ मा सवारी चालकको प्रयोगात्मक परीक्षा पास गरेकाहरुको संख्या हो । मास प्रिन्टरबाट लाइसेन्स प्रिन्ट गर्न सुरु गरेको विभागले जनाएको छ ।
विभागका महानिर्देशक गोगनबहादुर हमालले बाह्रखरीसँग भने, “मंगलबार (मंसिर १७) देखि मास प्रिन्टरबाट लाइसेन्स छाप्न सुरु गरेका छौं । हाल एक सिफ्टमा चलाउँदा करिब दैनिक २ हजार ५ सय वटा लाइसेन्स छापिएको छ ।” ८ लाख लाइसेन्स छाप्न ४ महिना लाग्ने हमालले बताए ।
उनले नयाँ र पुरानो प्रिन्टरबाट लाइसेन्स छाप्ने र आगामी सातादेखि मास प्रिन्टरलाई तीन सिफ्टमा नै संचालन गरिने बताए । “सन् २०१८ मा पास भएका लाइसेन्स सबै प्रिन्ट गरेर वितरण गरिसक्यौं,” उनले भने, “नयाँ प्रिन्टर र मास प्रिन्टरलाई पूर्ण क्षमतामा चलाएर ४ महिनाभित्र सबै लाइसेन्स प्रिन्ट गरिसक्छौं ।”
मास प्रिन्टर ल्याएको तीनमहिना भन्दा बढी समयपछि मात्रै यसको प्रयोग सुरु गरिएको हो । विभागले काठमाडौंको मिनभवनमा रहेको कार्यालयमा लाइसेन्स प्रिन्ट गर्दै आएको छ । मास प्रिन्टर खरिद गरेपछि मेसिन चलाउन प्राविधिकस्तरको तालिममा मन्त्रालयका सहसचिवसहितको टोली दुईमहिना अघि यूरोप गएको थियो । विभागले तीन महिनाअघि इटालीमा बनेको ‘मास प्रिन्टर’ करिब ७ करोडमा खरिद गरेको थियो ।
विभागले मुलुकभर १७ वटा कार्यालयबाट लाइसेन्स वितरण गर्छ । सरकारले कागजी लाइसेन्स हटाएर स्मार्ट लाइसेन्स मात्रै वितरण थालेदेखि नै लाइसेन्स छपाई र वितरणमा तालमेल मिलाउन सकेको छैन । जसको मारमा सर्वसाधारण पर्दै आएका छन् ।