site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्थमन्त्रीले सेयर बजारका बारेमा एकदिन मात्र राम्रो बोलेर पुग्छ ?


रोविन पौडेल


काठमाडौं । लामो सयमयता नकारात्मक रहेको सेयर बजारमा गत साताको तेस्रो र चौथो दिन भने अविश्वसनीय रुपमा सुधार देखियो । अर्थमन्त्री डा. युवराज खतिवडाले एक कार्यक्रममा सेयर बजारमा लगानी गर्ने बेला भएको अभिव्यक्ति दिएपछि ११ सय अंक नजिक पुगेको नेप्से परिसूचक पुनः फर्किएको थियो ।

यसरी ११ सय अंक नजिक पुगेर नेप्से फर्किएको यो पहिलोपल्ट भने होइन । केही महिनाअघि नेप्से ११ सय ३५ अंकमा पुगेर फेरि सुधारिएको थियो । यसपल्ट ११ सय २३ अंकमा पुगेको नेप्से फेरि सुधारिएको हो ।

पुँजी बजारमा देखिएको यो उत्साह सरकार तथा नियामक निकायले सुधारका काम अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दा आत्मसात् भएको थियो । अर्थमन्त्री खतिवडाले पनि सेयर बजारमाथि प्रतिकुल टिप्पणी गर्नको सट्टा बोली फेरेका थिए । यसबाट लगानीकर्ताको आत्मबल बढेको थियो ।

लगानीकर्ता अर्थमन्त्रीद्वारा पूर्वगठित एक कार्यदलको प्रतिवेदनको सरोकारवाला निकायबाट कार्यान्वयनको अपेक्षामा थिए । किनकि मंगलबार खतिवडाले त्यस किसिमको मन्तव्य दिएपछि बुधबार नेप्सेले बजार सुधारका लागि भइरहेका कार्यहरुको प्रगति प्रस्तुत गरेको थियो ।

भोलिपल्टै नेप्सेले मार्केट मेकरका लागि अध्ययन पूरा गरी धितोपत्र बोर्डमा प्रतिवेदन पेस गरिएको, बजार निर्माताका लागि काम गर्न विन्डो तयार पारिएको जानकारी गराइएको थियो ।  यसैगरी, उपत्यका बाहिर ब्रोकर लाइसेन्स खुला गर्न अध्ययन पूरा गरी सञ्चालक समितिमा छलफलको क्रममा रहेको तथा ओटीसी बजार सुधारका क्रममा रहेकोलगायतका जानकारी गराएको थियो ।

यसो त धितोपत्र बोर्डले एक साताअघि सोधेका प्रश्नहरुको जवाफ पनि नेप्सेले दिएको थियो । नेप्सेले सरकारले गठन गरेको कार्यदलको प्रतिवेदन कार्यान्वयन गरेको रिर्पोटिङ गरेपछि सुधारको आश्वासन पाएको लगानीकर्ताको धारणा थियो । यसले लगानीकर्ताको मनोवल बढाएको महसुस गरिएको थियो । सोहीकारण बजारमा दुईदिन चमक पनि आयो ।

यसैगरी नेप्सेमा कारोबार हुने कम्पनीहरुको नाफा बढेको वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ । उनीहरुले दिने भनेको लाभांश अनुपात पनि निकै आकर्षक छ । कतिपयले आकर्षक बोनस सेयर दिने भनेका छन् । ती कम्पनीको साधारणसभाले यसबारे निर्णय गर्नेछ ।

तर, दुईदिन दोहोरो अंकले बढेको सेयर बजारमा बिहीबार करेक्सन देखियो । यसले बजारमा अल्पकालीन कारोबारीले नाफा बुक गरेको देखिन्छ ।

लगानीकर्तामा उत्साह रहिरहँदा तथा बजार फर्कने तयारीमा देखिएको अवस्थामा लगानीकर्ताको एउटा टोली बिहीबार नेप्सेमा भेला भएको थियो । र, त्यो टोलीले निर्णय गर्यो कि अर्थमन्त्री सहभागी हुने हरेक कार्यक्रममा उपस्थित भएर ५८ बुँदे प्रतिवेदन कहाँ पुग्यो भनेर प्रश्न गर्ने । दुईदिन उच्च अंकले बढेको बजारमा सोही दिन करेक्सन देखिएको थियो ।

के भन्छन् लगानीकर्ता ?

जानकार लगानीकर्ताका अगाडी यो सामान्य घटबढ सेयर बजारको नियम नै हो । सोहीकारण पनि बिहीबारको करेक्सनलाई उनीहरुले सामान्य नजरले हेरे ।

उनीहरु सेयर बजारमा अल्पकालका जेजस्ता गतिविधि आए पनि दीर्घकालको सुधारलाई बजार सुधारिएको संज्ञा दिन्छन् । अर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएपछि सेयर बजारमा उल्लेखनीय प्रगति नभएको उनीहरुको छ ।

नेपाल इन्भेस्टर्स फोरमका महासचिव राजन लम्साल अर्थमन्त्री नियुक्त भएयता लगानीकर्ताको मनोवल एकपल्ट पनि दिगो रुपमा उकासिन नसकेको दाबी गर्छन् । बाह्रखरीसँग उनले भने, “हामी लगानीकर्ता कम्युनिस्ट सरकार उदारवादमा कम विश्वास गर्छ भनेर सोच्छौं । अहिलेको सेयर बजारले पनि लगानीकर्तामा यही विश्वास रहेको स्पष्ट पार्छ ।”

उनका अनुसार अहिले बियरिस ट्रेन्डको साइकल सकिनु पर्ने हो । तर, अर्थमन्त्रीले आफ्नो कार्यभार सम्हालेपछि बजारलाई प्रतिकुल असर पार्ने अभिव्यक्ति निरन्तर व्यक्त गरिरहे ।  उनले थपे, “केही दिन पहिले सामान्य रुपमा सकारात्मक भावना विकास भए पनि त्यो लामो समयसम्म टिक्दैन । उहाँको बोली र व्यवहार फरक रहेको महसुस हामीमा छ ।”

लगानीकर्ताले पनि खतिवडासँग आफ्ना कुरा कहिल्यै राख्न नपाएको गुनासो गर्दै उनले भने, “हामीले उहाँलाई आफ्नो कुरा राख्न कति प्रयास गर्यौं । तर उहाँले समय नै दिनुभएन ।”

खतिवडा अझै पनि सेकेन्डरी मार्केटमा लगानी गर्न हुँदैन भन्ने विश्वास राख्छन् । लम्सालले भने, “उल्टै मुद्दती निक्षेपमा रकम राख्न प्रोत्साहन गर्नुहुन्छ । सेयर बजारले रिटर्न दिँदैन भन्ने अभिव्यक्तिले लगानीकर्ताको सेन्टिमेन्ट गिर्छ ।”

खतिवडा आफैंले गठन गरेको कार्यदलले दिएको सुधार प्रतिवेदन पूर्णरुपमा कार्यान्वयनमा आएको छैन । यसका कारण बोलीमा लगानी गर्ने समय आयो भने पनि वातावरण अनुकुल नबने कारोबार यसरी नै ठप्प हुने पक्का छ ।

तर, लम्साल अबको दुई–चार महिनामा बुलिस ट्रेन्डको अपेक्षा गर्छन् ।” उनका अनुसार दुईपल्ट ११ सयको हाराहारीमा आएर बजार घट्न नमान्दा यो नै न्यूनतम बिन्दु हो कि भनेर आँकलन गर्न सकिन्छ । उनले थपे, “यो बिन्दुमै नेप्से सस्टेन गरेको छ । त्यो बेला पनि ११ सय ३५ बाट फर्केको थियो । मलाई त अब त्योभन्दा तल नजाला कि जस्तो लाग्यो ।”

लम्सालले भनेझैं खतिवडाले गठन गरेको कार्यदलले बुझाएको प्रतिवेदनअनुसार राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने केही काम भएका छन् । तर, धितोपत्र बोर्ड, नेप्से तथा अर्थ मन्त्रालयले गर्नुपर्ने काम अझै गरिएको छैन । सेयर कर्जाको रिस्क वेट घटाउने र सेयर धितोकर्जाको सीमा बढाउने गरी दुईवटा बाहेक केही काम भएका छैनन् । अहिले पनि भारित औसत गणनामा समस्या छ । भारित औसत गणना गर्ने प्रणाली लामो समय डेमो मात्र परिक्षण गर्दा अहिले पनि ल्याप्चे युगको अन्त्य भएको छैन ।

यसैगरी बैंकहरुलाई ब्रोकर लाइसेन्समा पनि संसदीय समितिले हस्तक्षेप गरेको छ । काम सुरु भएको २ महिनामा प्रतिवेदन पेस गर्ने समयसम्म बैंकलाई ब्रोकर लाइसेन्स दिने काम रोक्न भनिएपनि कामै सुरु भएको छैन ।

यस्ता विभिन्न कठीनाइले अहिले बजार सुधारिन नसकेको ठोकुवा गर्न सकिन्छ । यता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक परिदृष्यले पनि देशको अर्थतन्त्रप्रति लगानीकर्ताको सकारात्मक मानसिकता बनाउन सकेन ।बजार बढ्न थालेको अवस्थामा नयाँ लगानीकर्ता आउने बजारको सिद्धान्तले पनि समग्र अर्थतन्त्र  सिथिल अवस्थामा रहेका कारण नयाँ लगानीकर्ता आउने आश गर्न दिँदैन ।

किनकि लगानीयोग्य रकम अभाव अझै छ, ब्याजदर उस्तै बढी छ । यसबीचमा केही न केही नयाँ अंकुश लगाएर लगानीकर्तालाई दुरुत्साहन गर्ने काम गरिँदा अहिलेको सरकारसँग लगानीकर्ता कन्फिडेन्ट नभएको लगानीकर्ताको गुनासो छ ।

गत साताको सेयर बजारको चरित्रले यही विषयलाई परिसूचकमा संकेत गरिदियो । साताको सुरुका दुई दिन र अन्तिम दिन दोहोरो अंकले घटेको बजार कारोबार मापक नेप्से झण्डै एक हजारको बिन्दुमा पुग्न लागेको थियो । तर, नेप्से मंगलबार र बुधबार भने अर्थमन्त्रीका कारण नयाँ बिन्दुमा पुग्यो ।
साताभरको कारोबारमा नेप्से परिसूचक ०.२२ प्रतिशतले घटेर ११५५.३ अंकमा झरेको छ ।

साताभर कूल १७२ कम्पनीको कारोबार भयो । सातारभर ६५ लाख ८६ हजार ८०४ कित्ता सेयर एक अर्ब ८९ करोड २७ लाख ४० हजार २७६ रुपैयाँमा कारोबार भए । उल्लेख्य उतारचढाबका बीच बजारमा कारोबार रकम निकै कम मान्न सकिन्छ ।

गत साता शिवम् सिमेन्टको सबैभन्दा बढी कारोबार भयो । कम्पनीको १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । गत साता बजार पुँजीकरण १४ खर्ब ६७ अर्बमा सीमित भयो । बजार पुँजीकरणमा सधै शीर्ष स्थानमा रहँदै आएको नेपाल टेलिकमले आफ्नै हिस्सा कायम राख्यो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  ०९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro