site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
जनताको सपनाको महल सिसाझैं नफुटाउँ

यो पटकको मध्य तथा सुदूरपश्चिमको मेरो सांगीतिक यात्राले मैले देशलाई थप चिन्ने र बुझ्ने मौका पाएँ । सुदूर र मध्यपश्चिमका गरा–गरा घुम्ने अवसर मात्रै मिलेन, यहाँको सुन्दरतालाई आँखै अगाडि नियाल्ने सुवर्ण मौका पनि प्राप्त भयो । ‘सुपरस्टार’ धमाकाको आयोजकलाई यो अवसरका लागि मैले भन्नैपर्छ साधुवाद !  

साँच्चै सोचे भन्दा पनि सुन्दर छ नेपाल । अनपेक्षित रमाइला छन् यहाँका बस्ती र फाँटहरू । प्रकृतिले नै सुन्दर बनाइदिएको छ हाम्रो नेपाल । जति सुदूरपश्चिमलाई हेलाहोचो गरिन्छ, त्यो भन्दा सयौं गुना राम्रो छ, वास्तवमा सुदूर नेपाल । दश वर्षे 'जनयुद्ध'को उद्गमस्थल रोल्पा आँखामा राख्दा पनि नबिझाउने रहेछ । यहाँको प्राकृतिक बनोट र मनोरम दृश्य हेरेर कहिल्यै नथाक्ने रहेछन् आँखा । 

यहाँ मलाई माथि नै प्रयोग गरेको शब्द दोहोर्याउन मन लाग्यो । यो भ्रमणले मलाई सामाजिक चेतनाका लागि सहभागी हुने मौकामात्र प्रदान गरेन, यो अवधिभर जहाँ मनै लोभ्याउने मनमोहक प्राकृतिक छटाहरुमा पुगेँ । ती प्रत्येक पल मैले राष्ट्रकवि माधव घिमिरेको एउटा कविता सम्झिरहेँ, जुन गीतका रूपमा पनि बजारमा आइसकेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गाउँछ गीत नेपाली ज्योतीको पंख उचाली
जय जय जय नेपाल सुन्दर शान्त विशाल
गण्डकी कोशी कर्णाली मेची र महाकाली 
लेक र बेसी ब्युँझाउँछन् लहर लाखौं उचाली 
हिमाल चुली बोलाउँछ पहिलो झुल्का निकाली 
सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली...... 

यो कविता राष्ट्रकविले देश घुमेर लेख्नु भयो वा उहाँमा भएको कवि मनको चेतनाले फुरायो, यो त स्वयं उहाँलाई नै थाहा होला । तर, यो कवितामा साँच्चै नेपाल बोलेको छ । नेपालको वास्तविक रूप बोलेको छ अनि यथार्थ छर्लङ्ग भएको छ ।

उहाँलाई यति सुन्दर वर्णनका लागि हामीले स्यालुट गर्नैपर्छ । उहाँको वर्णन क्षमताको तारिफ गर्नैपर्छ । हुन त उहाँ यस्तै सौन्दर्य चेतको अनुपम प्रतिभाकै कारण राष्ट्र कवि हुनु भएको त होला । 

खैर ! नराम्रा हुन् त केवल यो ठाउँलाई हेर्ने आँखाहरु । नराम्रा हुन् त केवल यो सुदूर मधेस तथा पहाडलाई हेलाहोचो गर्ने मानिसहरू ।
नराम्रो हो त केवल राजनीतिक नेतृत्व जसले सधैं जनतालाई सपनाको भारी बोकायो । र, त्यही सपनाको भारीले किचिरहेको छ आज पनि यहाँका जनतालाई उठ्नै नसक्ने गरी । 

प्रत्येक चुनावमा नेताहरु आउँछन्, दिनदहाडै सपनाको ठूलो महल खडा गर्छन् र सपनाको सहर काठमाडौं सवार हुन्छन् । समय सकिन्छ, चुनाव पूर्व खडा गरेको सपनाको महल सपनामै हुन्छ । तर, फेरि चुनाव आउँछ । अहिले आउँदै गरे जसरी नै । उनीहरु उसैगरी आउँछन्, अहिले पनि आउन थालेका छन्, त्यसैगरी सपनाको महल खडा गर्दैछन्, जसरी दशकौं अघिदेखि गरिरहेका छन् । फेरि ५ वर्ष विलिन हुन्छन् । लाग्छ, उनीहरु भूमिगत भएका छन् । यदाकदा काँचको पर्दामा कहिलेकाहीँ झल्याकझुलुक झुल्किनु बाहेक उनीहरुको दर्शन पाउनै गाह्रो । 

ती नेतामात्रै विलिन हुँदैनन्, उनीहरुले देखाएको सपना पनि विलिन हुन्छन् । सपनाको ठूलो महल जनताको मनबाट पनि बिलिन हुन्छ रे ! अनि सिसा फुटेझैं फुट्छन् रे ! चकनाचुर भएर ।

मैले यो पटकको सांगीतिक यात्रामा मेरा दर्शक तथा स्रोतासँग गरेको साक्षात्कारबाट आएको निष्कर्ष हो यो । मैले मेरो सस्तो प्रचारका लागि यी शब्दहरु खर्चिएको हुइनँ । मैले मेरो गाउँमा पनि देखेको, भोगेको कटु सत्य हो यो । काठमाडौं नजिकैको जिल्लामा त यो अवस्था छ भने सुदूरनेपालमा त नहुने कुरै भएन । झन् सघन छ यो प्रवृत्ति । 

वास्तविकता लुकाएर राख्न मात्रै सकिनँ मैले । ती सुन्दर मनहरुको प्रतिनिधि आवाज उठाएको मात्रै हुँ । आश्वासनहरु व्यवहारमा कार्यान्वयन नहुँदाको छटपटीलाई साटेको मात्रै हुँ । नागरिकमा आशा हुँदोरहेछ आफ्ना जनप्रतिनिधिप्रति । प्रजातान्त्रिक शासन व्यवस्थामा यो सायद स्वाभाविक पनि हो । स्वाभाविक भन्दा पनि उनीहरुको हक हो आफ्ना जनप्रतिनिधिमार्फत आफ्नो ठाउँको विकास खोज्नु । तर नेता नै गैरजिम्मेवार भएपछि के हुन्छ ? अहिले यहाँ जे भइरहेको छ त्यही हुन्छ । देशको विकास हुँदैन, जनताले दुःख भोग्नुपर्छ अनि स्वर्ग जस्तो भूमि पनि बेकम्मा प्रायः हुँदोरहेछ । 

मैले सुदूरपश्चिममा धेरै त्यस्ता प्राकृतिक ठाउँहरु देखेँ, जसलाई सायद स्वर्ग भने हुन्छ । आखिर स्वर्ग भन्नु राम्रो न हो । काल्पनिक कुरा न हो । राम्रो कुरा चरितार्थ गर्न प्रयोग गरिने एउटा विम्ब न हो । 

त्यस्ता थुप्रै ठाउँहरु छन्, जो यो क्षेत्रकै पहिचान हुन् । यही पहिचानलाई चिनेर यसको यथार्थलाई परिचय दिन सके यही नै यहाँको सम्पत्ति हुनेछ । संघात्मक शासनमा राज्यको आम्दानीको मुख्य स्रोत हुनेछ । यही नै यहाँका नागरिकको भविष्य हुनेछ । युवालाई विदेश जानबाट रोक्ने अचुक उपाय हुनेछ । 

कृषिका लागि उर्बर फाँटहरु छन् । र, त्यसमा खेल्ने किसानी हातहरु तयार छन् । मात्रै चाहिएको अविभावकीय राज्य हो । असल राज्य हो । नागरिकप्रति उत्तरदायी सरकार र राज्य हो । पर्यटक तान्ने मनोरम प्राकृतिक छटाहरु छन्, मात्रै त्यसलाई उजागर गर्ने राज्य चाहिएको छ । 
यो कोरा कल्पनाको सपना मात्रै होइन । गरे विपनीमै सकिने कुरा हो । मात्रै राजनीतिक इच्छाशक्ति चाहिन्छ । यहाँ साथ दिने नागरिक मनहरु छन् । श्रमदान गर्ने परोपकारी हातहरु छन् ।

यसरी खबरदारी गरिरहँदा औंला ममाथि पनि उठ्न सक्छन् । हामी समग्र कलाकारप्रति पनि उठ्न सक्छन् । र, यो अन्यथा पनि होइन । तर, हामीले सक्ने भनेको चेतनाका लागि गाउने मात्रै रहेछ । अभिनय गर्ने मात्रै रहेछ । असल काम गर्ने राजनेतालाई र सरकारलाई सहयोग गर्ने मात्रै रहेछ । आखिर देशको विकास गर्ने त राजनीतिक दल तथा दल निर्मित सरकारले नै रहेछ । नीति निर्माणमा रहेकाहरुकै हात हुनेरहेछ । हामीले सक्ने त हाम्रो कला संस्कृतिको जगेर्ना गर्ने मात्रै रहेछ । कलासंस्कृतिलाई थप मलजल गर्ने मात्रै रहेछ ।

त्यसैले नीति निर्माताहरुले नीति निर्माणमा पहुँच नभएकाहरुलाई सेवा दिनुपर्छ । सरकार नागरिकको सेवक हुनुपर्छ । राज्य जनउत्तरदायी हुनुपर्छ । म जहाँ गएँ, त्यहाँ नागरिकको भीड लाग्यो । तर त्यो भीड मनोरञ्जनका लागि थियो । त्यो उपस्थिति मप्रतिको माया हो । तर, राजनीतिज्ञहरु जाँदा लाग्ने भीड अपेक्षा बोेकेर आएका आशावादी मनहरुको भीड हो । त्यो भीड केवल विकास र समृद्धिको चाहना खोजी गर्नेहरुको समूह हो ।

मसँग जसरी स्रोता तथा दर्शकले सुन्दर सिर्जनाको अपेक्षा गर्नुहुन्छ, त्यसैगरी राजनीतिक दल तथा नेतृत्वसँग विकास खोज्नुहुन्छ । त्यसैले सुन्दर नेपालभित्र सुन्दर भविष्य खोज्ने सुन्दर मनहरु जन्मिनुपर्छ । कू–बाटोमा रहेका दरिद्र मनहरुमा सकारात्मक परिवर्तन आएर देशप्रति समर्पित हुनुपर्छ । सबै मनहरु देशविकासका लागि लामबद्ध हुनुपर्छ ।

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७३  १०:५८
प्रतिक्रिया दिनुहोस्