site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसमा गच्छदार रणनीति– प्रतिनिधि धेरै बनाउने, महाधिवेशनमा बार्गेनिङ !

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूह उपसभापति विजयकुमार गच्छदारले नेतृत्व गरेको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका नेता–कार्यकर्ताको समायोजनलाई लिएर सशंकित देखिएको छ । 
तत्कालीन लोकतान्त्रिक फोरमका नेता–कार्यकर्ता समायोजनका नाममा सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशन आफू अनुकूल पार्ने गरी क्रियाशील सदस्य र महाधिवेशन प्रतिनिधि बढाउन सक्ने भन्दै इतर समूह सशंकित देखिएको हो ।

गच्छदार पनि सकेसम्म धेरै प्रतिनिधिमा सहमति कायम गर्न सकिएमा आगामी महाधिवेशनमा निर्णायक शक्तिको रुपमा स्थापित हुने प्रयासमा छन् । 

त्यसैले उपसभापति गच्छदारले तत्कालीन लोकतान्त्रिक फोरमका २५ हजार सदस्यलाई कांग्रेसको क्रियाशील सदस्यताको सिफारिस गरेका छन् । तत्कालीन लोकतान्त्रिक फोरमलाई २५ सय क्षेत्रीय प्रतिनिधि र सात सय महाधिवेशन प्रतिनिधि दिनुपर्ने उनको माग छ । 

२०७४ सालको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको संघारमै आफूले नेतृत्व गरेको लोकतान्त्रिक फोरमलाई विलय गराएर कांग्रेसमा आएका गच्छदारले जसलाई सघाउँछन्, उही उमेदवार बलियो हुने देखिन्छ । अहिलेसम्म गच्छदार देउवासँगै रहेकाले  आशन्न महाधिवेशनमा पनि सभापति देउवा झनै बलियो हुने संस्थापन इतर समूहको आशंका छ ।   

“तत्कालीन लोकतान्त्रिक फोरमबाट २५ हजार जनाको नाम क्रियाशील सदस्यताका लागि सिफारिस भएको छ । त्यसमध्ये २०–२२ हजारले त क्रियाशील सदस्यता पाउँछन् होला । उनीहरु गाउँ कमिटी र नगर कमिटी बनाउँदा मतदाता हुन्छन्,” सभापति देउवानिकट एक नेताले भने, “विजय दाइका क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधिहरु पनि हुने भए । उनीहरुले पनि भोट हाल्ने भएपछि गच्छदारले देउवालाई सहयोग गर्छन् । गच्छदार जोडिएपछि देउवा बलियो हुन्छन् भनेर उहाँहरु आत्तिनुभएको हो ।” 

गच्छदारनिकट नेता–कार्यकर्तालाई रोक्न संस्थापन इतर समूह भरमग्दुर प्रयासमा देखिएको छ । उक्त समूहले पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा विधानमा टेकेर तत्कालीन लोकतान्त्रिक फोरमका नेता–कार्यकर्ताको समायोजन रोक्न खोजेको देखिएको छ ।  

इतर समूहले पार्टी विधानको दफा ७२ को उपदफा २ मा टेकेर विधानतः लोकतान्त्रिक फोरमका नेता–कार्यकर्ताहरुको समायोजन गर्न नसकिने धारणा राखेको छ । बुधबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट केन्द्रीय सदस्य महेश आचार्यले पार्टी विधानको दफा ७२ को उपदफा २ स्मरण गराउँदै गच्छदारनिकट नेता–कार्यकर्ताहरुलाई समायोजन गर्न नसकिने धारणा राखेका छन् ।  

विधानको दफा ७२ को उपदफा २ मा ‘पार्टीको केन्द्रीय कार्यसमिति, सिमांकन हेरफेर नभएका जिल्ला कार्यसमिति र सिमांकन परिवर्तन नभएका स्थानीय तहका कार्यसमिति यथावत् कायम रहने छन्’ भनिएको छ । 

“पार्टी विधानको दफा ७२ को उपदफा २ ले तत्कालीन लोकतान्त्रिक फोरमबाट आएका नेता कार्यकर्तालाई सिमाकंन परिवर्तन वा हेरफेर नभएका निकायमा समायोजन गर्न सकिँदैन,” केन्द्रीय सदस्य आचार्यको भनाइ थियो । तर, उपसभापति गच्छदार तत्कालीन समयमा आफूले नेतृत्व गरेको लोकतान्त्रिक फोरमका नेता–कार्यकर्ताको समायोजनमा विधान आकर्षित नहुने दाबी गरिरहेका छन् । 

बैठकमा गच्छदारले आफू महाधिवेशनबाट कांग्रेसमा नआएका कारण आप्mनो हकमा विधान आकर्षित नहुने तर्क गरेका छन् । राजनीतिक निर्णय गरेर लोकतान्त्रिक फोरमबाट आफू कांग्रेसमा आएका कारण पार्टीका अन्य तहमा पनि राजनीतिक निर्णय गरेर जानुपर्ने उनको भनाइ छ ।  

जारी केन्द्रीय कार्यसमिति बैठकमा इतर समूह उपसभापति गच्छदारनिकट नेता–कार्यकर्ताको समायोजन रोक्ने प्रयासमा देखिए पनि यसअघि उनलाई मौन सहमति दिँदै आएको थियो । पार्टी एकीकरणका समयमा २० हजार क्रियाशील कार्यकर्ता भनिए पनि गच्छदारले पाँच हजार थप गरेर क्रियाशील सदस्यता सिफारिस गर्दा पनि संस्थापन इतर समूह मौन थियो । 

किन थियो त संस्थापन इतर समूह यसअघि मौन ? इतर समूहकै एक युवा नेता भन्छन्, “गच्छदारलाई धेरै किन चिढ्याउने, हामीतिर पनि आइहाल्छन् कि भन्ने परेको थियो । त्यही भएर संस्थापन इतरका नेताहरुले त्यो कुरो ‘एग्रेसिभ्ली’ भन्न सकेका थिएनन् ।” तर, उपसभापति गच्छदारको सभापति देउवासँगको हिमचिम बढ्दै गएपछि इतर समूहले उनको आश मारेर विधान देखाएर समायोजन प्रक्रिया रोक्न खोजिरहेको स्रोतको भनाइ छ ।  

“गच्छदारले संस्थापन पक्षसँग हिमचिम बढाएको, शेरबहादुर देउवातिरै लच्किएको भन्ने परेपछि उहाँ इतर समूहमा नसमेटिने देखिनुभयो,” एक केन्द्रीय सदस्यले भने, “संस्थापनतिरै धकेलिनुभयो भन्ने निष्कर्षमा पुगेपछि उहाँहरु अब विधान देखाएर रोक्न खोजिरहनु भएको हो ।”

इतर समूहले गच्छदारलाई आफूतिर तान्न महासमिति बैठकका क्रममा पनि लोकतान्त्रिक फोरमलाई महासमिति सदस्य दिँदा प्रष्ट रुपले असहमति जनाएको थिएन । गत पुसमा बोलाइएको महासमिति बैठकका क्रममा लोकतान्त्रिक फोरमलाई दुई सय महासमिति सदस्य दिइएको थियो । 

महासमिति बैठकका क्रममा खुलेर गच्छदारको विरोध नगरेको इतर समूह अहिले आएर विरोध गरिरहेको छ । गच्छदारले आप्mनो भागमा परेका दुई सय महासमिति सदस्यमा एक सय लोकतान्त्रिक फोरमका नेतालाई र एक सय सभापति देउवा तथा उपसभापति विमलेन्द्र निधिले नामावली उपलब्ध गराएका व्यक्तिलाई वितरण गरेको आरोप लगाइरहेको छ । 

“महासमिति बैठकअघि गच्छदारलाई दुई सय महासमिति सदस्य दिइयो । जसमा सय जनामात्रै गच्छदारजीको पार्टीका हुन् । बाँकी सय जनाको नाम देउवाजी, विमलेन्द्रजीहरुले दिएर हाल्नुभएको हो,” संस्थापन इतर एक केन्द्रीय सदस्यले भने । इतर समूहले क्रियाशील सदस्यताका लागि सिफारिस गरिएका २५ हजार मध्येबाट पनि आधा सदस्यता सभापति देउवानिकटलाई बाँडिने दाबी गरिरहेको छ । 

“पहिला २० हजार क्रियाशील सदस्य माग्नुभयो, जुन डकुमेन्ट नै छ हामी सँग । अहिले बढाएर फेरि २५ हजार बनाउनुभयो । त्यति क्रियाशील सदस्य उहाँका छँदै छैनन् । त्यसमा आधाभन्दा बढी देउवाका मान्छेको हाल्ने हुन्,” ती नेताले बाह्रखरीसँग भने ।   

उनले पार्टीको अन्तरिम संरचना निर्माणका क्रममा प्रदेशको चुनाव जित्न संस्थापन पक्षले उपसभापति गच्छदारका सात सय महाधिवेशन प्रतिनिधि हाल्न खोजिरहेको पनि दाबी गरे । ‘अन्तरिम संरचना गठनका लागि पहिला सहमतिको प्रयास गर्ने, चुनाव गर्नै परे उपसभापति गच्छदारका सात सय महाधिवेशन प्रतिनिधि हालेर गर्ने तयारीमा संस्थापन समूह देखिएको’ इतर समूहको बुझाइ छ ।   

“हिजो (बुधबार) मात्रै क्षेत्रीय प्रतिनिधि २५ सय चाहिन्छ भन्नुभएको छ । गच्छदारको मोरङ, सुनसरी यस्तै केही जिल्लामा प्रभाव छ । प्रतिनिधि जति पाए पनि बढी त्यतै (मोरङ, सुनसरी) हाल्ने हो,” इतर समूहका नेताले भने, “त्यहाँ पुरानो संस्थापन समूह बलियो छ । गच्छदारले पाएको कोटा देउवातिर मिल्यो भने पुरानो संस्थापन पनि हार्छ । उहाँहरु त्यो रणनीतिमा हुनुहुन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १६, २०७६  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro