site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 महरा पुर्पक्षका लागि जेल चलान, अब थुनामा कि अस्पताल ?

काठमाडौं । निवर्तमान सभामुख एवं सांसद कृष्णबहादुर महरा अन्ततः जबरजस्ती करणी उद्योगमा पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले महरालाई पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाउने आदेश गरेको हो । अदालतको आदेशलगत्तै महरालाई थुनुवा पुर्जी दिइ डिल्लीबजार कारागार लगिएको छ । 

अदालतले सोमबार महराका पक्षका ३० बढी कानुन व्यवसायीको बहस सुनेपछि १० पृष्ठ लामो आदेश गरेको हो । 

जसमा उल्लेख छ, “जबरजस्ती करणीको उद्योग जस्तो गम्भीर प्रकृतिको कसुर गरेको भनी निज उपर लगाइएको अभियोग, उक्त अभियोग प्रमाणित भएको अवस्थामा कानुनअनुसार निज प्रतिवादीलाई हुन सक्ने सजायको मात्रा तथा मुलुकी फौजदारी कार्यविधि संहिता ०७४ को दफा ६७ मा भएको कानुनी व्यवस्थासमेतको आधारमा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुनेगरी हाल प्रतिवादीलाई प्रस्तुत मुद्दा पुर्पक्षका लागि थुनामा राख्न उक्त संहिताको दफा ८० बमोजिमको थुनुवा पुर्जी दिई कारागार कार्यालय, डिल्लीबजारमा पठाइदिनू भनी मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७९ बमोजिम आदेश गरिएको छ ।”

तीनवर्ष वा सो भन्दा बढी कैद सजाय हुने कसुर लागेमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउन सक्छ । महरामाथि लागेको जबरजस्ती करणी उद्योगमा बढीमा पाँचवर्ष र सार्वजनिक पदमा बसेको व्यक्ति भएकाले त्यसमा थप डेढी सजाय माग दाबी गरिएको छ । 

प्रहरीले असोज १८ गते महरालाई सभामुख निवास बालुवाटारबाटै प्रहरीले पक्राउ गरेको थियो । महराले श्वासप्रश्वासमा समस्या भएको भन्दै केहीदिन हिरासतमै अक्सिन लिएका थिए । 

लगत्तै उनी नर्भिक अस्पताल भर्ना भएका थिए । 

के पुनः महरा नर्भिक फर्किएलान् ? 

अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि महरा डिल्लीबजार कारागार लगिएका छन् । तर, के उनी अब डिललीबजार कारागारमै बस्लान् कि पुनः नर्भिक फर्किएलान् ? जिल्ला अदालतका श्रेस्तेदार आनन्दराम श्रेष्ठले आदेशपछि भने, “अब कारगार व्यवस्थापन विभागको मातहतमा उहाँ हुनुहुन्छ । अदालतको क्षेत्राधिकारभित्र सो विषय पर्दैन ।”

उनी पक्राउ परेपछि उनको अधिकांश समय नर्भिक अस्पतालमा बितेको थियो । अब भने अस्पताल लैजानैपरे वीर अस्पताल लगिने कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाले जानकारी दिए ।

“हामीले बन्दीहरुलाई स्वास्थ्यमा समस्या देखिए सरकारी अस्पताल नै लैजाने गरेका छौं, उहाँ पनि अरु बन्दीजस्तै भएकाले अस्पताल लैजानै परेमा वीर या सरकारी अस्पताल लैजान्छौं,” उनले भने ।

अदालतको आदेशलगत्तै महरा अब डिल्लीबजार कारागारका बन्दी भएका छन् । यसअघि भने उनी स्वास्थ्यमा समस्या भएको भन्दै नर्भिक अस्पताल बसिरहेका थिए । अब भने उनलाई उपचारका लागि अस्पताल राख्नुपर्ने हो वा कारागारमै राख्ने भन्ने निर्णय कारागार व्यवस्थापन विभागको क्षेत्राधिकारभित्र रहनेछ । विभागले भने अहिले सोबारे तत्काल प्रतिक्रिया नदिने बतायो । 

के थियो घटना ? 

असोज १२ गते राति संसद् सचिवालयमै कार्यरत रोशनी शाहीले आफूमाथि महराले बलात्कार गरेको भन्दै प्रहरीमा खबर गरेकी थिइन् । त्यहीदिन राति प्रहरीले घटनास्थलबाट रक्सीको बोतल, फुटेको चस्माको सिसा, जुत्ताको तलुवा बरामद गरेको थियो । बलात्कारको अभियोग लागेपछि महराले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए । शाहीले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा किटानी जाहेरी दिएकी थिइन् । असोज १८ गते उनलाई पक्राउ गरिएको थियो । 

महराविरुद्ध २५ दिनपछि बिहीबार मुद्दा दर्ता भएको थियो । महरामाथि अनुसन्धानका लागि भन्दै अदालतले ३ पटक म्याद थप गर्यो । काठमाडौं जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न पहिलो पटक १३ दिन, दोस्रोपटक पाँचदिन र तेस्रोपटक सात दिन म्याद दिएको थियो ।  मुद्दा दर्ता भएपछि सरकारी वकिल र महरा पक्षका कानुन व्यवसायीको बहस सुनेपछि अदालतले उनलाई सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६  १९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro