site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
केन्द्रीय सदस्यको नामावली टुंग्याउन गच्छदारलाई सकस

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई आफूले पाएका ११ जना केन्द्रीय सदस्यको नामावली अन्तिम रुप दिन सकस परेको छ । तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट कांग्रेसमा एकीकरण हुँदा केन्द्रीय सदस्य हुने आकांक्षीको संख्या धेरै भएकाले उनलाई अन्तिम नामावली टुंग्याउन सकस परेको हो ।  

तत्कालीन लोकतान्त्रिक फोरमका साढे तीन सयभन्दा बढी केन्द्रीय सदस्यमध्येबाट ११ जनामात्रै छान्नुपरेका कारण उपसभापति गच्छदारले निर्णय लिन नसकेका हुन् । तीन सय ५० भन्दा बढी केन्द्रीय सदस्यमध्येबाट ११ जना छान्न निकै गाह्रो भएको तत्कालीन लोकतान्त्रिक फोरमका एक पदाधिकारीले स्वीकार गरेका छन् ।  

दुई वर्षअघि सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको संघारमा आफूले नेतृत्व गरेको लोकतान्त्रिक फोरमलाई कांग्रेसमा समाहित गरेका गच्छदारलाई ‘गुण्डा नाइके’ को आरोप लाग्दै आएका गणेश लामा र पूर्वराज्यमन्त्री यशोदा लामालगायतले आफूलाई केन्द्रीय सदस्य बनाउनुपर्ने दबाब दिइरहेको स्रोतको दाबी छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेताहरु गणेश लामा, यशोदा लामा, देवी आचार्य, नेत्रबहादुर लिम्बू, चन्द्रबहादुर कार्की, नन्दु सरदारलगायतले आफूलाई केन्द्रीय सदस्य नबनाए असहयोग गर्ने चेतावनी दिएका कारण गच्छदारले केन्द्रीय सदस्यको नाम टुंग्याउन नसकेको बताइएको छ । उपसभापति गच्छदारले केन्द्रीय सदस्यका बारेमा निर्णय गर्न नसक्दा उनीसँगै कांग्रेसमा समाहित भएका ११ जना नेताहरु केन्द्रीय सदस्य हुने अवसरबाट वञ्चित हुन पुगेका छन् ।

गत असोज १० गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले तत्कालीन लोकतान्त्रिक फोरमलाई ११ जना केन्द्रीय सदस्य दिने निर्णय गरेको थियो । बैठकले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्दा समायोजनको प्रस्तावलाई ध्यानमा राखेर सहमतिका आधारमा समावेश गर्ने निर्णय गरेको थियो । यस्तै, केन्द्रीय विभाग र प्रदेश कार्यसमितिको गठन गर्दा समायोजनको प्रस्तावलाई ध्यानमा राखी सहमतिका आधारमा समावेश गरिने भएको छ । 

उक्त बैठकले विभिन्न जिल्लामा लोकतान्त्रिक फोरमका नेताहरूलाई उपसभापतिसहित अन्य पदमा मनोनीत गर्ने निर्णयसमेत गरेको थियो । काठमाडौं र पश्चिम नवलपरासीको हकमा भने आवश्यक परामर्श गरी निर्णय गर्ने बताइएको छ । गच्छदारले २०७४ असोज २९ गते आप्mनो पार्टीलाई कांग्रेसमा विलय गराएका थिए । 

उनले नेताहरु रामजनम चौधरी, भारतेन्दुकुमार मल्लिक, गोपाल दहित, योगेन्द्र चौधरी, मंगलसिंह थारू, जितेन्द्रनारायण देव, हरि न्यौपाने, महेश कोर्मोचा, नरसिंह सिद्दिकी, सुमित्रा थरुनी र शिवकुमार गुर्माछानेलाई पार्टीको केन्द्रीय समिति बनाउने मनस्थिति बनाएको तत्कालीन लोकतान्त्रिक फोरम स्रोतको भनाइ छ । 

उपसभापति गच्छदारले नेताहरुको नाम सिफारिस गरेलगत्तै केन्द्रीय सदस्यको रुपमा आधिकारिकता प्रदान गरिने कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनलगत्तै तत्कालीन लोकतान्त्रिक फोरमका नेताहरुको नाम केन्द्रीय सदस्यका लागि सिफारिस भएर आउने सम्भावना रहेको प्रतिक्रिया दिएका छन् । 

“पार्टीले तत्कालीन लोकतान्त्रिक फोरमलाई ११ जना केन्द्रीय सदस्य दिने निर्णय यसअघि नै गरिसकेको छ,” उनले बाह्रखरीसँग भने, “उपसभापति गच्छदारले उपनिर्वाचनलगत्तै नेताहरुको नामावली बुझाउनुहुन्छ ।”

यो पनि पढ्नुहोस्

कांग्रेस-लोकतान्त्रिक फोरम समायोजनः गणेश लामादेखि गीता राणासम्म केन्द्रीय सदस्य बन्दै

कांग्रेसमा आफ्नो ‘भाग’ दाबी गर्दै गच्छदार, संस्थापनइतर समूह भन्छ- मागेजति दिन मिल्दैन

गच्छदार समूहलाई ११ केन्द्रीय सदस्य, ६०० महाधिवेशन प्रतिनिधि

कांग्रेसमा गच्छदार रणनीति– प्रतिनिधि धेरै बनाउने, महाधिवेशनमा बार्गेनिङ !

प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६  १२:१७
प्रतिक्रिया दिनुहोस्