site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं बस्न थालेपछि पैदल हिँड्न पनि सिकेँ
SkywellSkywell

उनको जन्म बिहार राज्यको राजधानी पटनामा भयो । उनको बाल्यकाल पनि त्यहीँ नै बित्यो । उनको परिवार पटनाको एउटा सम्पन्न परिवार थियो । उद्योग व्यवसायमा उनका पिताजी संलग्न थिए । उनको पिताजीको उद्योगबाट विभिन्न मेसिनहरूको उत्पादन हुन्थ्यो । 

उनका हजुरबुबा उनी जन्मनुपूर्व नै अंग्रेज र अस्ट्रेलियनहरूको साथ र संगतमा थिए । बेलायतीहरूसँग पनि उनको सम्बन्ध थियो । त्यसैले उनले आफ्ना छोरालाई अंग्रेजी पढाउनुपर्छ भन्ने सोचमा थिए । 

नेपाल प्रज्ञा प्रतिष्ठानको आफ्नो कार्यकक्षमा मंगलबार कुरा गर्दै प्राज्ञ प्रा.डा. उषा ठाकुर सुनाउँदै थिइन्, पुराना कुरा । उनी भन्छिन्, “हजुरबुवाको सोचका कारण नै बुवाले उहिल्यै अंग्रेजी माध्यमको कन्वेन्ट स्कूलमा पढ्नुभयो । हाम्रो हजुरबुवामा मात्रै होइन, हजुरआमामा पनि अंग्रेजी प्रभाव थियो । त्यसैले छोराछोरी सबैलाई राम्रो शिक्षादीक्षा दिनुपर्छ भन्ने सोचाइ मेरो बुवामा पनि रह्यो ।”

KFC Island Ad
NIC Asia

प्रा.डा. उषा ठाकुरका अनुसार सदा अविस्मरणीय परिस्थिति थियो उनको माइतीघरको । घरायसी वातावरण मात्रै नभएर सोच पनि उत्तिक्कै उच्च थियो उनको मातापितामा । उनी यसलाई इश्वरकै कृपा मान्दछिन् । सम्पन्नतासँगै सांस्कृतिक वातावरण विद्यमान थियो उनकोे माइतीमा । अझै धन–सम्पति भन्दा पनि परिपूर्णता व्यवहार, सोच र धर्म संस्कृतिमा थियो । 

ठाकुरका अनुसार उनको माइतीमा मात्रै होइन, उनको घरतर्फ पनि कसैले धन सम्पत्तिलाई महत्व दिएनन् । ‘विद्या धनम् सर्व धनम् प्रधानम्’ भनेजस्तै विद्या आर्जन नै सबैको प्राथमिकतामा पर्यो ।

Royal Enfield Island Ad

प्राडा उषा ठाकुरको माइती परिवार पहिले दिल्लीमा पनि बस्यो । पटनाको कुरै भएन ! कुनै बेला जनकपुरसँग पनि उनको माइती परिवारको सम्बन्ध रहेको र बेलाबेलामा हजुरबुवा र बुवाहरू जनकपुर आउने गरेको आफूले सुनेको उनी बताउँछिन् ।

उनकी हजुरबुवा हजुरआमा बुवा मात्र नभएर उनकी आमा पनि फरक स्वभावकी थिइन् । उनी धर्मकर्म संस्कृतिमा विश्वास राख्थिन् नै, तर केटाकेटीले पठनपाठनमा विशेष ध्यान दिनुपर्छ भन्ने उच्च दृष्टिकोण पनि उनमा थियो । 

उषा पढाइमा सधैं अब्बल रहिन् । सानै उमेरदेखि अलिक अन्तरमुखी र रिजर्भ स्वभावकी उषाको ध्यान लेखाई पढाईमा नै धेरै रहन्थ्यो । उनले समय पायो कि पढ्ने र लेख्ने कर्मलाई नै महत्व दिइन् ।

यसरी पढाइमा होमिएकी उषाले आइए, बीए, एमए मात्रै गरिनन्, एक दिनै खाली नबसेर पटना विश्वविद्यालयबाटै विद्यावारिधि गर्न आवेदन दिइन् । तर विद्यावारिधिका लागि मास्टर्स गरेको दुई वर्ष पुग्नु पर्ने नियम भएकोले उनले दुई वर्ष कुर्नुपर्यो ।

दुई वर्ष पुगेकै भोलिपल्ट उनले विद्यावारिधिका लागि सारा पेपर अगाडि बढाइन् । यसका लागि तयारी उनले अगाडिदेखि नै गर्दै आएकी थिइन् । त्यसैले उनले भाइवा पनि चाँडै नै दिइन् । र, केही वर्षमै उनले विद्यावारिधि (पीएचडी) पूरा गरिन् । 
उषा ठाकुरले पीएचडी ‘कवि सुमित्रानन्दन पन्त की काव्य मे सामाजिक चेतना’ विषयमा गरेकी थिइन् । 

उषा ठाकुर भावुक भइन् । भनिन्, “म मेरो आमा बुवा र मेरा पुर्खालाई नमन गर्छु, किनकी त्यो समयमा छोरीको बिहे भन्दा पनि छोरीको पढाइलाई उहाँहरूले महत्व दिनु भयो । मैले बिहे अगाडि नै पीएचडीको सारा औपचारिकता पूरा गरिसकेकी थिएँ । जबकी त्यो समयमा सानै उमेरमा छोराछोरीको बिहे गरिदिने चलन समाजमा विद्यमान थियो । तर मेरा बुवा आमाले हामी सबै छोराछोरीको पढाइलाई सधैं महत्व दिनुभयो ।”

उनकी आमाले कतिपय पत्रपत्रिका छोराछोरीले पढुन् भनेर आफूले पढेपछि दिन्थिन् । बच्चाहरू पढिरहेका छन् कि छैनन् भनेर चनाखो भएर ध्यान दिन्थिन् । एक पटक एउटा पत्रिकामा ‘अजन्ता एलोर’ सम्बन्धी लेख छापिएको थियो । त्यो पत्रिका दिँदा भने आफूहरूलाई चित्र भएको पाना च्यातेर पत्रिका दिएको उनको सम्झनामा आज पनि छ । तर लेख रचना पढ्नुपर्छ भन्ने चाहना आफ्नी आमामा सर्वदा रहेको उनको तर्क छ । 

एक पटक त उनका आफ्नै काकाले उनका पिताजीलाई भनेका थिए किन छोरीलाई पढाउने धेरै, बिहे गरेर पठाउनै पर्छ भनेर । तर उनका पिताजीले भाइको कुरा सुनेनन् । छोरीको भविष्य हेरे ।

पटना सिटीमै उनको माइती परिवारको बसोबास थियो । स्थानीय कन्या स्कूल र कलेजबाट बीएसम्म पढेकी उषाले को–एजुकेसन एमएमा आएर मात्रै ज्वाइन गरेकी हुन् । 

उद्योगपति परिवारकी उषा ठाकुरका पिताजीको उद्योगबाट उत्पादित सामग्री विश्वका विभिन्न मुलुकमा फैलिएको थियो । यद्यपि, एउटा उद्योग क्षेत्रको सम्पन्न पारिवारिक पृष्ठभूमि भए पनि उनको प्रवृत्ति आफैंमा रमाउने खालको थियो । रचनात्मक काममा उनी रमाउँथिन् ।

उनीहरू दाजुभाइ दिदीबहिनी स्कूल र कलेज जाँदा आउँदा आफ्नै गाडीमा जान्थे–आउँथे । समय समयमा पटनामा रहेका विभिन्न तारे होटलहरूमा लगेर खाना पनि खुवाउने गर्थे, उनका पिताजीले । अर्थात् छोराछोरीलाई सबै कुराको ज्ञान होस् भन्ने उनका माता पिताको चाहना थियो । 

पटना विश्वविद्यालयबाट सम्पूर्ण उच्च शिक्षा हासिल गर्दै उनले पीएचडीको सबै औपचारिकता पूरा गरिसके पछि मात्रै उनको बिहे वीरगंजका डा. रामभक्त ठाकुरसँग भयो । त्यसपछि उनी पटना छोडेर नेपाल आइन् । र, उनको कर्मथलो नेपाल नै भयो ।

०००

उषामा स्कूल पढ्दादेखि नै साहित्यप्रति रुची थियो । उनको स्कूलकी प्रिन्सिपल डा. अन्नपूर्णा देवले उनलाई खुबै माया गर्थिन् । उषा पढाइमा अब्बल भएकीले उनलाई छोरी जस्तै माया गर्थिन् । पढ्ने मामिलामा मात्रै नभएर लेख्नमा पनि प्रोत्साहन दिन्थिन् । उनको लेखनलाई सधै हेर्थिन् । सहयोग र सल्लाह दिन्थिन् । 

यसै कारण स्कूलमा हुने विभिन्न साहित्यिक कार्यक्रमहरूमा उषाले भाग लिँदै आएकी थिइन् । यस्ता अतिरिक्त क्रियाकलापहरूमा पनि उनी फर्स्ट नै हुँदै आएकी थिइन् । 

एक पटक स्कूलमा आयोजित अन्तर प्रादेशिक विद्यालय वादविवाद प्रतियोगितामा एउटा विषय तोकिएको थियो, विद्यार्थीले राजनीतिमा भाग लिन हुन्छ कि हुँदैन ? जसमा उषा ठाकुरले पनि भाग लिएकी थिइन् । उनी त्यसबेला ११ कक्षामा पढ्थिन् । उक्त प्रतियोगितामा उनी प्रथम भइन् । 

प्राडा उषाको अनुहार उज्यालियो । उनी भन्न थालिन्, “त्यो प्रतियोगितामा म प्रथम भएँ । मलाई ‘उषा सिलाई मेसिन’ पुरस्कार स्वरुप दिइयो । त्यो सिलाई मेसिन अहिले पनि मसँंगै छ ।”

उषा पढ्ने नारायणी उच्चोत्तर कन्या स्कूल, पटनाकी प्रिन्सिपल डा. अन्नपूर्णाको बिहे भएको थिएन । त्यसैले पनि उषालाई छोरी जस्तै माया गर्थिन् । उनकी आमालाई पनि प्रिन्सिपलले ‘उषा आफ्नी छोरी भएको’ भन्थिन् । प्रिन्सिपल डा. देवको हरेक प्रेरणादायी क्रियाकलाप आज पनि उनलाई सम्झना हुन्छ । 

स्वभाव अन्तरमुखि भए पनि उनको संलग्नता अतिरिक्त क्रियाकलापमा हुन्थ्यो । त्यसले नै उनलाई भाषा साहित्यका क्षेत्रमा अगाडि बढाउँदै लगेको थियो । यसरी नै भाषा साहित्यप्रतिको लगावमा वृद्धि हुँदैगयो । स्कूलका स्मारिकाहरूमा लेख्दै आएकी उषाले समयक्रमसँगै अन्य पत्र–पत्रिकाहरूमा पनि लेख्न थालिन् । 

प्रारम्भमा उनले कविता लेखिन्, तर पछि कथा पनि लेखिन् । ‘आँशु बन गए फूल’ शीर्षकको एउटा कथा लेखेकी थिइन् उनले । जुन आकाशवाणी पटनाबाट प्रकाशित भएको थियो । 

आफ्नो रचनात्मक कृयाकलापमा घर–परिवारबाट उनले सधैं प्रेरणा नै पाइन् । उनलाई उनका पिताजी र आमाले सधै उत्प्रेरित गरे । उनले लेखनका लागि पुरस्कारस्वरुप केही न केही पाएकी नै हुन्थिन् । 

यही लेखन प्रवृत्तिले उनलाई कहिले पनि खाली बस्न दिएन । उनले फुर्सद भयो कि लेखनमा समर्पित गरिन् । यहि लेख्ने र पढ्ने प्रवृत्तिले उषालाई बिहे उप्रान्त नेपाल आएपछि नेपाली सिक्न मद्दत गर्यो ।

उनको बिहे वीरगंजमा भए पनि वीरगंज धेरै बसिनन् । बिहे भएपछिका केही दिनहरू मात्रै उनको वीरगंजमा बित्यो । त्यस पछि उनी पतिका साथ काठमाडौं आइन् । उनका पति रामभक्त ठाकुर कलेजमा प्राध्यापन गर्थे । पछि उनी परराष्ट्र सेवामा गए ।  

काठमाडौं आएपछि उषा ठाकुरले केही काम गर्नुपर्छ भन्ने निधो गरिन् । त्यसैबेला त्रिविमा हिन्दी विभागका लागि लेक्चरर मागियो । हिन्दी साहित्यमा विद्यावारिधि गरेकी डा. उषा ठाकुरले आवेदन दिइन् । र, चयन पनि भइन् । 
यसरी उनको हिन्दी भाषा साहित्य पढाउने कामको थालनी भयो ।

०००

पटनामा रहँदा उनले आमाबाट विभिन्न ज्ञान हासिल गरिन् । उनले पकाउन पनि सिकिन् । विभिन्न प्रकारका खाना पकाउने मात्रै होइन, मिठाइ पनि बनाउन सिकेकी थिइन्, उषाले । श्रीमानसँग विदेशमा बस्दा उनले आफूले जानेको परिकार बनाउने कलाको खुबै प्रयोग गरिन् । 

यो सुनाउँदै गर्दा उनी हाँसिन् । भनिन्, “कहिलेकाहीँ मैले आफै मिठाई बनाएर खुवाउँदा विदेशीहरू पनि दंग पर्थे ।”

रिजर्व स्वभाव भए पनि लेख्न पढ्नमा उनलाई केहीले रोकेन । तर कहिलेकाहीँ यो स्वभावले कुनै कुनै समयमा घाटा भएको भने उनी स्वीकार्छिन् । अहिले त लेख्ने नै बानी नै भइसकेको छ उनलाई । कहिले काहीँ उनी बिहानको चार बजेसम्म पनि लेखिरहने सुनाउँदै थिइन् । 

एउटा प्रसंगमा प्राडा उषा ठाकुर भन्दैथिइन्, “छोरीलाई पीएचडीसम्म त गराएँ । तर छोरीका लागि उपयुक्त र सक्षम ज्वाइँ पाउँछु कि पाउँदिन भन्ने पीर मेरो बुवालाई थियो । तर उहाँको नजरमा पर्नुभयो वीरगंजका डा. रामभक्त ठाकुर ।” 
उषा ठाकुरका श्रीमान डा. रामभक्त ठाकुर पछि राजदूत हुँदै निर्वाचन आयोगको आयुक्तसम्म भए । यता डा. उषा ठाकुर पनि त्रिविमा प्रोफेसर भइन् । 

कुराकानीकै क्रममा उषाले काठमाडौंका केही रमाइला प्रसंग पनि सुनाइन् । काठमाडौंमा टेकु मास्तिरको इलाकामा उनीहरूको डेरा थियो । त्यो डेरामा पानीको अति नै अभाव थियो । त्यसबेला भने आफू कहिलेकाहीँ रुने गरेको उनी सुनाउँदै थिइन् ।

तर पनि जीवनमा केही गर्नुपर्छ भन्ने सोचले उनलाई हमेशा प्रेरित गरिरह्यो । उनी भन्छिन्, “पटनामा हुँदा कहिल्यै पैदल हिँडिन । तर काठमाडौं बस्न थालेपछि पैदल हिँड्न पनि सिकेँ । कीर्तिपुर जाँदा–आउँदा भीडभाडले भरिएको बसमा उभिएर यात्रा गर्न पनि जानेँ । मैले आफूलाई समयसँगै म्यानेज गर्दै लगेँ । शुरुमा त मलाई थाहा पनि थिएन, कीर्तिपुर जाने बाटो । तर पनि म कीर्तिपुर पुगेकी थिएँँ ।”

त्रिविमा हिन्दी भाषा साहित्य पढाउन शुरु गरेकी  उषा ठाकुरले विद्यार्थीको पढाइमा विशेष ध्यान दिइन् । पढाउँदा सधै मिहिनेत गरिन् । यसरी ३६ वर्ष उनले हिन्दी साहित्य पढाएर बिदा भइन् । 

पढाउने क्रममै उनले नेपाली भाषा सिक्दै गइन् । नेपाली भाषा सिक्दै गए पछि उनले नेपालीमा पनि लेख रचना लेख्न थालिन् । यसरी उनले आफूलाई हिन्दी साहित्यमा मात्रै नभएर नेपाली साहित्यमा पनि स्थापित गराउँदै लगिन् । उनका कतिपय लेखहरू उहिल्यै गोरखापत्रलगायतका पत्रिकामा छापिन्थ्यो । 

आफूलाई नेपाली भाषाले खासै दुःख नदिएको उनी बताउँछिन् । उनी भन्छिन्, “मेरो नेपाली भाषाको गुरु मेरा श्रीमान नै हुनुहुन्छ । पछि छोरा स्कूल जान थालेपछि छोराले पनि सिकाउन थाल्यो ।”
यदाकदा उनी श्रीमान्को विदेश सरुवा भएसँगै विदेश पनि गइन् । त्यसैबखत उनले फ्रान्सको डफेन युनिभर्सिटीमा पनि केही वर्ष अवैतनिकरुपमा पढाएको सम्झिँदै थिइन् ।


 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६  ०८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro